एजेन्सी ।
विंगर विलियनले बिदाई पत्र लेख्दै इंग्लिस क्लब चेल्सी छाड्ने घोषणा गरेका छन् । चेल्सीसँग तीन वर्षको सम्झौता मागेपनि चेल्सीले त्यसलाई पुरा नगरेपछि विलियनले स्टामफोर्ड ब्रिज क्लब छाड्ने पक्का गरेका हुन् ।
उनले समाजकि सन्जाल इन्स्टाग्रामबाट क्लब र समर्थकलाई बिदाई पत्र लेख्दै अर्काे सिजन चेल्सीबाट नखेल्ने बताएका छन् । उनले आफ्नो ७ बर्षको करियरमा सहयोग गर्ने चेल्सी समर्थकलाई धन्यवाद र अब अघि बढ्ने समय आएको भन्दै टिमका सहकर्मीसँग बिदा मागेका छन् ।
‘ती सात वर्ष उत्कृष्ट थिए । अगस्ट २०१३ मा मैले चेल्सीको प्रस्ताव प्राप्त गरेको थिए । म विश्वस्त थिएँ कि मैले यही ठाँउमा खेल्नुपर्दछ । आज म पक्का छु कि त्यो सबैभन्दा राम्रो निर्णय थियो । त्यहाँ धेरै खुशीका समयहरु थिए, केही दुखी, त्यहाँ ट्रफीहरु थिए र यो सधै गहन थियो । यद्धपि ट्रफीहरु भन्दा बाहिर मैले आफ्नै बारे धेरै सिके । मैले आफूलाई थप प्रमाणित गरें । प्रत्येक प्रशिक्षणको साथ, ड्रेसिङ रुमको हरेक समयमा सिकें,’ उनले बिदाई सन्देशमा लेखेका छन् ।
३२ वर्षीय विंगरको चेल्सीसँगको सम्झौता यसै समरमा सकिएको छ । क्लबले उनलाई दुई बर्षको सम्झौता नविकरणको प्रस्ताव अघि सारेपनि उनले चेल्सीमा तीन वर्षको नवीकरण माग गरेका थिए । विलियन पछिल्लो समय अर्को लण्डन क्लब आर्सनलसँग जोडिएका छन् । उनी प्रतिसाता १ लाख पाउण्ड पारिश्रमिक पाउने शर्तमा आर्सनलमा जाने बताइएको छ । आर्सनलले विलियनलाई तीन बर्षको अनुबन्धनको प्रस्ताव अघि सारिसकेको छ ।
विलियन २०१३ मा रसियन क्लब एन्जि माखाचाख्लाबाट ३० मिलियन पाउन्डमा लण्डन क्लब चेल्सी आएका थिए । चेल्सीमा ७ बर्ष बिताउँदै ३३९ खेलमा ६३ गोल र ६२ गोलको अवसर सिर्जना गरेका थिए । विलियनले यो सिजन चेल्सीका लागि ४७ खेलमा ११ गोल र ९ गोलको लागि सहायता दिएका थिए । उनले चेल्सीबाट दुईपटक इंग्लिस प्रिमियर लिग र समान एकपटक एफए कप, इएफएल कप र युरोपा लिग जितेका छन् ।