पूर्वलडाकुलाई किस्ताबन्दीमा रकम वितरण गरिने – Janadesh Daily | ePaper

पूर्वलडाकुलाई किस्ताबन्दीमा रकम वितरण गरिने


शान्ता अधिकारी/वसन्त पराजुली

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी लडाकुलाई वितरण गर्ने रकम किस्ताबन्दी रूपमा वितरण गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले देशमा देखिएको आर्थिक समस्याका कारण रकम किस्ताबन्दी रूपमा वितरण गर्न लागिएको स्पष्ट पार्नुभयो ।

“अहिलेको आर्थिक समस्याका कारण किस्ताबन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “मैले गरेको निर्णय भनेर प्रचार गरिएको छ । यो झुटो हो भन्ने प्रष्ट पार्न चाहान्छु ।”

तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रकम वितरण हुन रोकिएको उल्लेख गर्दै उहाँले अहिले सर्वोच्च अदालतले दिन मिल्ने फैसला गरेका कारण रकम वितरण गर्न लागिएको स्पष्ट पार्नुभयो ।

“पूर्वलडाकुलाई रकम दिने विषयमा बढी अनावश्यक चर्चा भएको छ । वर्तमान सरकारले गरेको निर्णय पनि होइन । २०७१ सालकै सरकारले गरेको निर्णय हो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विष्णु पौडेल अर्थमन्त्री रहनुभएको समयमा कांग्रेस र एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषयमा अहिले विरोध गर्नुको अर्थ रहँदैन ।” एक अर्काे प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले सरकार ढल्छ भन्ने कुरा भ्रम मात्रै भएको स्पष्ट पार्नुभयो ।

“राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने सम्बन्धमा छलफल भइरहेको छ । गठबन्धनमा सल्लाह गरेर फेरि भेट्ने र टुङ्गोमा पुग्ने कुरा भएको छ । अहिले समर्थन फिर्ता लिने स्थिति मैले देखेको छैन,” उहाँले भन्नुभयो । रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको बताउँदै उहाँले त्यसैमा सो पार्टीका नेताहरू अडिनुहुन्छ भन्ने आफूलाई नलागेको स्पष्ट पार्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हालै भएको आक्रमणमा सत्तारूढ दलको हात रहेको आरोपका बारेमा पत्रकारहरूले राखेको जिज्ञासामा उहाँले सो आरोप असत्य रहेको दाबी गर्नुभयो। “यो घटनामा विचारसँग असहमत हुने खालका मानिस छन्। दलको संस्थागत विरोध भन्ने कुरा विल्कुल नै हैन। त्यो झुटो कुरा हो। राजनीतिक दलका व्यक्तिहरू संस्थागत रूपमा कोही पनि लागेका छैनन्।

ओलीजीले नै बरु यो घटनामा राजा र उनका परिवार लागेका भनेर भन्नुभएको छ। त्यो गम्भीर विषय हो,” उहाँले भन्नुभयो। उहाँले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको पात्रो पनि विमोचन गर्नुभयो।

यसैबीच प्रधानमन्त्री प्रचण्डले सोमबार नै भरतपुर–२९ चौकीडाँडामा स्थापित प्याराग्लाइडिङको उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले चितवनको पर्यटन क्षेत्रको विकासमा प्याराग्लाइडिङबाट थप मद्दत पुग्ने बताउनुभयो। गोरखापत्रबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्