सभामुख अग्निप्रसाद सापकोटाद्वारा समवेदना – Janadesh Daily | ePaper

सभामुख अग्निप्रसाद सापकोटाद्वारा समवेदना


काठमाडौँ,

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिराले ३७ घरमा गम्भीर क्षति पुगेको छ । तीमध्ये १३ घर पूर्ण रुपमा पुरिएका छन् । पहिरामा परेका ३८ स्थानीयमध्ये ११ को शव निकालिएको छ । सभामुख सापकोटासहितको टोलीले आज पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

घटनास्थलबाट तत्काल पाँचजना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएको थियो । स्थानीयवासीले आफ्नो गाउँमा परेको पीडाबारे सभामुख सापकोटालाई जानकारी गराएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

पहिरो स्थल पुुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य शुरु गरिएको तथा नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी जारी रहेको छ ।

पहिराका कारण विस्थापित भएकाका लागि तत्काल राहत सामग्री पठाउने काम गरिएको छ । बेपत्ताको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने सभामुख सापकोटाले स्थानीयवासीलाई विश्वास दिलाउनुभएको छ ।

भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकाले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई सभामुख सापकोटाले अपिल गर्नुभएको छ ।

यसैगरी गए राति कालीकोटको महावै गाउँपालिकामा खसेको पहिरामा परी एकै परिवारका छ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले आफूलाई दुःखित तुल्याएको सभामुखले उल्लेख गर्नुभएको छ ।

सिन्धुपाल्चोकका लिदीवासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरामा परी सिन्धुपाल्चोकको लिदीबाट उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइरहेका चारजना र काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत सभामुख सापकोटाले गर्नुभएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्