एजेन्सी ।
इटालियन च्याम्पियन युभेन्टसले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) घोषित गरेको छ ।
क्लबको समर्थकको मतका आधारमा प्रदान गरिने अवार्डमा रोनाल्डोले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई पछि पारेका हुन् । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए को उपाधि जित्दा रोनाल्डोले टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी थिए । उनले लिग अवधिभर ३१ गोल गर्दै क्लबका लागि विभिन्न कीर्तिमान समेत राखे । उनी क्लबका लागि एकै सिजनमा ३० भन्दा बढी लिग गोल गर्ने पहिलो खेलाडी समेत बनेका थिए ।
अघिल्लो साता युभेन्टसकै फरवार्ड पाउलो डिबाला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । युभेन्टसको उपाधि जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डिबालाले आफ्नै क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो उपाधि हासिल गरेका थिए । गत सिजन भने युभेन्टसले उपाधि जित्दा रोनाल्डो लिगकै मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए ।
यस सिजन डिबालाले युभेन्टसका लागि सबै प्रतियोगितामा १७ गोल गरेका । उनले गोलसँगै युभेन्टसको आक्रमणमा सिर्जनात्मक भूमिका निर्वाह गर्दै एक दर्जन बढी असिस्ट पनि दिएका छन् । यता लिग उपाधि जित्ने क्रममा ३१ गोल गरेका रोनाल्डो भने लिगले प्रदान गर्ने विधागततर्फ पनि कुनै उपाधि जित्न सकेनन् ।
रोनाल्डोलाई गोल्डेन बुट दौडमा पछाडी पारेका लाजियोका फरवार्ड चिरो इम्मोबिलेले उत्कृष्ट फरवार्डको उपाधि जिते । उनले लाजियोको आक्रमण सम्हाल्दै ३६ गोल गरेका थिए । उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै युरोपेली गोल्डेन बुट समेत जिते ।
लिगको उत्कृष्ट गोलरक्षक युभेन्टसका वोजचिएक सेचेज्नी घोषित भए । उत्कृष्ट डिफेन्डरमा इन्टर मिलानका स्टेफान डी भ्रिज चुनिए । एटलान्टाका कप्तान पापु गोमेजले उत्कृष्ट मिडफिल्डरको अवार्ड पाए । युभेन्टसबाट लोनमा रहेर पार्माबाट खेलिरहेका मिडफिल्डर डेजान कुलुसेभ्सकीले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते ।