के प्रचण्ड सरकार ढाल्ने तयारी भैरहेकै होः सिंगापुरबाट फर्किएका देउवाले खोले मुख – Janadesh Daily | ePaper

के प्रचण्ड सरकार ढाल्ने तयारी भैरहेकै होः सिंगापुरबाट फर्किएका देउवाले खोले मुख


जनादेश वाच।

पछिल्लो समय सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेका दोस्रो तहका नेताहरूबीच शुरू भएको अनौपचारिक संवादलाई केहीले सत्ता गठबन्धनमा समस्या पैदा भएको रूपमा चर्चा गरिरहेका छन्। त्यही चर्चामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्न थालिएको विषय मिसिएको देखिन्छ। गठबन्धनमा पैदा भएको समस्याचाहिँ के हो त?

कांग्रेसका नेताहरू संघीय संसद्मा छलफलका क्रममा रहेको आउँदो आर्थिक वर्षको बजेटलाई लिएर गठबन्धनमा केही समस्या पैदा भएको बताउँछन्। उनीहरूका भनाइमा प्रधानमन्त्री प्रचण्डलले समाजवादी मोर्चाको बालुवाटार बैठकबाटै ‘बजेट सच्याउने’ बताउनु त्यसको कारण बनेको उनीहरूको भनाइ छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका नेताहरूले ‘बरु गठबन्धन भत्कियोस्, तर बजेट स्वीकार गरिन्न’ भन्ने अभिव्यक्ति दिइरहेको पृष्ठभूमिमा प्रधानमन्त्रीसहित मोर्चाका शीर्षनेताले ‘बजेट सच्याउने’ समझदारी भएको बताएका थिए।

कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट मानिने केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, “हामीबाट बजेटको विरोध भएको छैन। अहिले समाजवादी मोर्चा बनिसकेपछि मोर्चाभित्र छलफलको विषय बन्यो। समाजवादी मोर्चा नै बजेट फेल गर्छु भनेर लाग्ने भयो भने त उसले अर्को पार्टनर खोज्ने हो। तर, हामी त्यतापट्टि लागेका छैनौँ।”

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले ‘ठीक ढंगले नचले गठबन्धन फेरिन सक्ने’ बताएका थिए। थापाले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको तर्क गर्दै ‘गठबन्धन फेरिन सक्ने, नयाँ सरकार बन्न सक्ने’ कुरा स्वाभाविक भएको उल्लेख गरेका थिए।

कांग्रेसभित्र भने त्यसभन्दा पहिलेदेखि नै गठबन्धन सरकारलाई लिएर असन्तुष्टि बढ्न थालेको नेताहरू बताउँछन्। माओवादीका बहिर्गमित पूर्वलडाकुलाई भत्ता दिने र गम्भीर अपराधका अभियुक्तहरूको मुद्दा फिर्ता लिने लगायतका निर्णय तिनैमध्ये थिए। “नक्कली शरणार्थी प्रकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट प्रदर्शित कतिपय व्यवहारले सभापति पनि झस्किनुभएको छ,” कांग्रेस सभापति देउवानिकट एक नेताले एक मिडियामा भनेको दाबी पनि आएको थियो।

देउवालाई नै सोधेपछि…

श्रीमती डा. आरजु देउवा, छोरा जयवीरसिंह र स्वकीय सचिव भानुलाई पनि साथमा लिएर एक साताका लागि देउवा सिंगापुर उडेका थिए। देउवा सिंगापुर पुगेपछि नेपालमा भने सत्ता समीकरण फेरबदलको चर्चा चल्यो।
एकातिर सरकारले ल्याएको बजेटबाट सत्ता गठबन्धनकै दल असन्तुष्ट थिए भने अर्काेतिर प्रतिपक्षीले लगातार बजेटको विरोध गरिरहेको छ। उनीहरू बजेट संशोधन गर्नुपर्ने अडानमा थिए। उता नक्कली भुटानी शरणार्थी प्रकरणमा सभापति देउवाका दाहिने हात मानिएका बालकृष्ण खाँणलाई थुनामा पठाउने आदेश जिल्ला अदालत काठमाडौंले दिएको थियो।

