एजेन्सी ।
इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब बायर लिभरकुसनसँग युइएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैैछ । खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।
यि दुई टोली कुनैपनि प्रतियोगितामा पहिलोपटक एक आपसमा प्रतिस्पर्धा गर्न लागेको हो । इटालियन क्लब इन्टर लिभरकुसनलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । स्पेनिस प्रतिद्वन्द्वी गेटाफेलाई २–० ले हराएर अघि बढेको इन्टरका लागि रोमेलु लुकाकु नै मुख्य हतियार हुनेछन् ।
पछिल्लो समय उच्च प्रदर्शन गरिरहेको इन्टरका लागि लोउटारो मार्टिनेज, क्रिस्टियन इरिक्सन, एस्ले योङ, ड्यानियल डि एम्ब्रुसो र डिएगो गोडिनजस्ता खेलाडी साथमा हुनेछन् । इन्टर सिरी ‘ए’ मा बोलोग्नासँग २–१ ले पराजित भएयता पछिल्लो ९ खेलमा अपराजित रहेको छ । यसक्रममा इन्टरले ६ खेलमा जित र ३ बराबरीको नतिजा निकालेको छ ।
यता, जर्मन क्लब लिभरकुसन पनि इन्टरलाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरकुसनका लागि इंग्लिस क्लब चेल्सीको लक्ष्यमा रहेका युवा खेलाडी तथा कप्तान काई हाभर्टज नै मुख्य हतियार हुनेछ । उनले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् ।
लिभरकुसनले स्कटिस क्लब रेन्जर्सलाई समग्रमा ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । पहिलो लेगमा ३–१ को जित निकालेको लिभरकुसनले दोस्रो लेगमा १–० को जित हात पारेको थियो ।
पछिल्ला खेलहरुमा मिश्रित प्रदर्शन गरिरहेको लिभरकुसन बलियो इन्टरविरुद्ध घरेलु भुमिको फाइदा लिने योजनामा हुनेछ । लिभरकुसनले पछिल्ला सात खेलमा चारमा जित, १ बराबरी र २ हारको नतिजा निकालेको छ ।