कोरोनाभाइरस: रुसले बनाएको खोपबारे सबैतिर चिन्ता, रुस भन्छ- ‘चिन्ताहरू आधारहीन’ – Janadesh Daily | ePaper

कोरोनाभाइरस: रुसले बनाएको खोपबारे सबैतिर चिन्ता, रुस भन्छ- ‘चिन्ताहरू आधारहीन’


खोप

रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई “बिल्कुलै आधारहीन” भनेको छ।

रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो।

तर विज्ञहरूले रुसले यति चाँडै खोप बनाएकोप्रति सन्देह व्यक्त गरेका छन्।

त्यस्तो सन्देह व्यक्त गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ।

जर्मनी, फ्रान्स, स्पेन र अमेरिका सबैले यो खोपलाई लिएर सतर्क रहन भनेका छन्।

रुसको प्रतिक्रिया

खोप

त्यसपश्चात् बुधवार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, “यस्तो देखिदैछ कि हाम्रा विदेशी मित्रहरूलाई रुसी औषधि प्रतिस्पर्धामा अगाडि जाने कुराको फाइदाबारे जानकारी भयो र उनीहरू यस्तो कुरा गरिरहेका छन् जुन बिल्कुलै आधारहीन छ।”

उनले खोप चाँडै नै उपलब्ध हुने बताए। उनले आउँदो दुई सातामा खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकहरूलाई दिइने जानकारी दिए।

रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार खोप बनेको घोषणा गरेका थिए।

उनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका थिए।

उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए।

खोपप्रति प्रश्न

विश्व स्वास्थ्य सङ्गठनले यो खोपबारे समीक्षा गर्न आफूले रुसी अधिकारीहरूसँग सम्पर्क गरिरहेको बताएको छ।

मस्कोले उक्त खोपको नाम स्पुत्निक राखिने जनाएको छ।

उक्त खोप विश्व स्वास्थ्य सङ्गठनले तेस्रो चरणको परीक्षणमा पुगेका भनी सूचिकृत गरेका ६ वटा खोपहरूको सूचिमा रहेको छैन।

खोप

रुसी खोपबारे विशेषगरी अमेरिका र युरोपमा प्रश्न उठिरहेको छ।

जर्मनीका स्वास्थ्य मन्त्री येन्स स्पानले भनेका छन्, “लाखौँ मानिसहरूलाई खोप लगाउन सुरु गर्नु एउटा खतरनाक कुरा हो किनकी यदि त्यसमा केही खराबी भएमा मानिसहरूको खोपप्रतिको विश्वास नै उड्नेछ।”

“हामीलाई जेजति जानकारी छ, त्यसका आधारमा के थाहा हुन्छ भने खोपको उचित परीक्षण भएको छैन… पहिले खोप बनाउनेको होइन, जरुरी त के छ भने एउटा सुरक्षित खोप विकास होस्।”

फ्रेन्च न्याशनल सेन्टर फर साइन्टिफिक रिसर्चकी अनुसन्धानकर्ता इसाबेल इम्बर्टले ला पेरिसियो अखबारलाई यति चाँडो उपचारको दाबी गर्नु निकै खतरनाक हुनसक्ने बताएकी छन्।

अमेरिकाका वरिष्ठ भाइरस रोगका चिकित्सक डा. एन्टोनी फाउसीले रुसी दाबीप्रति आशङ्का व्यक्त गरे।

स्वागत

तर केही देशले रुसको घोषणालाई सकारात्मक रूपमा लिएका छन्।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफैँले उक्त खोपको परीक्षण गर्ने बताएका छन्।

उनले भने, “मलाई विश्वास छ तपाईँ (रुस)ले बनाएको खोप वास्तवमै मानवताका लागि असल कुरा हो। म त्यसको परीक्षण गर्ने पहिलो व्यक्ति हुनेछु।”

इजरेलले यदि यो “गम्भीर उत्पादन” भएमा किन्नका लागि सम्झौता गर्ने जनाएको छ।

अहिले विश्वमा विभिन्न देशमा समानान्तर रूपमा दर्जनौँ खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्