किन गर्‍यो माओवादीले कांग्रेस तर्साउने निर्णयः के प्रचण्ड एमालेको साथ पाएर प्रधानमन्त्री बन्लान् ! – Janadesh Daily | ePaper

किन गर्‍यो माओवादीले कांग्रेस तर्साउने निर्णयः के प्रचण्ड एमालेको साथ पाएर प्रधानमन्त्री बन्लान् !


जनादेश वाच।
नयाँ सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादी केन्द्रको निर्णयले सत्ता गठबन्धनमा तरंग आउने देखिएको छ। शनिबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धनभित्रैबाट बहुमत पुर्‍याउन कोसिस गर्ने र सम्भव नभए अन्य विकल्पमा पनि खुला रहने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए। ‘हामी अहिले गठबन्धनमै छौं। यसलाई तोड्ने पक्षमा छैनौं तर सरकार गठनका सबै विकल्पमा खुला छौं। अन्य पार्टीसँग पनि छलफल गर्छौं,’ महराले भने।

माओवादीमा बामपन्थी मिल्नुपर्ने धारणा आइरहँदा सबै दललाई मिलाएर आफ्नो नेतृत्व वा आफ्नो पहलमा सरकार बनाउन प्रयत्न गर्नुपर्ने मत प्रमुख प्रतिपक्षी नेकपा एमाभित्र बलियो बन्दै गएको छ। विशेषगरी एमालेको दोस्रो तहका नेताले माओवादी केन्द्रसँग सम्पर्क र छलफल बढाएका छन्। माओवादी केन्द्रभित्र पनि कतिपयले वामपन्थी एकता र वाम सरकारका लागि खुला रहनुपर्ने बताउन थालेका छन्। चुनावअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्र र त्यसका नेतृत्वको आलोचक थिए। चुनावपछिका सम्बोधनमा भने उनले कुनै आलोचना गरेका छैनन्। बरू चुनावको सबै परिणाम नआउँदै ओलीले प्रचण्डलाई फोन गरेर उनी निर्वाचित भएकोमा बधाई दिएका थिए। माओवादी केन्द्रका महासचिव देव गुरूङले सरकार गठनका लागि एमालेसँग पनि छलफल गर्न आफूहरू तयार रहेको बताएका छन्। बहुदलीय व्यवस्थामा अन्य पार्टीसँगको छलफललाई सामान्य र स्वाभाविक हिसाबले लिनुपर्ने उनको तर्क छ।

‘तत्कालनै गठबन्धन छाड्ने पक्षमा हामी छैनौं। तर बहुदलीय प्रणालीमा सरकार गठनको विषयमा अन्य पार्टीसँगको छलफललाई स्वाभाविक रूपमा लिनुपर्छ। एमालेसँग छलफल भइरहेको होला वा हुनसक्ला, यसलाई सकारात्मक रूपमा हेरिनुपर्छ,’ गुरुङले भने। आफ्नै नेतृत्वमा सरकार गठनका लागि नेपाली कांग्रेसले पहलकदमी लिइरहेका बेला सरकार निर्माणबारे माओवादीले सबैसँग विकल्प खुला राख्ने निर्णय गरेर नेपाली कांग्रेसलाई दवाबमा राख्न खोजेको कतिपयले विश्लेषण गरेका छन्।

यही गठबन्धन कायम राख्ने हो भने सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने र पहिले आफूले नेतृत्व गर्ने चाहना माओवादी अध्यक्ष प्रचण्डको छ। त्यसबाहेक राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखजस्ता महत्वपूर्ण पद बाँडफाँटको विषय पनि मिलाउन बाँकी नै छ। कांग्रेस सभापति शेरबहादुर देउवाले भने भरसक आफ्नै नेतृत्वमा सरकार गठनको पहल सुरू गरिसकेका छन्। सत्ता साझेदारीमा खुला देखिएका देउवा पनि भरसक आफू नै सुरूमा नयाँ सरकारको नेतृत्व गर्नेमा छन्। देउवाले बिहीबार जनमत पार्टीका अध्यक्ष सिके राउतसँग छलफल गर्दै उनलाई गठबन्धनमा बस्न सहमत गराएका थिए।

