जनादेश वाच।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीका वकिलले नै ठगी भएको स्वीकार गर्दै बहस गरेका छन्। शरणार्थी प्रकरणका प्रतिवादी रामशरण केसीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले शरणार्थी प्रकरणमा ठगी भएको बताए। उनले बहसका क्रममा सानु भण्डारी र टोपबहादुर रायमाझीको योजनामा शरणार्थी प्रकरण भएको जिकिर गरे। उनले बहसमा रामशरणको बचाउ गर्दै भने, ‘रामशरण एउटा पेन्टर हुन्। पेन्टिङकै क्रममा सहप्रतिवादीहरुसँग उनको चिनजान भएको हो। उनी पनि पीडित हुन्। प्रहरी कार्यालयमा जाहेरी दिन गएका केसीलाई थुनियो।’
शरणार्थी प्रकरणमा पक्राउ परेका तल्लो तहका अभियुक्तलाई छाडेर अन्य ठूला अभियुक्तलाई थुनामा राख्ने आदेश दिन उनले माग गरे। उनले यो प्रकरणमा संलग्न अपराधीहरुलाई छाडेर यी निमुखालाई थुनेर के हुन्छ भन्दै प्रश्न गरेका थिए। रामशरणले अमेरिका पठाउने भन्दै उठाएको रकम सहप्रतिवादीहरुलाई बुझाएर आफ्नो घर बेचेर पछि रकम फिर्ता गरिसकेको पनि बताए।
न्यौपानेले बहसका क्रममा सबैविरुद्ध अभियोग पत्र ल्याउन आदेश दिन पनि माग गरे। ‘प्रेमकुमार राई लगायतविरुद्ध मुद्दा नै ल्याइएको छैन। अदालतले यसमा संलग्न सबैविरुद्ध एक महिनाभित्रमा पुरक अभियोजन गर भनेर अर्को आदेश दिनुपर्छ,’ वरिष्ठ अधिवक्ता न्यौपानेले भने, ‘थुनछेकको आदेश एउटा र पुरक अभियोगका लागि अर्को आदेश दिनुपर्छ।’
उनले केपी ओली नेतृत्वको सरकार ढलेपछि शरणार्थी बनेर अमेरिका जान तयार जाहेरवालाहरु छटपटिएको बताए। ओली सरकार ढलेपछि अब काम हुँदैन भनेर जाहेरी दिएको बताए। रामशरणकै तर्फबाट बहस गरेका अधिवक्ता केदार गुरागाईंले पनि रामशरणले रकम संलकन गरेर सहप्रतिवादीहरुलाई बुझाएको बताए। उनले जे भएको हो, त्यो सबै बयानमा बताएको पनि दाबी गरे।
‘रामशरण केसीले उनले के गरेका हुन् भन्ने सबै कुरा खुलस्त भनेका छन्। कुन होटलमा भेटेको, कस्तो झोलामा लगेर रकम दिएको। तर उनको कुरा सुनिएन, उल्लेख पनि गरिएन,’ गुरागाईंले बहसमा भने। रामशरणलाई अदालतले तिमी प्रतिवादी बनाउनु पर्ने मान्छे होइन रहेछौ भनेर खोजेको बेला अनुसन्धानमा सहयोग गर्न उपस्थित हुने गरी छाड्नु पर्ने बताए। केसीलाई साधारण तारेखसम्म तोक्न नमिल्ने जिकिर उनले गरे।
केसीका तर्फबाट अरुण ज्ञवालीले पनि बहस गरेका थिए। यससँगै १२ प्रतिवादीको बहस सकिएको छ। यसअघि बहस गरेका ११ प्रतिवादीका वकिलले शरणार्थी प्रकरणमा आफ्नो पक्षको संलग्नता अस्वीकार गर्दै सहप्रतिवादीलाई समेत जोगाएर बहस गरेका थिए। तर रामशरणका वकिलले भने अरुको संलग्नता भएको र केसीले पनि रकम उठाएर बुझाएको स्वीकार गर्दै त्यसरी उठाएको रकम उनले फिर्ता गरिसकेको र उनी आफैँ पीडित भएको जिकिर गरे।
बालकृष्णको त्यो बहस
नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबारको बहसमा इजलास कक्षमा तनावरहित देखिन्थे, प्रतिवादी टोपबहादुर रायमाझी । आफ्नो तर्फबाट लामो बहस हुँदा दिक्क उनी अरुकाे बहसमा निदाउने गरिरहेका छन् ।
शुक्रबार उनको पक्षमा बहस हुनुअघिसम्म डायरीमा टिपोट गर्थे । त्यसपछिका आइतबार र सोमबारका बहसमा उनको खल्तीमा भेटिने डायरी देखिएन । इजलास कक्षमा सुरुको दिनदेखि उनले आफ्नो सिट फेरेका छैनन् ।
सोमबारको बहसमा पनि उनी निदाए । सवा २ बजेको टि-ब्रेक अघि उनी अधिकांश समय निदाएर बसे । खाजा खाएपछि उनी फ्रेस भएर इजलास कक्षमा बसे । बस्दा पनि उनी हात चलमलाइरहन्थे । घरि घरि औँला चलाइरहन्थे । घरिघरि नङ कोट्याइरहन्थे । सोमबार प्रतिवादी रामशरण केसीको तर्फबाट बहस भैरहेको थियो । खाजा खाएर ढिला इजलास कक्षमा प्रवेश गरे, रायमाझी । त्यतिबेला अरुण ज्ञवालीले बहस गरिरहेका थिए । ज्ञवालीपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने बहस गर्न गए । केसीको पक्षबाट बहस गरेको भए पनि उनले अर्का प्रतिवादी टेकनाथ रिजालको बयानको सहारा लिएर केसीको बचाउमा उत्रिए ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पटक पटक सन्दर्भमा आउन सचेत गराइरहेका थिए । उनको बहस रिजालको तर्फबाट हो कि झैँ लाग्ने थियो । तर, कुरा घुमाएर उनी रिजालले ‘नेपाल सरकारको माथिल्लो निकायबाट भएको’ बयानलाई पुष्टि गर्दै केसी सामान्य मान्छे भएको तर्क गर्दै थिए । दर्शकदिर्घामा रहेका रायमाझी खाजा खाएपछि फ्रेस थिए । न्यौपानेले मुद्दाको केन्द्रमा रिजाल रहेको उनको बयानले धेरै कुरा खुलाएको, काठमाडौं आएपछि रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएको, ‘प्रचण्डले जे गर्नुहुन्छ रायमाझीले गर्नुहुन्छ’ भनेपछि आफूले पाउने मासिक १ लाखको सुविधासमेत पुनः प्राप्ति गरेको तर्क पेस गरे ।
त्यसपछि रायमाझी जर्याकजुरुक भए । न्यौपानेको बहस एकटकले सुनिरहेका रायमाझी गम्भीर देखिन्थे । न्यौपानेले बहस सकाएपछि उनीसँगैको बेन्चमा बसेका अर्का प्रतिवादी बालकृष्ण खाँणले पानी पिए । रायमाझीले पनि सो पानी मागेर खाए । अनि लामो सास ताने ।