दाङमा रेखाको जीतका अनेक आयामः मतदातासँग सधैं सहज, प्रतिस्पर्धीसँग समेत हार्दिकता – Janadesh Daily | ePaper

दाङमा रेखाको जीतका अनेक आयामः मतदातासँग सधैं सहज, प्रतिस्पर्धीसँग समेत हार्दिकता


जनादेश वाच।
दाङमा सर्वाजनिक मत परिणामअनुसार एमालेले प्रतिनिधि र प्रदेशसभा कुनैमा पनि एक सिट जित्न सकेन। प्रभावशाली नेताका रुपमा हेरिएका एमालेका महासचिवको गृह जिल्लामा आएको परिणाम एमालेले आशा गर्ने खालको छैन। दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेलले नै माओवादी केन्द्रकी केन्द्रिय सदस्य रेखा शर्मासँग नराम्रोसँग हार बेहोर्न पुगेपछि दाङमा प्रतिगमनको पराजय भएको र माओवादी विरासतको विजय भएको विश्लेषण गरिएकको छ।

निर्वाचनअघि रेखा शर्माले धेरै सुनेको र नमिठो लागेको एउटै शब्द हो ‘हेभिवेट’। तर, उनको क्षेत्रको कुरा गर्दा यही शब्दले स्थान पाइरह्यो। चुनावअघि कुरा गर्दा पुरुष र पार्टीको पदका कारण कसैलाई एकोहोरो ‘हेभिवेट’ भनिएको भन्दै आपत्ति जनाएकी थिइन्। उनको भनाइ थियो, ‘चुनाव अजेण्डामा लड्ने हो, ‘वेट’ मा होइन।’

पदीय हिसाबले पोखरेल अगाडि भए पनि प्रतिस्पर्धामा पुग्दा उम्मेदवार बराबर हुने उनको भनाइ थियो। उनको चित्त दुखाइ थियो, ‘पद उहाँको ठूलो होला। वर्तमान आन्दोलनको प्राप्ति, संविधान निर्माणमा खेलेको भूमिका, कानुन निर्माणमा संसद्‌मा निभाएको भूमिका कुनै हेभिवेटको भन्दा कम छ र?’ उनको प्रश्न थियो। शर्माको यो जित संसद्बाट कानुन निर्माणमा उनले खेलेको भूमिकाको अनुमोदन हो।

केलाई ‘हेभिवेट’ भन्ने दृष्टिकोण बदल्न पनि जरुरी छ। पार्टीमा पाएको पदलाई हेरेर ‘हेभिवेट’ भन्ने गरेको उनले आरोप लगाइन्। ‘यो व्यवस्था भनेको भुइँमान्छेलाई माथि ल्याउने व्यवस्था हो। भुइँमान्छे पनि मेहनत गर्यो भने हेभिवेट बन्न सक्छन्। त्यसैका लागि समानुपातिक व्यवस्था ल्याएका छौं’, उनले बताएकी थिइन्।

कानुन निर्माणमा खेलेको भूमिका
शर्माको जित संसद्बाट कानुन निर्माणमा उनले खेलेको भूमिकाको अनुमोदन हो। यसअघि संविधानसभाको निर्वाचन २०७० मा समानुपातिक सदस्य बनेकी थिइन्। त्यस्तै दोस्रोपटक २०७४ मा संघीय संसद् प्रतिनिधि सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्।

यसपल्ट उनको संसद् यात्रा सुरुदेखि नै अनपेक्षित बन्यो। यहाँबाट निर्वाचित भएका पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महराले प्रत्यक्षबाट चुनाव लड्ने मनसाय बनाएनन्। त्यसपछि शर्माले प्रत्यक्ष निर्वाचन लड्न अवसर पाइन्। २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट राजनीतिक यात्रा तय गरेकी हुन् रेखाले। उनी २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै नेकपा माओवादीको केन्द्रीय सदस्य भइन्। उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षसमेत भइसकेकी छिन्।

यो क्षेत्रमा सत्ता गठबन्धनको मत राम्रै थियो। तर उनले चुनावलाई अंकगणितकाे रूपमा मात्र लिएकी थिइनन्। ‘यो अजेण्डाको प्रतिस्पर्धा पनि हो,’ उनले भनेकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनलाई निशर्त समर्थन गर्ने महासचिव पोखरेलसँग उनको प्रतिस्पर्धा थियो। त्यसलाई उनले चुनावको समयमा जोडतोडका साथ उठाइन्। आफ्नो जितको मुख्य आधार गठबन्धन, पार्टीको प्रतिबद्धता र व्यक्तिगत छवि रहेको उनले बताइन्। उनले भनेकी थिइन्, ‘व्यक्तिगत रुपमा मैले राम्रो काम गर्न सकिनँ हुँला तर, गलत गरेको छवि छैन। मेरा जित्ने आधार यिनै हुन्।’ महिला, दलित र सीमान्तकृत समुदायको आन्दोलनमा अग्रभागमा उभिएका कारण पनि आफू निर्वाचित हुनेमा विश्वस्त थिइन्। उनको भनाइ थियो, ‘राजनीतिमा मैले गरेको दु:खकष्ट यहाँका जनताले बुझ्नेछन्।’

२०७२ मा माओवादीको प्रमुख सचेतक, २०७० मा माओवादी केन्द्रको संविधान सभा संसदीय दलको सचेतक र २०७२ मा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी उनले सम्हालिसकेकी छिन्।

आफैंले हराएकासँग पनि हार्दिकता
प्रतिनिधिसभा सदस्यमा विजयी भएकी माओवादी केन्द्रकी रेखा शर्मा आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पोखरेललाई भेटेर भलाकुसारी गरिन्। शर्मा एमालेका महासचिव समेत रहेका पोखरेलाई भेट्न उनकै निवासमा पुगेकी थिइन् । सो क्रममा शर्माले दाङको सम्बृद्धिमा सबैको रायसुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको रेखाको सचिवालयले जनाएको छ। पोखरेलले शर्मालाई बधाई तथा शुभकामना दिएका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्