देउवाले पार्टीको नेतृत्वमा सरकार गठनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई विभिन्न दलका शीर्ष नेताहरूसँग कुरा गर्न लगाएका छन्। खड्काले बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए भने शनिबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संवाद गरे। कांग्रेसकै नेतृत्वमा सरकार बनाउँदै गठबन्धनलाई निरन्तरता दिने र अन्य दललाई पनि सहभागी गराउने विषयमा संवाद भएको खड्काले बताए।

सबै विकल्प खुला राखेको माओवादी केन्द्रको मुख्य रणनीति जोसँग मिलेर सरकार बनाए पनि पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने भन्ने देखिन्छ। माओवादी केन्द्र पहिलो चरणमै सरकारको नेतृत्व आफूले गर्ने पक्षमा रहेको पार्टी उपमहासचिव मातृका यादवले बताएका छन्। विगतको भद्र सहमति पालना र मुलुकको हितका लागि प्रचण्ड नै पहिलो चरणमा प्रधानमन्त्री बन्नुपर्ने उनको भनाइ छ।

कसरी बन्छ प्रचण्डको सरकार
सत्ता गठबन्धनबाटै सरकार बनाउने माओवादीको चाहाना हन्थ्यो भने शनिबार विकल्प खुला राख्ने निर्णय गर्नुपर्ने थिएन । तर, माओवादीको यो निर्णय पहिलो चरणमै सत्ताको नेतृत्व आफैँले गर्ने रणनीतिका साथ पनि आएको हुनसक्छ । माओवादीको निर्णयका पछाडि जेजस्तो रणनीति भए पनि अब बन्ने नयाँ सरकार सत्ता गठबन्धनकै बन्छ भनेर ढुक्क बस्ने स्थिति भने रहेन । यसै पनि सत्ता गठबन्धनसँग स्पष्ट बहुमत नआउने देखिएकाले उसलाई नयाँ सहयात्रीको आवश्यकता थियो । त्यसमाथि सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले सबै विकल्प खुला गरेपछि सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन पनि बन्नसक्ने सम्भावनाको ढोका खुलेको छ ।

शनिबार अबेरसम्म प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६२ सिटको अन्तिम परिणाम आइसकेको छ । तीन सिटको गणना जारी छ । जहाँ दुई स्थानमा कांग्रेसले एक स्थानमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । यही अग्रता अन्तिमसम्म कायम राखे कांग्रेसको सिट ५७ पुग्नेछ भने माओवादीको १७ । यस्तै एमालेले ४४ स्थानमा जित हात पारिसकेको छ भने दोलखामा एक सिट थप्न सक्छ। नेकपा एकीकृत समाजवादीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले सात, सात सिट जितेका छन् । यस्तै लोसपाले ४, नागरिक उन्मुक्तिले ३, नेमकिपा र जनमोर्चाले एकएक तथा ५ जना स्वतन्त्र छन् ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउन बाँकी छ । यद्यपी सातवटा पार्टीले थ्रेसहोल्ड कटाइसकेकाले यी सात पार्टीले पाउने सम्भावित सिट संख्या अनुमान गर्न गाह्रो छैन । समानुपातिकमा सबैभन्दा धेरै सिट पाएको एमालेले कम्तीमा ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १४, राप्रपाले ७, जसपा र जनमतले ४–४ सिट पाउने सम्भावना छ । यद्यपी एक दुई सिट तलमाथि हुनसक्छ ।

यसअनुसार कांग्रेसको जम्मा सिट ८९, एमालेको ७८, माओवादीको ३१, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, राप्रपाको १४, जसपाको ११ र जनमतको ५ सिट हुनेछ । एमाले र माओवादीबीच सहकार्य भएमा अहिलेसम्मको परिदृष्यअनुसार यो गठबन्धनमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको ११ सिट गरेर १३५ सिट हुने देखिन्छ । सरकार बनाउनका लागि कम्तीमा १३८ सिट हुनुपर्छ । त्यसैले यो गठबन्धनलाई बहुमतका लागि राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी वा स्वतन्त्र सांसदको समर्थन हु्नुपर्ने देखिन्छ । तर, हालको सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिए सो गठबन्धन भने निकै कमजोर हुनेदेखिन्छ । किनकी त्यसपछि यो गठबन्धनमा कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट मात्र हुने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा कुनै पनि गठबन्धनमा छैनन् । यी पार्टीको पनि भूमिका महत्वपूर्ण हुनेदेखिन्छ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्