माधव नेपाल किन गर्दैछन् अररा कुराः एकीकृत समाजवादी सरकार छोड्ने तयारीमा हो ! – Janadesh Daily | ePaper

माधव नेपाल किन गर्दैछन् अररा कुराः एकीकृत समाजवादी सरकार छोड्ने तयारीमा हो !


जनादेश वाच।

सत्तारुढ पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार दुर्घटनामा पर्न सक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार दुर्घटनामा पर्ने बताए ।

उनले भने ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’

उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन् ।

साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् ।

सरकार छाड्ने धम्की

पुस १० गते बनेको गठबन्धन भत्काएर नयाँ सरकार गठन भएपछिको प्रमुख सत्ता घटक एकीकृत समाजवादी पार्टीका नेताहरुले आफू सरकार छोड्न तयार रहेको अभिव्यक्ति दिन थालेका छन्। सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत भएपछि र प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डको भारत भ्रमणपछि नेकपा एकीकृत समाजवादीका नेताहरु सरकारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भइरहेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताएका यद्यपी नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन्। सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा आशंंका उत्पन्न भएको छ।

त्यसअघि अस्ट्रेलिया भ्रमण सकेर फर्किएपछि जेठ २४ गते सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणले थुप्रै प्रश्‍न जन्माएको बताएका हुन्। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन्। त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो कि होइन, प्रश्‍नहरु जन्माएको छ। यसबारे सबै कुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरुसँग भेटेर कुरा गर्नेछु।’

उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन पनि आह्वान गरेका छन्। जेठ २६ मा शनिबार भक्तपुरमा पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपालले सबै मिलेर अघि बढ्ने हो भने नेकपा ब्युँताउन आफू तयार रहेको बताएका हुन्।

‘कमरेड विप्लव, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ। छिटै मिलेर अघि बढ्ने सोच बनाएका छौँ। त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन,’ अध्यक्ष नेपालले भने, ‘प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिस्ट पार्टी फेरि ब्युँताऔँ।’

त्यसैगरी नेकपा एसका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले पनि अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका हुन्। शनिबार समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन । हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ।पाण्डेले अरु पार्टीहरुको इसारामा चल्दा पार्टी निर्माण गर्न सकिँदैन, बरु सरकार छोड्न तयार छौं।’

प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्रीहरु हेरफेर गर्ने तयारी रहेको समयमा सत्ता घटक नेकपा एसले यसरी सरकार छोड्‍ने चेतावनी दिएपछि सत्ताधारी दलहरुमा खटपट सुरु भएको हो। सरकारले बजेट पास गर्न नसके फेरि नैतिक प्रश्‍न उठ्ने छ। बजेट पारित गराउनका लागि नेकपा एसको साथ अनिवार्य छ। यही समयमा नेकपा एमालेले सत्ताधारीले नै स्वीकार नगरेको बजेट सरकारले फिर्ता गर्नुपर्ने माग गरिरहेको छ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्