डा. अरुण उर्पेती
(हरि बोधिनी एकादशी आज ,तुलसीको विवाह गर्ने प्रचलन)
मेरी बज्यै प्रत्येक दिन बिहान तुलसीको मठलाई ढोगेर पानी हाल्नुहुन्थ्यो । प्रत्येक बेलुका तुलसीको मठमा दियो बाल्नुहुन्थ्यो । तुलसीलाई दियो बालेपछि मात्र उहाँको बेलुकाको भान्छाको काम सुरु हुन्थ्यो ।
म १०–११ वर्षको भएपछि मेरी आमाले तुलसीको मठमा छ बजे दियो बाल्ने जिम्मेवारी मलाई दिनुभएको थियो । कहिले–कहिले त दियो बाल्न झ्याउ लाग्थ्यो, ‘अरूलाई दिए पनि हुन्थ्यो नि यो काम’ भने जस्तो लाग्थ्यो तर अहिले बोध भएको छ– मेरी आमा र बज्यैले कति राम्रो संस्कार मलाई दिनुभएछ । थाहा नै नपाइकन तुलसीलाई आदर गर्ने मेरो बानी बसेछ ।
मेरी हजुरआमाले त्यही तुलसीको पत्ता टिपेर रुघाखोकी लाग्दा बेसार पानीमा उमालेर ख्वाउनुहुन्थ्यो । रुघा लाग्दा सन्चो हुन्थ्यो । अहिले लाग्छ, मेरी हजुरआमा त वातावरणविद् पो हुनुहुँदोरहेछ । हजुरआमाबाट पाएको यो बानी रुघा लाग्दा (तुलसी र बेसार खाने बेलामा पानी पिउने) अहिलेसम्म छुटेको छैन ।
पहिले–पहिले त मलाई अरूलाई ‘यस्तो खाउभन्दा लाज हुन्छ कि’जस्तो लाग्थ्यो र प्रायः वनस्पति र औषधिको विषयमा बोल्दैन थिएँ । तर अहिले जब विश्व स्वास्थ्य संगठनले पनि वनस्पतिका औषधि मूल्य र रैथाने ज्ञान आदिका बारेमा जानकारी दिन थालेको छ, अनि पो मैले कसरी वरिपरिका वनस्पतिबाट सूक्ष्म पोषण तत्व पाइन्छ र कसरी कतिपय समस्यामा यस्ता साधारण औषधिहरू प्रयोग गरेर स्वस्थ रहन सकिन्छ भनेर बढी जानकारी लिन पनि र आफूसँग भएको जानकारी अरूलाई दिन पनि थालेकी छु ।
प्राचीनकालमा एकजना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भने, ‘तिमीहरू सबै जङ्गलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ जसको कुनै औषधीय महत्व छैन ।’सबै विद्यार्थी जङ्गलमा गएर खोज्न थाले ।
एक महिनापछि प्रायः विद्यार्थीहरू हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्के र गुरुजीलाई भने, ‘यी वनस्पतिको कुनै औषधीय महत्व छैन ।’एकजना विद्यार्थी चाहिँ झण्डै पाँच दिन ढिला फक्र्यो र भन्यो, ‘गुरुजी ! म त वनस्पति खोज्दा–खोज्दा हैरान भएँ तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।’गुरुजीले प्रसन्न भएर भने, ‘तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।’
यो कथा बाट मैले सिकेको पाठ हो– संसारमा कुनै पनि वनस्पति कुनै न कुनै औषधीय गुण नभएको हुँदैन । हामीले हेर्न मात्र जान्नुपर्छ ।
तुलसीको पत्तालाई कुनै बेलुका टिप्नु हुँदैन भने जन विश्वास छ र हजुरआमाले केही गरी राती तुलसीको पत्ता टिप्नु प¥योे भने बोटलाई प्रणाम गरेर मात्र टिप्नुहुन्थ्यो ।
तुलसीको त्यत्रो आदर सायद तुलसीको औषधीय गुणले गर्दा भएको हो । ‘प्रत्येकको घरमा एउटा तुलसीको मठ हुनुपर्छ, त्यसलाई बिहान–बेलुका पूजा गर्नैपर्छ’ भने मान्यता मेरी हजुरआमाको थियो । उनका बुहारी र हामी नातिनातिनाहरूले पनि यो संस्कार राखेका छौँ र त्यसबाट प्रचुर फाइदा पनि लिएका छौँ ।
म तुलसीको बिहे संस्कार त गर्दिन तर मेरो बिहान तुलसीको दुई पत्ता चपाएर सुरु हुन्छ । म र मेरो परिवारको कसैलाई घाँटी दुख्यो वा रुघा लाग्यो भने तुलसीको पत्ता पहिलो औषधि हुन्छ र प्रायः दुई दिनको प्रयोगले धेरै समाधान पनि हुन्छ ।
तुलसीको झान्डै १७ प्रकार हुन्छन , मेरो घरमा श्याम तुलसी र श्वेत तुलसी । श्याम तुलसी गाढा हरियो र कालो रंगको हुन्छ । श्वेत तुलसी सेतो, हल्का हरियो रंगको हुन्छ । यी दुबैमा औषधिय गुण भरपुर हुन्छ । म यात्रामा जाँदा पनि तुलसीको सुकाएको पत्ता त लिएर नै जान्छु ।
तुलसीलाई म एउटा औषधि र वातावरण संरक्षण गर्ने वनस्पति मान्छु । अहिले त तुलसीको चिया भनेर बजारमा बेचिन पनि थालेको छ । घरमा भएको तुलसीको बोटको वास्ता नगर्नेहरूले पनि तुलसीको चिया चाँहि किन्छन्। महँगो भएपछि तुलसीको उपादेयता मानिसहरूले बुभ्mन थालेका छन् । व्यापारीकरण भएपछि वनस्पतिको मूल्य बढ्न जान्छ सायद ।