प्रदेशसभाको समीकरणः कसले बनाउँदै छ सरकार, अधिकाँश स्थानमा माओवादी नै निर्णायक – Janadesh Daily | ePaper

प्रदेशसभाको समीकरणः कसले बनाउँदै छ सरकार, अधिकाँश स्थानमा माओवादी नै निर्णायक


जनादेश वाच।
प्रदेश सभामा दलहरूले जितेका प्रत्यक्षतर्फको मत परिणाम करिब आइसकेसँगै भावी प्रदेश सरकार निर्माणको समीकरणबारे चर्चा सुरु भएको छ। समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगिसकेकाले पनि भावी सरकार कसको भन्छ भन्ने चित्र देखिइसकेको छ। केही प्रदेशमा सत्तागठबन्धनको सजिलै सरकार बन्ने देखिन्छ। केही प्रदेशमा एमाले नेतृत्वको गठबन्धन (एमाले-राप्रपा लगायत)ले पनि सरकार बनाउन सक्नेछ। तर, त्यसका लागि जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले समर्थन गर्नुपर्ने हुन्छ। दलहरूले प्रत्यक्षमा जितेका सिट र समानुपातिकमा पाएको मत हेर्दा सत्ता गठबन्धनले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहजै सरकार बनाउन सक्छन्।

प्रदेश–१, मधेश र लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैका लागि बाटो खुला छ । तर, त्यसका लागि जनमत र नागरिक उन्मुक्ति पार्टीसहितको समर्थन जुटाउन आवस्यक छ ।
प्रदेश १ः दुवै गठबन्धनको सम्भावना
कुल प्रदेशसभा सदस्य : ९३
प्रत्यक्षतर्फ : ५६
समानुपातिकतर्फ : ३७

दलहरूले पाएको सिट
नेकपा एमाले –२५
कांग्रेस –१७
माओवादी – ९
एकीकृत समाजवादी-३
राप्रपा – २

प्रदेश १ मा सत्ता र विपक्षी दुवैमध्ये कुनै गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसक्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैले ४६\४६ बराबर प्रदेश सांसद पाउने देखिन्छ। यस प्रदेशमा सरकार गठनका लागि संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले समानुपातिकमा प्राप्त गर्ने एउटा प्रदेश सांसद निर्णायक बन्न सक्छ। प्रदेशका ५६ निर्वाचन क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमालेले २५, कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा (एकीकृत समाजवादी)ले ३ र राप्रपाले २ वटा क्षेत्रमा जितेका छन्। यस आधारमा सत्ता गठबन्धनमा आबद्ध दल कांग्रेसको १७, माओवादीको ९ र एकीकृत समाजवादीको ३ गरी प्रत्यक्षतर्फ २९ सिट हुन्छ । एमालेको २५ र राप्रपाको २ गरी विपक्षी गठबन्धनमा २७ सिट प्राप्त हुने देखिएको छ। समानुपातिकतर्फ आएको मत हेर्दा ३७ सिट मध्ये एमालेले १४, कांग्रेसले १२, राप्रपा र माओवादी केन्द्रले ४\४, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले १\१ प्रदेश सांसद प्राप्त गर्ने देखिएको छ। ९३ सदस्यीय प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक दुवैको गरी सत्ता गठबन्धन र एमाले गठबन्धनलाई बराबर प्रदेश सांसद प्राप्त हुने देखिएको छ। सरकार गठनका लागि समानुपातिकमा एउटा प्रदेश सांसद पाउने संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च निर्णायक हुन सक्ने सम्भावना छ । यो प्रदेशमा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । त्यसैले, जसले पनि सरकार बनाउन सक्ने सम्भावना अझै खुला छ ।

मधेस प्रदेश : जनमत र स्वतन्त्र निर्णायक
कुल प्रदेशसभा सदस्य : १०७
प्रत्यक्षतर्फ : ६४
समानुपातिकतर्फ : ४३

दलहरूले पाएको सिट
एमाले – १५
कांग्रेस – १३
जसपा – ९
लोसपा – ७
जनमत पार्टी – ६
माओवादी केन्द्र-४
एकीकृत समाजवादी-४
स्वतन्त्र – ६

प्रदेशका प्रत्यक्ष ६४ सिटमध्ये एमालेले सबैभन्दा धेरै १५ सिट जितेको छ । कांग्रेस भने मधेसमा प्रत्यक्षतर्फ दोस्रो शक्ति बनेको छ । उसले प्रदेशसभामा १३ सिट जितेको छ । तर, समानुपातिकमा भने कांग्रेस पहिलो स्थानमा छ ।

