प्रचण्ड गठबन्धन नफुट्नेमा ढुक्कः रविको पार्टीलाई माओवादीको सन्देश- ‘धैर्य गर्नुस्’ – Janadesh Daily | ePaper

प्रचण्ड गठबन्धन नफुट्नेमा ढुक्कः रविको पार्टीलाई माओवादीको सन्देश- ‘धैर्य गर्नुस्’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारणबाट तत्कालै सत्ता समीकरण फेरबदलको सम्भावना नरहेको बताएका छन्। बिहीबार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन। उहाँहरु पछि हट्नु हुन्न मैले बुझेसम्म’, उनले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने। त्यस्तै प्रचण्डले अहिले नै राजनीतिक समीकरण फेरबदलको कुनै सम्भावना नरहेको पनि बताएका छन्।

‘अहिले नै राजनीतिक समीकरण फेरबदल हुँदैनु, उनले भने, ‘तत्कालै त्यस्तो केही हुँदैन।’ गृहमन्त्री र राष्ट्रपतिलाई लिएर सात दलीय गठबन्धनमा खटपट आएको चर्चाबीच प्रचण्डले यही समीकरण कायमै रहने बताएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि गैरसांसद भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय मागिरहेका छन्। तर प्रचण्ड सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल गृह रास्वपालाई दिने पक्षमा छैनन्।

माओवादी केन्द्रले गृहमन्त्रालयलाई लिएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले यस्तो बताएका हुन्।

रास्वपाले गृहमन्त्रीमा निरन्तर दाबी गरिरहेका बेला माओवादीले गत शुक्रबार रवि लामिछानेबारे सर्वोच्च अदालतले दिएको नागरिकता विवादबारेको मुद्दाको फैसलाको पूरापाठ नआएन्जेल उसले धैर्य गर्नुपर्ने निष्कर्ष निकालिएको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्