जनादेश वाच।
माओवादीको शान्तिपूर्ण राजनीतिको प्रस्थानबिन्दु मानिने चुनबाङ बैठकमा असहमति राख्ने नेताहरु पालैपालो राजनीतिक रुपमा भूमिकाविहीन देखिएका छन्। २०६१ सालमा रुकुमको चुनबाङमा बसेको तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो। माओवादीको उक्त बैठकमा तत्कालीन दुई पोलिटुब्यूरो सदस्य मणिचन्द्र थापा र रवीन्द्र श्रेष्ठले शान्तिपूर्ण राजनीतिक यात्रामा अवतरण गर्ने पार्टीको निर्णयप्रति असहमति राखेका थिए।
उनीहरुको असहमति पछि माओवादीले दुबैलाई कारबाही गरेको घोषणा गरेको थियो। त्यसयता अनेकौं राजनीतिक गतिविधि गर्दै आइरहेका नेताद्वय अन्ततः पालैपालो एमाले बन्न पुगेका थिए। सुरुमा माओवादी शान्तिपूर्ण राजनीतिमा आए लगत्तै २०६४को संविधानसभाको निर्वाचन अगावै श्रेष्ठ एमाले बन्न पुगे। उनी २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेका थिए। त्यस यता श्रेष्ठको राजनीतिक सक्रियता देखिँदैन।
यस्तै अलग्गै राजनीतिक गतिविधि गर्दै अघि बढिरहेका थापा २०७३ मा नेकपा (माओवादी केन्द्र) मा समाहित भएका थिए। उनी एमाले र माओवादीबीच एकता भएर बनेको नेकपामा रहँदै गर्दा पार्टी विभाजनपछि एमालेतर्फ लागेका हुन्। एमालेमा लागेर स्थायी समिति सदस्य रहेका थापा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री समेत बनेका थिए।हाल उनी पार्टीमा भूमिकाविहीन देखिएका छन्। एमालेका सम्पूर्ण (३४९) जना केन्द्रीय सदस्यले पार्टीको नयाँ कार्यविभाजन अनुसार जिम्मेवारी पाउँदा थापालाई भने कुनै जिम्मेवारी दिइएको छैन। । यद्यपि एमालेको अन्तरपार्टी निर्देशिकामा थापा बिदामा बसेको उल्लेख गरिएको छ।
अब भने मणि थापा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्। पछिल्लो दिन एमालेमा बिदा स्वीकृत गराएर सार्वजनिक कार्यक्रममा नदेखिएका उनले विप्लवसंग पटकपटक छलफल गरिसकेका छन्।
‘एमालेमा केही मिल्दैन, त्यहाँ बस्न सकिन्न। म अन्ततः यतै हो भन्नू भएको छ,’ विप्लव निकट केन्द्रिय सदस्य बिपिन सीले भने, ‘उहाँ हाम्रै पार्टीमा आउनेगरी नै संवादमा हुनुहुन्छ।’
‘अन्तिम अवस्थामा कुनै नाटकीय परिवर्तन नभए मणिजीले लगभग निश्चित गर्नु भएको सूचना पाएको छु’, उनले थपे। एमालेको २८ देखि ३० वैशाखमा बसेको केन्द्रीय कमिटी बैठकपछि जारी भएको अपानीमा पनि मणीले बिदा स्वीकृत गराएको उल्लेख गरिएको छ।
अघिल्लो वर्ष काभ्रेमा भएको एक कार्यक्रममा एमाले पार्टी प्रती थापाले गरेको आलोचनाले अध्यक्ष केपी शर्मा ओली बिच्किएका थिए। २०७७ फागुन २३ मा नेकपा भंग गर्ने फैसला गरेपछि एमाले र माओवादी केन्द्र ब्युँताएको थियो।
त्यसपछि पनि थापासहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका केही नेताहरू माओवादी मा फर्किएका थिएनन्। मणिलाई स्थायी समिती सदस्य दिएर तेस्रो वरियता दिने तयारी छ।
नेपाल कम्युनिस्ट पार्टीको महासचिव विप्लव सबैभन्दा कार्यकारी पदमा छन्। उनी वरियताको पहिलो नम्बरमा छन्। ‘उहाँलाई तेस्रो वा चौथो पद दिने कुरा छ,’ बिपिन सीले थपे। अहिले नेपाल कम्युनिस्ट पार्टीमा विप्लव, प्रकाण्ड, अनिल शर्मा, सन्तोष बुढा मगर, भरत बम, उमा भुजेल र कर्णजित बुढाथोकीसहित ७ जनाको स्थायी समिती छ।