यसअघि, मधेसमा पहिलो दल रहेको जनता समाजवादी पार्टी भने संघ र प्रदेशमा पनि तेस्रो स्थानमा झरेको छ । जसपाले प्रदेशसभामा ९ सिट जितेको छ । मधेसमा लोसपा चौथो शक्ति भएको छ । उसले प्रदेशसभामा ७ सिट जितेको छ । स्वतन्त्रबाट ६ जनाले जितेका छन् । पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको जनमत पार्टी पनि मधेसमा ६ सिट जित्दै नयाँ शक्तिका रूपमा देखिएको छ । ०७४ को चुनावमा संघीय संसद्मा ५ सिट जितेको माओवादीले यो चुनावमा ४ सिट मात्र जित्न सक्यो । एकीकृत समाजवादीले पनि ४ सिट जितेको छ ।

मधेस प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १ सय ७ सिट छ । नयाँ सरकार बनाउन बहुमतका लागि ५४ सांसद चाहिन्छ । प्रत्यक्षतर्फ सत्ता गठबन्धनमा आबद्ध दलले २८ सिट जितेका छन् । समानुपातिकसहित बहुमतको आँकडा पुग्ने सत्ता गठबन्धनको आसा छ । एमाले पनि जसपा र जनमत पार्टीसँग मिलेर सरकार बन्ने विश्वासमा देखिन्छ । समानुपातिकको अन्तिम सिट बाँडफाँड नभइसकेकाले मधेसमा कसको सरकार बन्छ भन्ने अझै स्पष्ट छैन । यहाँ नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले पनि समानुपातिकमा सिट जित्ने सम्भावना छ । दुवै गठबन्धनमा बहुमत नपुगे जनमत पार्टी र स्वतन्त्र ६ जना सांसद निर्णायक हुन सक्नेछन् ।

बाग्मती : सत्तागठबन्धनलाई सजिलो
कुल प्रदेशसभा सदस्य : ११०
प्रत्यक्षतर्फ : ६६
समानुपातिकतर्फ : ४४

दलहरूले पाएको सिट
कांग्रेस – २४
माओवादी – १४
नेकपा एमाले – १२
राप्रपा – ७
एकीकृत समाजवादी – ५
अन्य – २

बागमतीमा सत्ता गठबन्धनको बहुमत पुग्ने देखिएको छ । प्रत्यक्षतर्फका ६६ सिटमध्ये कांग्रेसले २४, माओवादीले १४, एकीकृत समाजवादीले ५ सिट जितेका छन् । अर्कोतर्फ एमालेले १२, राप्रपाले ७ सिट जितेका छन्। नेमकिपा र हाम्रो नेपाली पार्टीले १–१ सिट जितेका छन् । दुई प्रदेशसभाको मत परिणाम आइसकेको छैन । सत्ता गठबन्धनलाई सरकार बनाउन समानुपातिकबाट १२ सिट ल्याए पुग्छ, जबकि समानुपातिकका ४४ सिटबाट सत्ता गठबन्धनले आवश्यक सिट सहजै ल्याउन सक्छ ।

गण्डकी : सत्ता गठबन्धनकाे सहजै बहुमत
कुल प्रदेशसभा सदस्य : ६०
प्रत्यक्षतर्फ : ३६
समानुपातिकतर्फ : २४

दलहरूले पाएको सिट
कांग्रेस – १६
एमाले – १२
माओवादी – ५
स्वतन्त्र– १

गण्डकीमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि कम्तीमा ३१ सिट ल्याउनुपर्छ । सत्ता गठबन्धनले प्रत्यक्षतर्फका ३६ सिटमध्ये २१ सिट (कांग्रेस १६ र माओवादीले ५) जितेको छ । समानुपातिकका २४ सिटमध्ये यी दुई दलले करिब १३ सिट ल्याउने प्रक्षेपण गरिएको छ । अर्कोतर्फ एमालेले १२ सिट जितेको छ भने समानुपातिकमा ११ सिट पाउने अनुमान छ । मनाङ (२) बाट स्वतन्त्रबाट जितेका छन् भने स्याङ्जाको दुईवटा प्रदेशसभाको परिणाम आएको छैन । यसरी हेर्दा गण्डकी प्रदेशमा सत्ता गठबन्धनले सहजै बहुमत पाउनेछ ।

लुम्बिनी : साना दल निर्णायक
कुल प्रदेशसभा सदस्य : ८७
प्रत्यक्षतर्फ : ५२
समानुपातिकतर्फ : ३५

दलहरूले पाएको सिट
एमाले – १८

कांग्रेस – १७
माओवादी – ५
स्वतन्त्र – ३
जसपा – २
लोसपा – २
नागरिक उन्मुक्ति – २
राप्रपा – २
जनमत पार्टी – १

