बाम गठबन्धन बन्ला कि आम गठबन्धन नै रहलाः कस्को बन्ला सरकार, के छन् सम्भावना – Janadesh Daily | ePaper

बाम गठबन्धन बन्ला कि आम गठबन्धन नै रहलाः कस्को बन्ला सरकार, के छन् सम्भावना


जनादेश वाच।
मतगणनाको अन्तिम नतिजा आइनसकेपनि नयाँ संसदको गणित र भावी सरकारको समीकरणबारे अडकलबाजी प्रारम्भ भएका छन् । सत्तारुढ गठबन्धनमा सामेल ५ दलले प्राप्त गर्ने सिटले मात्रै सरकार बनाउन पुग्छ की पुग्दैन भन्ने अझै स्पष्ट भइसकेको छैन । गठबन्धनलाई केही सिटको कमी भए कसरी व्यवस्थापन गर्ला ? त्यसो भएमा गठबन्धन बाहिरका केही दल वा स्वतन्त्र सांसदलाई आफूतिर तान्न सक्नु पर्ने छ । अहिलेसम्म ५ स्वतन्त्र सांसदले जितेका छन् । लालबीर चौधरी, प्रभु शाह, योगेन्द्र मण्डल, किरण शाह र अमरेश कुमार सिंह । बर्दिया–२ मा लालबीर चौधरी प्राविधिक रुपमा मात्रै स्वतन्त्र हुन् । उनी रेशम चौधरीका बुबा हुन् । तसर्थ उनले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने वा पार्टीको ह्वीप र निर्णय मान्ने सम्भावना रहन्छ ।

सर्लाही–४ का अमरेशकुमार सिंह नेपाली कांग्रेसका बागी भएको हुँदा कांग्रेसले उनलाई कत्तिको विश्वासमा लिन सक्दछ भन्ने प्रश्न बाँकी नै छ । मोरङ– ५ का योगेन्द्र मण्डल एमालेका बागी हुन् । रौतहट–२ का किरण शाह र रौतहट–३ का प्रभु शाह भने एमाले परित्याग गरी स्वतन्त्र उठेका हुन् । यी ३ सांसद एमालेसँग रुष्ट रहेकाले गठबन्धनलाई समर्थन गर्ने सम्भावना रहन्छ । प्रभु शाहलाई गठबन्धनको समर्थन नै थियो । उनी माओवादीमा प्रवेश गर्ने सम्भावना पनि रहन्छ । किरण शाह पनि प्रभु साह समूहकै हुन् । लोसपा भने थ्रेसहोडभित्र नपर्ने लगभग निश्चित जस्तो देखिएको छ। त्यसैगरी प्रत्यक्षतर्फ १-१ सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड भेट्ने छैनन् । थ्रेसहोल्ड काट्ने दलले कम्तिमा पनि ३ सिट पाउनेछन् ।

समानुपातिक तर्फ कस्को कति सिट आउला ? यो अझै प्रष्ट छैन । अहिलेसम्मको स्थितिमा ६ दलले थ्रेसहोल्ड भेटिरहेका छन् । क्रमशः एमाले, नेपाली कांग्रेस, माओवादी, रास्वपा, राप्रपा र जसपा । तर अरु ३ दल क्रमशः नेकपा ( एकिकृत समाजवादी ), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि नजिक देखिन्छन् । लोसपा भने थ्रेसहोडभित्र नपर्ने लगभग निश्चित जस्तो देखिएको छ। त्यसैगरी प्रत्यक्षतर्फ १-१ सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड भेट्ने छैनन् । थ्रेसहोल्ड काट्ने दलले कम्तिमा पनि ३ सिट पाउनेछन् । एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीले थ्रेसहोल्ड काटे ९ सिट यीनलाई छुट्याउनु पर्ने हुन्छ । एमाले र नेपाली कांग्रेसबीच समानुपातिकतर्फ २ सिटभन्दा बढीको भिन्नता हुने देखिन्न । यस अर्थमा एमालेलाई ३२ र कांग्रेसको भागमा ३० सिट पर्न सक्ने अनुमान गर्न सकिन्छ । ठीक त्यस्तै माओवादी केन्द्र र रास्वपाले बराबर १३-१३ सीट प्राप्त गर्न सक्नेछन् अहिलेसम्मको समानुपातिक मतगणनाको ट्रेन्ड हेर्दा । तर कति दल भागवण्डामा पर्छन भन्नेले यसमा केही सिट तलमाथि हुन सक्नेछ । चुनावी नतिजामा विजय हासिल गरिरहेका दलहरुलाई राजनीतिक रुपले तीन भागमा बर्गिकरण गर्न सकिन्छ । सत्ता गठबन्धनका दल, एमाले र उसको तालमेलमा रहेका दल तथा अन्य र स्वतन्त्र ।

