भोपाल कारागारका सात हजार कैदीले लिए डिप्लोमा – Janadesh Daily | ePaper

भोपाल कारागारका सात हजार कैदीले लिए डिप्लोमा


भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै बितेको एक वर्षमा छ हजार नौ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । सोही अवधिमा ५७ जना बन्दी कारागारबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी भएका छन् ।

भारत सरकारको ‘सबैका लागि शिक्षा’ अभियानअन्तर्गत केन्द्रीय कारागारले बन्दीहरूलाई अध्ययनको अवसर दिएको हो । कारगारमा रहेका छ हजार नौ सय बन्दी गत वर्ष साक्षर भएका थिए । भोपाल केन्द्रीय कारागारका निरीक्षक राकेश भाङ्ग्रेका अनुसार गत वर्ष तीन सय कैदी स्नातक, ५७ जना स्नाकोत्तर, चार सय ६३ जना प्राथमिक शिक्षा, ९२ जना माध्यमिक र दुई सय ४३ कैदी उच्च माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए । एक सय ५८ जना महिला बन्दी पनि विभिन्न तहका परीक्षामा सामेल भएका थिए । कारगारकै दश जना महिलाले कम्प्युटर शिक्षामा दक्षता हासिल गरेका छन् ।

कैदीहरूलाई साक्षर बनाउन तथा उनीहरूको शिक्षाको स्तर उकास्न केन्द्र सरकारको नीतिअनुसार अध्ययनको व्यवस्था मिलाइएको निरीक्षक भाङ्ग्रे बताउँछन् । जेलमा डिप्लोमा तथा त्यसभन्दा माथिको उपाधि हासिल गरेपछि एक दिन कारागारबाट बाहिरिँदा उनीहरूको जिविकोपार्जनको माध्यम त्यही शिक्षा र सिप हुने उनी बताउँछन् ।

इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयका विभिन्न पाठ्यक्रममा आधारित कार्यक्रम कारागारमा सञ्चालन गरिएको जानकारी दिँदै निरीक्षक भाङ्ग्रेले ग्रामीण विकास, खाद्य तथा पोषण, एचआइभी, पारिवारिक शिक्षा, मानविकी एवम् व्यवस्थापनका स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् ।

कारगारमा रहेका छ हजार नौ सय कैदीले गत वर्ष विभिन्न बिधामा डिप्लोमा डिग्री हासिल गरेका बताउँदै निरीक्षक भाङ्ग्रेले अक्षर नै नचिनेका बन्दीलाई पहिचान गरी बिहान बेलुका पढाइने गरेको बताए । उनका अनुसार साक्षर कैदीलाई कक्षा १० र १२ को परीक्षा उत्तीर्ण हुने गरी सिकाइने गरेको छ । विभिन्न स्थानीय निकाय र सङ्घसंस्थासँगको समन्वयमा रिहा भएपछि उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने प्रयास पनि भइरहेको उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्