पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड – Janadesh Daily | ePaper

पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको भीड


पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यसवर्ष त्रयोदशीका दिन सोमबार सर्वसाधारणका लागि गतवर्ष पशुपतिनाथको भण्डारमा रहेका यि बहुमूल्य सामग्री सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को एक वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आजै भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अघि पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने गरिएको हो ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा पालोवालालाई बुझाउने गरिन्छ ।

भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने परम्परा रही आएको छ । बालाचतुर्दशी मेला भर्न देशका विभिन्न भागबाट आएका भक्तजनले यी सामग्री हेरेर फर्कने गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्