सत्ता गठबन्धन
गठबन्धन समूहमा ५ दल–नेपाली कांग्रेस, नेकपा (माओवादी), एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा । गठबन्धनले तलको तालिकामा देखाइएजस्तै १३४ सिट प्राप्त गर्न सक्ने छ । यो सम्भावना क्रियाशील भएमा गठबन्धनलाई सरकार गठन गर्न अझै ४ सिट अपुग हुनेछ । यसलाई स्वतन्त्र वा अन्य समूहका दलहरुलाई विश्वासमा लिएर गठबन्धनले पूरा गर्न सक्दछ । तीन स्थानको मतगणना सुरु भएको छैन । ति स्थानमा पनि गठबन्धनकै जित्ने सम्भावना बढि छ । त्यसैले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्यो भने अहिलेको गठबन्धनले बहुमत पुर्‍याउन सक्नेछ ।

एमाले र तालमेलमा रहेका
एमाले, राप्रपा र जसपाले तालिका–२ मा उल्लेख भएजस्तो १०१ सिट हासिल गर्न सक्ने छन्। एमालेले सरकार बनाउन गठबन्धनबाहेकका सबैलाई समेट्नु पर्ने हुन्छ । तर, यो सजिलो छैन । स्वतन्त्र सांसद एमालेसँग चिढिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राप्रपासम्म सबैलाई मिलाउन लगभग असम्भव जस्तै देखिन्छ । कथंकदाचित त्यसरी सरकार बन्यो भने पनि दिगो हुने सम्भावना कम छ ।

अन्य समूह
रास्वपालगायत अन्य समूहमा ३७ सिट हुन सक्ने छ । यस समूहमा नेमकिपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि हुने छन् । गठबन्धन सरकारमा रास्वपाको आवश्यकता र भूमिका त्यति धेरै हुने देखिन्न । रास्वपाको महत्व गठबन्धनका लागि भन्दा पनि एमाले नेतृत्वको सरकार बनाउनका लागि बढी हुने छ । रास्वपाले प्रतिपक्षमै बस्ने निर्णय गरे पनि सरकार बन्न सक्ने अन्य समीकरण तयार हुन सक्ने छन् । सत्ताको चावी रास्वपाको हातमा जाने सम्भावना यो विश्लेषण अनुसार निक्कै कम छ ।

वाम गठबन्धन
यदि वाम गठबन्धनको सरकार बनाउने हो भने थप केही साना दलको समर्थन चाहिन्छ । यो झनै जटिल प्रक्रिया हुनेछ । वाम गठबन्धनभित्र जतिसुकै प्रयास गर्दा पनि १ सय भन्दा केही बढि सिट मात्रै हुनेछ ।यो चार्ट अनुसार ११९ हुने देखिन्छ । यसमा पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी हुने नहुने टुङ्गो छैन । यदि वाम दल गठबन्धनका लागि तयार भए भने राप्रपा र जसपालाई समेटेर सरकार बन्न सक्ने सम्भावना छ । तर यो झनै खिँचडी सरकार हुनेछ ।

निष्कर्ष
चुनावको पुरै परिणाम आइसकेको छैन । कांग्रेसले समानुपातिकमा ३५ सिटसम्म पुर्‍याउन सक्यो र एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्यो भने अहिलेकै सत्ता गठबन्धनले बहुमत पाउनेछ । त्यसो हुन सकेन भने नागरिक उन्मुक्ति पार्टीका चारजना सांसद पनि उसलाई चाहिने अवस्थामा गठबन्धनकारी दल र नयाँ सरकार जेलमा रहेका रेशम चौधरीलाई छाड्न तयार हुनुपर्नेछ । अर्कातिर एमालेले वाम गठबन्धनको प्रयास थाले पनि प्रभावकारी बन्ने सम्भावना निकै कम छ । किनकी कांग्रेसलाई धोका दिएर, एमालेसँगको हिजोसम्मको तिक्तता भुलेर मा‌ओवादी र एकीकृत समाजवादी केपी ओलीसँग मिल्न जाने सम्भावना तत्कालका लागि देखिएको छैन । त्यसैले अहिलेसम्मको चुनावी नतिजाले एमाले र तालमेल, वाम गठबन्धनभन्दा वाम–लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने सम्भावना सहज र बलियो देखाउँछ । यद्यपी राजनीति हो जे पनि हुनसक्ने सम्भावना भने खुला नै छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्