लुम्बिनीमा प्रत्यक्षतर्फका ५२ सिटमध्ये सत्ता गठबन्धनमा आबद्ध दलले २४ सिट जितेका छन् । कांग्रेसले १७, माओवादी केन्द्रले ५ र लोसपाले २ सिट जितेको छ । एमाले नेतृत्वको गठबन्धनले पनि २३ सिट जितेको छ । जसमा एमालेको १८, जसपाको ३ र राप्रपाको २ सिट छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले १ र स्वतन्त्रबाट ३ जना चुनिएका छन्। सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैलाई सरकार निर्माणका लागि समानुपातिकमा कम्तीमा २१ सिट ल्याउनुपर्नेछ । सरकार बनाउने गरी कुनै पनि दलको बहुमत पुगेको छैन । समानुपातिकका ३५ सिटमध्येबाट दुईवटै गठबन्धनलाई आवश्यक सङ्ख्या पाउन मुस्किल हुने देखिन्छ । यस्तो अवस्थामा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक हुन सक्नेछन् । समानुपातिकको सिट बाँडफाँट हुन बाँकी रहे पनि उन्मुक्तिले २ र जनमतले १ सिट पाउने आँकलन गरिएको छ । स्वतन्त्र सांसदहरू तीनै जना दीपेन्द्र पुन, सुरुल पुन र खड्ग बस्नेत माओवादी केन्द्रबाट बागी उठेर जितेका हुन् । सरकार निर्माणका क्रममा उनीहरूको भूमिका पनि निर्णायक हुने सम्भावना छ ।

कर्णाली : सत्ता गठबन्धनको सहज बहुमत
कुल प्रदेशसभा सदस्य : ४०
प्रत्यक्षतर्फ : २४
समानुपातिकतर्फ : १६

दलहरूले पाएको सिट
कांग्रेस – ९
माओवादी – ९
एमाले – ५
स्वतन्त्र – १

४० सदस्यीय कर्णाली प्रदेशसभामा सत्ता गठबन्धनले सजिलै सरकार बनाउन सक्छ। प्रत्यक्षतर्फका २४ सिटमध्ये कांग्रेस र माओवादीको ९/९ सिट छ। एमाले ५ सिटमा विजयी हुँदा एक जना स्वतन्त्र उम्मेदवार छन्।

सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि समानुपातिकबाट ३ सिट भए पुग्छ। सत्ता गठबन्धनले समानुपातिकको करिब १० सिट (कांग्रेस ५, माओवादी केन्द्र ४ र एकीकृत समाजवादी १) पाउने अनुमान छ । समानुपातिकका १६ सिटमध्ये एमालेले ५ र राप्रपाले १ सिट पाउने आँकलन गरिएको छ।

सुदूरपश्चिम प्रदेश : सत्ता गठबन्धनकै बहुमत
कुल प्रदेशसभा सदस्य : ५३
प्रत्यक्षतर्फ : ३२
समानुपातिकतर्फ : २१

दलहरूले पाएको सिट
कांग्रेस – ११
माओवादी – ८
एमाले – ३
नागरिक उन्मुक्ति पार्टी – ३
एकीकृत समाजवादी – २
स्वतन्त्र – १
कुल प्रदेशसभा सदस्य ५३ रहेको सुदूरपश्चिममा पनि सत्ता गठबन्धन सहज बहुमतमा पुग्ने देखिन्छ । कांग्रेस ११, माओवादी ८ र एकीकृत समाजवादीले २ सिट जितेका छन्।

प्रत्यक्षतर्फका ३२ मध्ये सत्ता गठबन्धनको २० सिट हुन जान्छ। नागरिक उन्मुक्ति पार्टीले ५, एमालेले ३ र स्वतन्त्रले १ सिट जितेका छन् । एक जना स्वतन्त्र सांसद छन्। २० सिट जितेको गठबन्धनलाई सरकार निर्माणका लागि समानुपातिकबाट ८ सिट भए पुग्छ। जुन सङ्ख्या सहजै पुग्ने देखिन्छ । यसरी समग्रमा हेर्दा सातमध्ये चार प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ । प्रदेश १, मधेस र लुम्बिनीमा चित्र अझै प्रष्ट भएको छैन । बाँकी प्रदेश बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिममा सत्ता गठबन्धन स्पष्ट बहुमतमा पुगेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि दुईवटा प्रदेशमा निर्णायक हुन सक्छन् । तर, समानुपातिकको सिट बाँडफाँड भएपछि मात्रै यसबारे स्पष्ट हुनेछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्