कांग्रेसको किचलो रोचक मोडमाः शेखर देउवासँग नजिकिँदा, गगनसँग टिमअप गर्दै पूर्णबहादुर – Janadesh Daily | ePaper

कांग्रेसको किचलो रोचक मोडमाः शेखर देउवासँग नजिकिँदा, गगनसँग टिमअप गर्दै पूर्णबहादुर


जनादेश वाच।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच सभापतिमा निकटतम् प्रतिस्पर्धा भयो । पहिलो चरणको मतदानमा विधानबमोजिम कसैले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमार्फत शेरबहादुर कांग्रेसको सभापति बने ।

यसपछि संस्थापनइतर पक्षको नेतृत्व गर्दै सभापतिमा आफूसँग प्रतिस्पर्धा गरेका शेखरलाई शेरबहादुरले वरीयतामा हेपे । २०७८ पुस १० गते नवनिर्वाचित कार्यसमतिको पहिलो बैठक बस्यो, जसले शेखरलाई २०औं वरीयता प्रदान गर्‍यो । त्यसो त १०औं महाधिवेशनमा निर्वाचित सभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका उनै शेरबहादुरलाई तेस्रो वरीयता दिइएको थियो । तर, शेरबहादुरले शेखरलाई तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति), पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री सुनीलबहादुर थापाभन्दा पनि पछाडि राखे ।

यसपछि विस्तारै बढेको शेरबहादुर-शेखरबीचको दूरी घट्न थालेको छ । हिजो-आज उनीहरूको बर्गत मिल्न थालेको छ । अहिले शेरबहादुरले शेखरका लागि केन्द्रीय कार्यालयमा कार्यकक्ष (कोठा) नै दिएका छन् । “केन्द्रीय कार्यालयमा मलाई एउटा कार्यकक्ष दिइएको छ,” शेखरले भने, “थप केही भनिएको छैन, तर कार्यकक्षचाहिँ दिइएको छ ।”

उसो त शेखरलाई शेरबहादुरले वरिष्ठ नेताको दर्जा प्रदान गर्न लागेको चर्चा कांग्रेस वृत्तमा छ । नेपाभ्यूजले यसबारे शेरबहादुरनिकट एक नेतासँग जिज्ञासा राख्यो । जवाफमा ती नेता भन्छन्, “चर्चा नभएको होइन, भएको हो । तर, कहिले, कसरी भन्नेबारे थप छलफल भएको छैन । कुराचाहिँ उठेको हो । सभापतिज्यूले थप छलफल गरेर टुङ्ग्याउँला भन्नुभएको छ । फेरि अहिले त देशबाहिर हुनुहुन्छ ।”

शेरबहादुर-शेखरबीच ‘भद्र सहमति’ नै भएको कतिपय संस्थापनइतर कांग्रेस नेताहरू ठान्छन् । १५औं महाधिवेशनमा शेखरलाई शेरबहादुरले सभापतिको पद जिम्मा लगाउने सहमति भएको नेताहरू ठान्छन् । संस्थापनइतर कांग्रेसका एक नेता भन्छन्, “उहाँहरूबीच त्यस्तो खाले सहमति भएको छ कि छैन, त्यसबारे थप जानकारी छैन । चर्चाचाहिँ हुन्छ बाहिर । तर, उहाँहरू नजिकिनुभएको छ ।”

त्यसो त १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने उद्घोष शेखरले गरिसकेका छन् । शेरबहादुरकै सहयोगमा उठ्ने हो तपाईं ? भन्ने प्रश्नमा शेखर भन्छन्, “उहाँले त पहिल्यैदेखि नै कोइराला परिवारबाट कोही सभापति हुनुपर्छ भनेरै आउनुभएको हो । तर, मलाई नै सुम्पनुहुन्छ भन्ने होइन । तर, कोइराला परिवारबाट पनि कांग्रेस चल्नुपर्छ भन्नेचाहिँ उहाँलाई छ ।”

 

