काठमाडौं ।
बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको ११ सदस्यसहित २५ जनाको सोमबार स्वाब संकलन गरिएको छ ।
मिडफिल्डर विशाल राई स्वाब दिने क्रममा (तस्बिर: एन्फा)
सोमबार पाटन अस्पतालमा ११ खेलाडी, दुई अफिसियल र १२ जना स्टाफ गरि २५ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
सोमबार उपत्यका बाहिरबाट आएका विशाल राई, देवेन्द्र तामाङ, रवि पासवान, रन्जित धिमाल, मिक्छेन तामाङ, पुजन उपरकोटी, विमल राना, दीप कार्की, छिरिङ गुरुङ, दिलेन लोक्ताम र दर्शन गुरुङको तथा फिजियो आविस्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको स्वाव संकलन गरिएको हो ।
एन्फाले क्याम्पमा डाकिएका ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टेल स्टाफलगायत ७० जनाको कोरोना परीक्षण गरिने योजना बनाएको छ । कोरोना नेगेटिभ देखिए खेलाडीलाई एन्फाको होस्टेलमा राखिने छ । प्रशिक्षण दौरान उनीहरुले एन्फा होस्टेल छाड्न पाइनेछैन ।
एन्फाले प्रशिक्षणका लागि विभिन्न १७ प्रोटोकल बनाएको छ । एन्फाले १ भदौबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको छ ।