चुनावको नतिजासँगै भारतीय राजदूतको सक्रियताः प्रधानमन्त्री र प्रचण्डलाई भेटे, ओली भेट्ने तयारी – Janadesh Daily | ePaper

चुनावको नतिजासँगै भारतीय राजदूतको सक्रियताः प्रधानमन्त्री र प्रचण्डलाई भेटे, ओली भेट्ने तयारी


जनादेश वाच।

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अझैसम्म पनि आइसकेको छैन । अधिकांश क्षेत्रको प्रत्यक्षतर्फको नतिजा आएको छ भने केही क्षेत्रको परिणाम आउन बाँकी छ । त्यस्तै समानुपातिकतर्फको मतगणना पनि जारी छ । चुनावको अन्तिम परिणाम आइनसकेको भए पनि आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो बढ्न थालेको छ । अहिलेसम्मको परिणामअनुसार सत्ता गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्‍याउने देखिएको छ ।

 यसैबीच भारतीय राजदूत नवीन श्रीवास्तवले सक्रियता बढाएका छन् । श्रीवास्तवले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । ती दुवै भेटमा राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने चुनावको अन्तिम परिणाम आइनसकेकाले यसै भन्न नसकिने भए पनि यही गठबन्धन अगाडि जाने जवाफ दिएका थिए ।

एक दिनअघि देउवालाई भेटेका श्रीवास्तवले हिजो (शनिबार) प्रचण्डसँग भेट गरेका थिए । त्यस्तै आज (आइतबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले भेट्ने स्रोतले बताएको छ । चुनावको परिणाम आइनसक्दै भारतीय राजदूतले बढाएको सक्रियता र भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्रोतका अनुसार राजदूत श्रीवास्तवले निर्वाचन परिणाम र सरकार निर्माणका विषयमा चासो राखेका थिए । उनले गठबन्धनको बहुमत पुग्ने/नपुग्ने र सरकार निर्माण कसरी हुन्छ भन्नेमा देउवासँग जिज्ञासा राखेका थिए । देउवाले प्रत्यक्ष र समानुपातिकतर्फको पूर्ण परिणाम आउँदा गठबन्धनले नै सरकार बनाउन सक्ने गरी बहुमत ल्याउने बताएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भेटवार्ता पुष्टि गर्दै समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएका छन् ।

यता, सरकार निर्माणमा पहलकदमी लिन खोजेका एमाले अध्यक्ष ओली पर्ख र हेरको स्थितिमा छन् । मतगणनाको मध्यान्तरमा गठबन्धनको बहुमत नपुग्ने र एमाले पहिलो दल हुने सम्भावना देखिएको थियो । त्यहीबीच गोरखा–२ बाट विजयी दाहाललाई बिहीबार टेलिफोन गरी ओलीले सहकार्यमा जान सकिने सन्देश दिएका थिए । तर, साँघुरो भए पनि सत्ता गठबन्धन बहुमतमा पुग्ने सम्भावना बढेपछि एमालेको सक्रियता तत्काल मत्थर भएको छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्