एजेन्सी ।
इंग्लिस युवा स्टार फरवार्ड जाडो सान्चो जर्मन क्लब बोरुसिया डर्टमुन्डमै रहने भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको उच्च प्राथमिकता रहेपनि सान्चो डर्टमुन्डमै रहने क्लबले जनाएको छ ।
सान्चो अनुबन्ध गर्न प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडसहित युरोपका ठुला क्लबले चासो देखाइरहेका थिए । क्लबका अध्यक्ष माइकल जोर्कले सान्चो डर्टमुन्डमै रहने निश्चित भएको बताएका छन् । क्लबले सान्चो अनुबन्धनका लागि सहमतिमा आउन अन्य क्लबलाई १० अगष्ट सम्मको समय निर्धारण गरेको थियो । डर्टमुन्डले निर्धारण गरेको समय रेखा पार भएसंँगै स्पोर्टिङ डाईरेक्टरको यो भनाई बाहिर आएको हो ।
‘सान्चो म्यानचेस्टर युनाइटेडको उच्च प्राथमिकतामा रहँदै आएका थिए । अब उनलाई अनुबन्ध गर्न औपचारिक सहमति हुन नसकेपछि यस सिजन सान्चोलाई हामीले क्लबको योजनामा राखेका छौ । यही नै अन्तिम निर्णय हो । सबै प्रश्नको उत्तर यही हो,’ जोर्कले भने । डर्टमुन्डले नयाँ सिजनको लागि २० वर्षीय फरवार्डलाई टोलीमा राख्दै सोमबारै स्वीट्जरल्यान्डमा प्रशिक्षण क्याम्प सुरु गरिसकेको छ । त्यहाँ डर्टमुन्डले दुई अभ्यास खेल खेल्दैछ ।
‘पछिल्लो समय उनको प्रदर्शनमा आएको सुधारसँगै हामीले उनको पारिश्रमिक समायोजन गरेका थियौं । सोही कारण उनले २०२३ सम्म आफ्नो अनुबन्धनको समय बढाएका थिए,’ जोर्कले भने ।
डर्टमुन्डले सान्चोका लागि कम्तिमा १ सय मिलियन पाउण्डको अपेक्षा गरेको थियो । सान्चो २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट १० मिलियन पाउण्डमा डर्टमुन्ड पुगेका थिए । सान्चोले डर्टमुन्डका लागि अघिल्लो सिजन जर्मन बुन्डेसलिगामा १७ गोल र १७ असिस्ट दिएका थिए ।