सल्यानको मखमली फूलमाला पहिलो पटक क्यानडा निर्यात – Janadesh Daily | ePaper

सल्यानको मखमली फूलमाला पहिलो पटक क्यानडा निर्यात


जनादेश, सल्यान । बारी भरी ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिबेला सल्यानका गाउँघर सुन्दर बनेका छन्। गाउँका प्रत्येक टोलदेखि बारी भरी लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन्।

नेपालमा प्लास्टिकका फूलले बजार ओगटिरहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ।

शारदा नगरपालिका २ जोगिदेउ खोलामा सात रोपनी जग्गामा फूल खेती गरेका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताए।

क्यानडाबाट पाँचसय मखमली फूलको माला अर्डर भएअनुसार माला पठाइएको उनको भनाई छ। उनले भने, ‘जिल्लामा पहिलो पटक व्यावसायिक पुष्पखेती गरिएको र पहिलो पटक नै विदेशबाट अर्डर आउँदा व्यवसायप्रति थप हौसला मिलेको छ।’

सरकारले प्लास्टिकबाट बनेका मालमा प्रतिबन्ध लगाएसँगै बजारमा सयपत्री र मखमली फूलको माग अत्याधिक बढेको उनको भनाई छ। विदेशदेखि बाह्य जिल्लाबाट समेत फूलका लागि माग भएपनि जिल्लाभित्र नै माग अनुसार पुर्‍याउन नसकेको वलीले बताए।

उनले भने, ‘केही समयअघि बजारमा प्लास्टिकका माला छ्यापछ्याप्ती थिए। आफूले उत्पादन गरेको फूल बिक्री हुँदैन कि भनेर चिन्ता थियो तर अहिले पुर्‍याउन नसकेर अर्डरकर्ता रिसाउँछन् कि भन्ने चिन्ता छ।’

सरकारले पुष्प खेती गर्ने किसानहरुलाई मल, बीउको सहज व्यवस्था गर्न सक्ने हो भने नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने वलीको भनाई छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्