उता, सिंगापुरमा रहेका देउवाले पनि त्यहीँ राजनीतिक भेटघाट गरिरहेको हल्ला फैलियो। त्यसलाई पुष्टि गर्ने आधार थियो– उनले सिंगापुर बसाई लम्बाएर १० दिन पुर्‍याउनू। अर्थात्, सात दिनका लागि गएका देउवाले ३ दिन समय थप गरेका थिए। देउवा शुक्रबार नेपाल फर्किए। सुरूमा नेताहरूसँग ब्रिफिङ लिए। केही नेताहरू एमालेसँग संवादमा छन्। ‘शेखर दाइ र एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत नेताहरुबीच भेटघाट बाक्लो भइरहेको सूचना सभापतिजीलाई आएको छ,’ स्रोतले भन्यो, ‘यसबारे उहाँले प्रष्ट पार्नुभएको छ।’

शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न देउवा बालुवाटार गएका थिए। केहीबेर कुराकानी भएपछि बाहिरका हल्लाबारे गठबन्धनलाई यथार्थ जानकारी दिनुपर्ने निष्कर्ष निकालेर ४ बजे बैठक बोलाइयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबाहेक सबै नेताहरू निर्धारित समयमै बालुवाटार पुगे। सत्ता गठबन्धन भत्काउन भइरहेका प्रयासबारे नेताहरूले देउवालाई जिज्ञासा राखे।

‘यो गठबन्धन भत्किन्छ, सरकार बदलिन्छ भनेर एमाले हिँडिरहेको छ, हाम्रो सरकार के हुन्छ? भनेर सोध्यौं,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘सरकार ढल्ने कुनै संकेत, कारण छैन, देखिएन।’ बालुवाटारमा डेढ घण्टा छलफल हुँदा केहीबेर देउवालाई निरन्तर प्रश्न सोधिएको उनले बताए। उसै त छोटो उत्तर दिने देउवाले कूटनीतिक जवाफ फर्काए।

‘तपाईँले सिङ्गापुरमा पहिला केपी ओलीले भेटेको जस्तै व्यक्तिसँग राजनीतिक भेट गर्नुभयो भन्ने छ, वास्तविकता के हो?,’ देउवाको प्रश्न उधृत गर्दै पाण्डेले भने।

देउवाले कोही/कसैसँग नभेटेको जवाफ फर्काए। ‘कसैसँग सम्पर्क गरेको छैन, मलाई भेट्न कोही आएको पनि होइन मिडियालाई भेटेको पनि छैन, यता त अनावश्यक हल्ला भइसकेछ,’ देउवाले भने, ‘म उपचार गर्न गएको हुँ। अनावश्यक हल्ला मात्रै हो।’ देउवाले पार्टीबाट अहिलेको गठबन्धन भत्काउन कुनै गतिविधि नहुने आश्वस्त पारेको उनले बताए।

समीकरण फेर्न कति सम्भव?
प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा अहिले १५५ सांसदको प्रष्ट समर्थन छ। सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका ८८ सांसदमध्ये टेकबहादुर गुरुङ निलम्बनमा परेकाले अब ८७ सांसद छन्। माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ४ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन्। यी सबै पार्टी सरकारमा छन्। ६ सांसद रहेको जनमत पार्टी सरकारबाट बाहिरिए पनि समर्थन कायमै छ।

प्रमुख प्रतिपक्ष एमालेका ७९ सांसदमध्ये टोपबहादुर रायमाझी र लक्ष्मी महत्तो कोइरी निलम्बनमा परेकाले ७७ सांसद छन्। विपक्षमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ सांसद छन्। यीमध्ये एमालेका देवराज घिमिरे सभामुख र रास्वपाका इन्दिरा राना उपसभामुख छन्। विपक्षमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४ सांसद छन्। यसबाहेक राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का १–१ सांसद छन् भने ३ जना स्वतन्त्र सांसद (अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डल) छन्।

सत्तागठबन्धनमा रहेकाबाहेक सबै (सभामुख र उपसभामुखसहित) सांसद संख्या जोड्दा ११७ पुग्छ। अर्थात् वर्तमान सत्तागठबन्धन नभत्किएमा सरकार बनाउन आवश्यक संख्या (१३८) पुग्दैन। गठबन्धन भत्कन नदिन बनेको समाजवादी मोर्चामा ५४ सांसद एकत्रित रहेकाले कांग्रेस र एमाले मिलेको स्थितिमा बाहेक तत्काल अर्को गठबन्धन बन्ने गणितीय सम्भावना भने देखिँदैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्