एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलो क्वाटरफाइनलमा एटलान्टाविरुद्ध खेलमा म्यान अफ द म्याच चुनिए । तर उनले उक्त अवार्ड आफ्नो सहकर्मी एरिक माक्सिम चुपो मोटिङलाई दिए ।
पीएसजीले नाटकीय पुनरागमन गर्दै खेलमा जित दर्ता गरेको थियो । खेलको पहिलो हाफमा मारियो पासालीचको गोलमा एटलान्टाले अग्रता लिएको थियो । पीएसजीले खेल अवधिभर बलमा पकड जमाएर आक्रमण बुनेपनि इटालियन टोलीका डिफेन्डर र गोलरक्षकले पीएसजीलाई खेलमा फर्कन दिएनन् ।
मुख्यत: नेयमारले एटलान्टाको मिडफिल्ड र डिफेन्सलाई चिर्दै बल अगाडी बढाएपनि पहिलो रोजाईमा खेलेका पाब्लो सराबिया र माउरो इकार्डीले त्यसको सदुपयोग गर्न सकेनन् । प्रशिक्षक थोमस टचेलले ६० औं मिनेटमा सराबियाको स्थानमा किलीयन एमबाप्पेलाई मैदान पठाएपछि पीएसजी थप आक्रामक देखिएको थियो । तर गोल भने निस्केन ।
७९ औं मिनेटमा टचेलले इकार्डीको स्थानमा चुप मोटिङलाई मैदान छिराए । त्यसपछि भने पीएसजीले पेनाल्टी क्षेत्रभित्र पनि खतरा सिर्जना गर्न थाल्यो । एटलान्टाले आफ्नो थकित डिफेन्डर परिवर्तन गर्दै अर्का एक फरवार्ड पनि मैदान छिराएर स्कोर सुनिश्चित गर्ने प्रयास गर्दा पीएसजी भने लगातार आक्रमण बुन्न थाल्यो, र सफल पनि भयो ।
९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । निकै दबाबका बीच आक्रामक मुभ बनाएको पीएसजीका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चार नजिक पुर्याएका थिए ।
खेल अवधिभर नेयमारले लगातार विपक्षी खेलाडीलाई छक्याउँदै अवसर सिर्जना गरेपनि फरवार्डहरुले त्यसको सदुपयोग गर्न सकेका थिएनन् । तर एमबाप्पे र मोटिङको आगमनले नेयमारको मिहिनेत सार्थक भयो र पीएसजीले सेमिफाइनलमा स्थान पक्का गर्यो ।