भोर्लेटारचोक सहिदगेट भत्काइएपछि उठेको प्रश्नः जनयुद्धको विरासत मेट्ने मात्र हो ! – Janadesh Daily | ePaper

भोर्लेटारचोक सहिदगेट भत्काइएपछि उठेको प्रश्नः जनयुद्धको विरासत मेट्ने मात्र हो !


जनादेश वाच।

माओवादी जनयुद्धकालीन निशानामा मानिने पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ। पृथ्वीराजमार्ग विस्तार गर्न लागि मंगलबार उक्त सहिदगेट भत्काइएको हो।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो। सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो।

यो सहिदगेट भत्काइएपछि प्रश्न उठेको छ माओवादी जनयुद्ध नेपालको राजनीतिक इतिहासमा कहिल्यै विर्सन नसकिने र नमिल्ने राजनीतिक परिघटना हो। यसकै कारण हालको गणतन्त्रदेखि समावेशीसम्मका व्यवस्था स्थापित भएका हुन्। तर भोर्लेटारको सहिदगेट भत्काइएपछि भने माओवादी जनयुद्धका निशाना संरक्षणमा प्रश्न उठेको छ।

बाबुराम भट्टराईको भाषामा भन्ने हो भने- नेपाली समाज र राज्यव्यवस्थालाई जरैदेखि हल्लाएर पुँजीवादी लोकतान्त्रिक क्रान्तिलाई पूर्णता दिन माओवादी पार्टीको पुनर्गठन र ०५२ फागुन १ गतेबाट सशस्त्र जनयुद्धको थालनी भएको थियो ।कतिपयले दुस्प्रचार गरेझैँ जनयुद्ध कुनै लहड वा आवेगमा सुरु गरिएको थिएन । इतिहासका विभिन्न क्रान्तिको सफलता र असफलताको अनुभवलाई संश्लेषण गरेर देशको ठोस परिस्थितिको मूल्यांकन गरेर नेपालको क्रान्तिको बाटो तय गरिएको थियो । चार–पा“च वर्षको वैचारिक, राजनीतिक, सांगठनिक र व्यवस्थापकीय तयारीपछि मात्रै सशस्त्र जनयुद्धको थालनी गरिएको थियो । ०५१ फागुनमा चितवनमा सम्पन्न पार्टीको तेस्रो विस्तारित बैठकले जनयुद्धको ठोस रणनीति र कार्यनीति निर्माण गरेपछि वर्ष दिन पार्टी घनीभूत तयारीमा जुटेको थियो ।

वि.सं. २०५२ फागुन १ गतेदेखि २०६३ मंसीर ५ गतेसम्मको अवधि नेपाली राजनीतिक आन्दोलनको इतिहासमा सर्वाधिक महत्वपूर्ण काल मानिन्छ। यस अवधिमा नेपालमा एउटा ठूलो उथलपुथलपूर्ण क्रान्ति भयो, जुन जनयुद्धका रुपमा स्थापित छ।

तसर्थ जनयुद्धका विरासत र सम्झना भत्काउने मात्र होइन संरक्षणमा पनि सरोकारावाला र राज्यको ध्यान जान जरुरी छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्