समाजवादी मोर्चाको सपना पूराः तर बाबुराम भट्टराई वाहिरै अधुरा, यस्तो छ उनको सन्देश – Janadesh Daily | ePaper

समाजवादी मोर्चाको सपना पूराः तर बाबुराम भट्टराई वाहिरै अधुरा, यस्तो छ उनको सन्देश


जनादेश वाच।

लामो प्रयासपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू नेतृत्वको समाजवादी मोर्चा घोषणा गर्न सफल भएका छन् । तर, मोर्चा निर्माणका सूत्रधार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाहिर राखेर मोर्चाको घोषणा भयो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट बहिर्गमनमा परेपछि प्रगतिशील र वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर समाजवादी मोर्चा बनाउनुपर्ने पक्षमा लागेका थिए बाबुराम भट्टराई। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उनले मोर्चाको अवधारणाबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुलाई कन्भिन्स गराएका थिए।


त्यसपछि भट्टराईले कम्युनिष्ट विचार र सिद्धान्त मान्ने दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मोर्चा निर्माणको रणनीतिबारे प्रष्ट पारे। उनले जोसँग कुरा गरे, सबै मोर्चामा रहन तयार भए। भट्टराई, माधव नेपाल र प्रचण्डबीच कम्तीमा १० पटक यसकै विषयमा छलफल भएको थियो। यसमा माओवादी पूर्वघटकबीच एकता नै गर्ने रणनीति थियो। निरन्तर छलफलपछि असारभित्रै समाजवादी मोर्चा बनाउने विषयमा लगभग समझदारी जुटेको थियो।

तर, असार ४ गते नै समाजवादी मोर्चा घोषणा त भयो, बाबुराम भट्टराई नेतृत्वको नेसपा मोर्चामा अटाउन सकेन। सोमबार भट्टराईको जन्मदिन पनि हो। यही दिन नयाँ मोर्चा बनेको सार्वजनिक हुँदा मञ्चमा नेसपा देखिएन्। राष्ट्रिय सभागृहमा भएको विशेष कार्यक्रमबाट मोर्चा घोषणा गर्दा माओवादी, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) समेटिएका छन्।

समाजवादी मोर्चा निर्माणका आरम्भकर्ता दाबी गर्नै भट्टराई त्यसमा परेका छैनन्। कतिपयले उपेन्द्र र बाबुरामको टकरावको कारण भन्ने विश्लेषण गरेका छन्। तर, भट्टराई आफैँले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। मोर्चा घोषणाअघि उनले एउटा विश्लेषण लेख्दै समाजवादी मोर्चाको उपादयताबारे चर्चा गरेका छन्। सोमबार भएको कार्यक्रममा पनि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पहिलो चरणमा ४ दल समेटिएर बनेको समाजवादी मोर्चा घोषणा भएको र बाँकी दललाई पनि समेट्ने बताए।


अघिल्लो वर्षको असार २९ सम्म बाबुराम जसपाकै संघीय परिषद् अध्यक्ष थिए। तर, उपेन्द्र यादवसँग मतभेद बढेपछि भट्टराईले आफ्नै नेतृत्वमा नेसपा गठन गरेका हुन्। असार ३० मा जसपाको पर्साको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईसहित ९ नेतालाई कारबाही गरेको थियो। त्यसपछि भट्टराईले असार ३१ मा नेसपा गठन गर्ने घोषणा गरेका थिए। नेसपा गठन गरेपछि उनी माओवादीसहित पूर्व माओवादी घटकसँग एकता गर्नेगरी खटिएका थिए।

विचार मिल्नेसँग मोर्चा बनाउन खोज्ने उनले रणनीति भविष्यमा एकता नै गर्नेगरी थियो। तर, मोर्चा घोषणा त भयो, जहाँ बाबुराम छुटेका छन्। उनी मोर्चामा सामेल हुने नहुने टुंगो छैन। राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरेर समाजवादी मोर्चा घोषणा भइरहँदा यसका एकजना सूत्रधार भने छुटेका छन्।

आक्रोशपूर्ण प्रुतिक्रिया
बाबुराम भट्टराईले समाजवादी मोर्चाको कडा आलोचना गरेका छन्। उनले ‘कथित समाजवादी मोर्चा’को संज्ञा दिएका छन्। समाजवादी मोर्चाको नियतप्रति नै प्रश्न उठाएका छन्। र, यसलाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी पनि दिएका छन्।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्