पछिल्लो समय शेखरले शेरबहादुरको आलोचना गर्न छाडेको संस्थापनइतर कांग्रेसका नेताहरू बताउँछन् । “अहिले त उहाँ (डा. शेखर कोइराला) ले सभापतिको गलत कदममा समेत आलोचना गर्न छाड्नुभएको छ,” एक नेता भन्छन् । यद्यपि शेखर भने यसमा सहमत छैनन् । “म अहिले पनि शेरबहादुरजीको आलोचक नै हुँ । जे भएपनि मेरो सभापति हो, म उहाँलाई भेट्छु, कुराकानीका लागि कहिलेकाहीँ बोलाउनुहुन्छ, जान्छु । तर, गलत कामको आलोचना नै गर्छु,” शेखर भन्छन् ।

उनी आफूहरू नजिकिएको भन्ने विषय सिर्फ ‘न्यारेटिभ’ भएको जिकिर गर्छन् । “एकथरि मान्छेहरूले न्यारेटिभ बनाएका मात्रै हुन् । यसमा सत्यता छैन,” शेखरको जिकिर छ, “उहाँ मेरो सभापति हो, पार्टीको सभापति हो । भेट भइरहन्छ, हुनुपर्छ पनि । तर, जसरी न्यारेटिभ बनाइएको छ, त्यसरीचाहिँ नजिकिएको होइन ।” उनी आफू कसैको फरिया समातेर अघि बढ्ने मान्छे नभएको दाबी गर्छन् । “म शेरबहादुरजीको फरिया समातेर, गगनजीको फरिया समातेर वा अरु कोही-कसैको फरिया समातेर अघि बढ्ने मान्छे नै होइन,” शेखरले भने ।


संस्थापनइतरकै नेता गगनकुमार थापा, जो निर्वाचित महामन्त्री हुन् शेरबहादुर-शेखरबीच अस्वाभाविक दूरी घटेको र त्यसले संस्थापनइतर कांग्रेसमा अप्ठ्यारो भएको ठान्छन् । यसबारे उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग निरन्तर छलफल गर्ने गरेका छन् । शेरबहादुरसँग नजिकिएपछि संस्थापनइतरभित्रै पनि शेखर आफूखुसी चल्न थालेको गगनको बुझाइ छ । यसअघि संस्थापनइतरबाट पठाइएका मन्त्रीहरूमा शेखरले एकलौटी गरेको गुनासो गगनले आफूनिकट नेताहरूसँग बताउने गरेका छन् । जसै पछिल्लो समय उनले कडा अभिव्यक्तिसमेत दिने गरेका छन् ।

शेखरको प्रस्तावमा शेरबहादुरसँग संसदीय दलको नेतामा लडेका उनले नेतृत्वले अक्षम्य गरेको, अति गरेकोलगायतका अभिव्यक्ति दिने गरेका छन् । यसअघि उनले ‘अति भयो, अब सहिन्न’ भनेर एक अभिव्यक्ति दिएका थिए । त्यसपछि गगनले आफैँले फरक पार्टी हाँक्न चाहेको भनेर विश्लेषण गरिएको थियो ।

पूर्णबहादुर र गगनको टिमअप
देउवाका विश्वास्पात्र मानिएका उपसभापति पूर्णबहादुर खड्का देउवाको पछिल्लो गतिविधिले असन्तुष्ट देखिएका छन्। उनले पार्टीका अलग्गै खेमाका नेता शेखर कोइरालासँग देउवाले निकटता बढाएपछि सशंकित बन्दै महामन्त्री गगन थापासँग सहकार्य गर्ने योजनामा पुगेको स्रोतले जनाएको छ। कांग्रेसको १४ औं महाधिवेशनमा देउवा टिममा रहेर उपसभापतिमा विजयी भएका खड्का उनका विश्वासपात्र हुन्।

हाल कांग्रेसबाट सरकारमा नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको जिम्मेवारीमा रहेका छन्। कांग्रेसको भावी सभापतिको रुपमा हेरिएका खड्काले देउवाको निकटता कोइरालासँग बढाएपछि आगामी १५ औं महाधिवेशनमा महामन्त्री थापासँग सहकार्यका लागि तयारी गरेको स्रोतको दाबी छ। गएको १४ औं महाधिवेशनमा कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित थापा प्रतिनिधिसभा निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका थिए। आफूलाई धोका दिएर सभापति देउवासँग निकटता बढाएपछि थापा पनि उपसभापति खड्कासँग सहकार्य गर्न लचक रहेको स्रोतको दाबी छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्