एमालेको गठबन्धन भ्रष्टाचारीको गठबन्धन होः देव गुरुङ – Janadesh Daily | ePaper

एमालेको गठबन्धन भ्रष्टाचारीको गठबन्धन होः देव गुरुङ


लमजुङ । लमजुङ जिल्लाबाट प्रतिनिधिसभाका उमेदवार देव प्रसाद गुरुङले एमालेले भ्रटचारीहरू मिलाएर गठबन्धन बनाएको उल्लेख गर्दै एमालेले मुलुकलाई गम्भीर संकटको दिशामा लान लागेकाले आफूहरूले परक गठबन्धन बनाउनुपरेको बताएका छन् ।

नेकपा माआवादी केन्द्रका महासचिव समेत रहेका उनले देश संकटको अवस्थामा आएको र त्यसलाई बचाउन लोकतान्त्रिक वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह पनि गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धन राईनासको आइतबार भएको संयुक्त कार्यकर्ता भेला एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै नेता गुरुङले सो कुरा बताएका हुन् ।

एकातिर पाँच दलको लोकतान्त्रिक वाम गठबन्धन र अर्कोतर्फ नेकपा एमालेले केही साना दलहरूलाई लिएर चुनावी मैदानमा आएको उल्लेख गर्दै गुरुङले सर्वसाधारणले देश बचाउने र संकटको अवस्थाबाट मुक्त गराउन आफ्नो मत दिनुपर्ने अवस्था आएको बताए ।

उनले नेकपा एमालेले कन्स्परेसी अर्थात षडयन्त्रको सिद्धान्तलाई अंगालेकोले त्यसबाट मुक्त हुन गठबन्धनलाई मत दिनुपर्ने बताए । एमालेले राणाकाल, राजतन्त्र आदिमा सत्ता कब्जा गर्नको लागि अपनाइएको सिद्धान्त षडयन्त्रको सिद्धान्तलाई अंगिकार गरेकोले त्यस्ता सिद्धान्त अहिलेको लोकतन्त्रमा नसुहाउने उनको तर्क छ ।

लोकतन्त्रात्मक व्यवस्थामा पनि षडयन्त्र र द्वैध चरित्रको सिद्धान्त लिएर एमाले चुनावी माहोलमा सर्वसाधारणमा भ्रम छर्न थालेको बताउँदै गुरुङले त्यसलाई बुझ्न र परास्त गर्न आवश्यक रहेको बताए । राजनीतिमा अलिकति पनि इमान्दारीता नभएको र भ्रष्टाचारी चरित्रलाई अंगालेको एमालेले विकास गर्न नसक्ने भन्दै उनले त्यस्तो भ्रष्ट गठबन्धनलाई पराजित गर्न अपिल गरे ।
२०७४ सालमा वाम गठबन्धन बनाएर निर्वाचनमा गएको, आवश्यक बहुमत पनि प्राप्त गरेको तर संविधानले दिएका मुख्य मान्यता र लोकतान्त्रिक संस्कारअनुसार काम गर्न नसक्नुमा केपी ओली मुख्य कारण रहेको विगतलाई कोट्याउँदै नेता गुरुङले एमालेका अध्यक्ष ओलीको तानाशाही चरित्रका कारण नेपाली जनताले चुनेर पठाएका प्रनिनिधिद्वारा निर्माण भएको संविधानलाई ध्वस्त बनाउने काम भएको बताए ।

गुरुङले भने- एमालेले गरेको संसद विघटन मात्रै थियो त ? हेर्दा त्यो सामन्य लाग्छ तर त्यसको अन्तर्यमा विविध भावनालाई विभाजन गरेर मुलुक संकटमा पुर्‍याउने खेल रचिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति एवम् प्रदेश सभा (क) का उमेदवार डा. टकराज गुरुङले कार्यकर्ताहरूलाई एमालेले विगतमा गरेका कामहरूलाई लुकाएर विभिन्न किसिमका भ्रम छर्दै हिँडेको बताए । नेता डा. टकराज गुरुङले पाँच वर्षलाई दिइएको जनमतलाई बेवास्ता गर्दै एमालेले संसद् विघटन गरेर देशलाई अस्थितरतातर्फ धकेल्ने काम गरेको बताए ।
संविधान कार्यान्वयन गर्ने कुरामा नेपाली कांग्रेस कहिल्यै पछाडि नपर्ने भन्दै डा. गुरुङले लमजुङ जिल्लाको कृषि, पर्यटनलगायतका क्षेत्रमा विकास गर्न पनि गठबन्धनका नेताहरूलाई मत दिनुपर्ने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य चन्द्रबहादुर कुँवरले मध्यपहाडी लोकमार्ग लगायतका सडकहरूका योजना आफूले निर्माण गरेको भन्दै एमालेले भ्रम छरेको बताए । यसरी सर्वसाधारणलाई भ्रमित पारेर मत बटुल्न उद्धत रहेकोले त्यसलाई बुझ्न कार्यकर्तासँग आग्रह गरे ।

पूर्व जिविस सभापति एवं नेपाली कांग्रेस लमजुङका पूर्व पार्टी सभापति शंकरकान्त जोशी, तुलसीनारायण श्रेष्ठलगायतका वक्ताहरूले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँदै आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा निरंकुशतावादी, विकासविरोधी, प्रतिगमनका नाइके ओलीको पार्टी एमालेलाई परास्त गर्न आह्वान गरेका थिए ।
मंसिर ४ गते गठबन्धनको साझा उमेदवारलाई मत दिएर जिल्लाको विकासमा योगदान दिने जिम्मा आम मतदाताको भएको बताए ।

कार्यक्रममा समाजवादीका नेता डा. बालकृष्ण बराल, कांग्रेसका विष्णु धिताल, माओवादीका पारसमणि पौडेल, मधुमाया अधिकारी, नेपाली कांग्रेसका हरिप्रसाद बराल, डा. लक्ष्मीकान्त पौडेल, भिमसेन दमै, गर्जबहादुर गुरुङ, डिकेन्द्रराज कँडेल, समाजवादीका नेता राजु थापालगायतका नेताहरूले कार्यकर्तालाई सम्बोधन गर्दै गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।
कार्यक्रम नेपाली कांग्रेस राइनासका सभापति श्रीकृष्ण पौडेलको सभापतित्व र नेता दिलबहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्