भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा – Janadesh Daily | ePaper

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा


भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ ।

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्