सरकार विस्तारको अन्तिम सकसः भागवण्डाको खाकासँगै यस्तो छ प्रचण्डको न्यूनतम साझा कार्यक्रम – Janadesh Daily | ePaper

सरकार विस्तारको अन्तिम सकसः भागवण्डाको खाकासँगै यस्तो छ प्रचण्डको न्यूनतम साझा कार्यक्रम


जनादेश वाच।

सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ। मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ।

मंगलबार साँझ पनि बालुवाटारमा गठबन्धन बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश गरेका थिए। न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समावेश गरिएका विषयबस्तु अध्ययन गरी थपघट गर्न आज पुन: बैठक बस्दैछ। साथै मन्त्रालय भागबन्डाबारे पनि दलहरू सहमतिमा पुग्न छलफल गर्ने तयारीमा छन्।

कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भएको छ। दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन्।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए।

यो प्रस्तावमा दलहरूले आ-आफ्नो दाबी राखेका थिए। यसबारे आज थप छलफल गरी सहमतिमा पुग्ने दलहरूले बताएका छन्। प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। मन्त्रालय भागबन्डा नमिल्दा प्रधानमन्त्रीले १६ मन्त्रालय हेर्दै आएका छन्।

के छ न्यूनतम साझा कार्यक्रममा

मन्त्रालय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका छन्। प्रधानमन्त्रीले बैठकमा सहभागी दलका नेतालाई प्रस्तावित मस्यौदा वितरण गरेको र त्यसमा केही संशोधन गर्नुपर्ने भए बुधबारसम्म सुझाव दिन आग्रह गरेका छन्। बुधबार बस्ने गठबन्धनको बैठकले मस्यौदालाई अन्तिम रुप दिने नेताहरुले बताएका छन्।

जनादेशले प्राप्त गरेको प्रधानमन्त्रीले बैठकमा पेश गरेको न्यूनतम साझा कार्यक्रमको पहिलो बुँदामा संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन- विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने कुरा उल्लेख छ।

यसैगरी शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने, कुनै पनि नेपाल नागरिक नागरिकता प्रमाणपत्र पाउन र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने उल्लेख छ।

तत्कालीन सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता तथा तराई-मधेस लगायतका आन्दोलनका क्रममा सरकार र आन्दोलनकारीबीच भएका सहमति र सम्झौतालाई तदारुपताका साथ कार्यान्वयन गर्ने उल्लेख छ।

संसदमा विचाराधीन वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशीघ्र पारित गरि आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत-साधन र जनशक्ति उपलब्ध गराउने, शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने, द्वन्द्वपीडितलाई क्षतिपूर्ति, पुनस्थापना र परिपूरणको व्यवस्था गर्ने उल्लेख छ। न्यूनतम साझा कार्यक्रममा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ती सहज बनाउने, महंगी, तस्करी, कृतिम अभाव, कालाबजारी, खाद्य बस्तुहरुमा मिसावट र वस्तु तथा सेवामा हुने सिण्डिकेट प्रणाली अन्त्य गर्ने बुँदा समेटिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्