एसईई पछि आईटीमा कस्ता विषय पढने – Janadesh Daily | ePaper

एसईई पछि आईटीमा कस्ता विषय पढने


काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । अब नतिजा आउन केही महिना लाग्छ । यो बीचमा विद्यार्थीले कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्नेदेखि विभिन्न सीप सिक्न सक्छन् ।

एसईई पछि आईटीमा कस्ता छन् अवसर ?

भविष्य निर्धारण गर्ने समय पनि हो याे । आज हामी एसईईपछि सूचना प्रविधि (आईटी) क्षेत्रमा विद्यार्थीले के-के गर्न सक्छन् र भविष्यमा कस्ता कस्ता विकल्प छन् भनेर जानकारी दिँदै छौँ:

विद्यार्थीले के-के गर्न सक्छन् ?

मल्टिमिडिया

यो छोटो समयमा विद्यार्थीले मल्टिमिडियाको सीप सिक्न सक्छन् । जसमा ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटोग्राफीजस्ता काम रहेका छन् ।

यी सीप कुनै पनि इन्स्टिच्युटमा गएर, अनलाइनमा सर्च गरेर, युट्युबमा भिडिओ हेरेर सिक्न सकिन्छ ।

कतिपय इन्स्टिच्युटले त्यस्ता प्रकारको सीप सिकाएर इन्टर्नको अवसर पनि दिने गर्छन् । त्यसैले विद्यार्थीले पढ्दै कमाउन पनि सक्छन् ।

प्रोग्रामिङ ल्याङ्ग्वेज

सफ्टवेयर, वेबसाइट वा एपहरूमा रुचि छ भने प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । आजभोलि इन्टरनेटमा विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजको कोर्ष पाइन्छ ।

विद्यार्थीले यो समयमा एचटीएमएल, सीएसएस, जाभा, सी, सी++ जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् ।

यसरी यो समयमा प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न मेहेनत गरे सामान्य खालका वेबसाइट बनाउन, मोबाइल एप बनाउन सकिन्छ । यसले भविष्यको प्रोग्रामिङ-यात्रालाई समेत धेरै फाइदा पुर्‍याउन सक्छ ।

डिजिटल मार्केटिङ

सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढिरहँदा डिजिटल मार्केटिङको पनि आवश्यकता र महत्त्व बढिरहेको छ ।

एसईई सकेर बसेका विद्यार्थीले अनलाइन वा भौतिक रूपमा नै इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङ सिक्न सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम) आदि सीप सिक्न सक्छन् ।

रोबोटिक्स र आईओटी

अहिले रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)को प्रयोग बढ्दै गइरहेको छ । यसको विकासमा ठूला प्रविधि कम्पनी समेत लागेका छन् ।

यदि विभिन्न सामानहरू बनाउन मन लाग्छ भने यो छोटो समयमा विद्यार्थीले रोबोटिक्स र आईओटीका आधारभूत र सैद्धान्तिक विषय सिक्न सक्छन् । यससम्बन्धी इन्टरनेटमा थुप्रै कोर्ष, ट्युटोरियल पाइन्छ ।

हार्डवेयर

कुर्सीमा बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्नुमात्र आईटी होइन । त्यसमा हार्डवेयरको पनि काम धेरै हुने गर्छ । विभिन्न ट्रेनिङ सेन्टरले कम्प्युटर रिपेयरिङको सीप सिकाइरहेका हुन्छन् ।

त्यहाँ गएर विद्यार्थीले यस प्रकारको सीप सिक्न सक्छन् । यस प्रकारको सीपकाे पनि प्रविधि क्षेत्रमा माग बढिरहेकाे छ ।

एसईईपछि आईटी शिक्षा

हुन त विद्यालय तहमा कम्प्युटर विषय हुन्छ । एसईईपछि सीटीईभीटीबाहेक अरुमा आईटीसम्बन्धी छुट्टै कोर्ष छैन । आईटी कोर्ष नै अध्ययन गर्न भने कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ ।

कक्षा ११/१२ वा ‘ए लेभल’ मा ऐच्छिक विषयमा कम्प्युटर रहेको छ । आईटीमा रुचि भएका विद्यार्थीले यो विषय चयन गर्न छन् ।

एसईईपछि नै आईटीको कोर्ष गर्न भने सीटीईभीटीले सञ्चालन गर्ने कोर्ष उपयुक्त हुन्छन् । हाल सीटीईटीभीटीले प्रि-डिप्लाेमा तह (१८ महिने) मा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टकाे कोर्ष सञ्चालन गरिरहेकाे छ ।

सीटीईभीटीका सूचना अधिकृत एकराज अधिकारीका अनुसार डिप्लाेमा तह (तीन वर्षे) मा कम्प्युटर इन्जिनियरिङ र इन्फरमेसन टेक्नाेलाेजी (आईटी) काे पढाइ हुन्छ ।

सीटीईभीटीले यी काेर्ष देशभरका विभिन्न १०६ शैक्षिक संस्थामा सञ्चालन गरिरहेकाे छ । अधिकारीका अनुसार अध्ययनपछि तत्कालै रोगजार हुन चाहने विद्यार्थीले सीटीईभीटीका कोर्ष गर्दा राम्रो हुन्छ । टेकपानाबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्