जनादेश वाच।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सरकारी ढुकुटीबाट सुन चढाउनका लागि जलहरी राख्ने घोषणा गरे। ओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीहरुका साथ पशुपतिनाथ पुगेर ‘संकल्प पूजा’ गर्नुका साथै सुनको जलहरी राख्ने घोषणा गरेका थिए। त्यस क्रममा उनले जलहरी बनाउन सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने पनि बताएका थिए।
त्यसपछि कोषले सरकारबाट आउने रकममा ५० करोड ११ हजार रुपैयाँ थपेर करिब १ सय ८ केजीको जलहरी बनाउने निर्णय गरेको थियो। त्यसकै लागि किस्ता–किस्तामा राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन किनिएको थियो। तत्कालीन प्रधानमन्त्री ओलीले सरकारको ३० करोड र पशुपति क्षेत्र विकास कोषको ५० करोड ११ हजार गरी करिब ८० करोड रुपैयाँमा १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरी राष्ट्र बैंकबाट १०३.७७३ केजी सुन किनाएका थिए।
धार्मिक तथा आध्यात्मिक दृष्टिकोणबाट पनि ज्योतिर्लिंगमा जलहरी राख्नु उपयुक्त नभएको भन्दै सर्वोच्चमा मुद्दासमेत परेको थियो। त्यस समय धार्मिक विश्वास अनुसार नाङ्गै बस्ने, खरानी धस्ने र बाघको छालाको कछाड बाँध्ने र कुनै गहना नलगाई घाँटीमा सर्पको माला बेर्ने शिवका निम्ति सुनको जलहरी चढाउने घोषणा गर्नुले नै प्रश्न जन्माएको छ। मूल रूपमा धार्मिक आस्थाको केन्द्रमा सम्बन्धित धर्मावलम्बीकै भावनालाई लत्याएर सुनको जलहरी राख्ने निर्णय गर्ने व्यक्तिको नियतमाथि नै प्रश्न उठ्न थालेको छ।
यस क्रममा सम्पदा सम्बन्धी नियम–कानुन र अन्तर्राष्ट्रिय मान्यता पनि मिचिएका छन्। प्राचीन स्मारक संरक्षण ऐन–२०१३ ले ‘सम्पदास्थलमा कुनै नयाँ संरचना बनाउन, स्वरूप बिगार्न नपाइने’ व्यवस्था गरेको छ। युनेस्केको बडापत्रमा पनि कुनै पनि प्राचीन धरोहर विश्व सम्पदामा सूचीकृत हुँदा जे–जस्तो अवस्थामा थियो, त्यही रूपमा संरक्षण गर्नुपर्ने व्यवस्था छ। नेपालको सबैभन्दा महत्त्वपूर्णमध्येको एक सम्पदामा सम्बन्धित कानुनी प्रबन्धनहरू कुल्चिएर किन जलहरी राखियो भन्ने प्रश्नहरु उठिरहेका छन्।
पशुपतिमा जलहरी राख्नका लागि खरिद गरिने सुनमा घोटाला गर्ने नियत त थिएन भन्ने प्रश्नहरु आइरहेका छन्। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। सुन किन्दा घोटाला भएको भन्दै उजुरी परेको करिब साढे दुई वर्षपछि पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगको गर्भगृहबाट निकालेर परीक्षण गरिएको छ। उक्त जलहरी बिहीबार बिहान पुन:स्थापना गरिएको छ।
यस प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओलीसमेतलाई जोडिएको छ। ओलीले जलहरी राख्ने घोषणा गरेको एक महिनामा नै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत यसको उद्घाटन गरिएको थियो। सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु अगावै पशुपतिमा जलहरी राखिएको थियो। यसरी हतारमा जलहरी राखिएको विषयले ओलीमाथि थप प्रश्नहरु उठिरहेका छन्। यद्यपि ओली भने यसबाट पन्छिँदै पशुपति क्षेत्र विकास कोषमाथि दोष थोपरिरहेका छन्। जलहरी राखिँदा आफूले गरेको भन्दै आफ्नै तारिफ गरेको भए पनि अहिले विवाद भएपछि भने यसबाट पन्छिन खोजेका छन् ओली।
पशुपतिमा पत्नी राधिकासहित ‘संकल्प पूजा’ पछि जलहरी चढाउने घोषणा, जलहरीमा आफ्नो नाम कुँदाउने रहर र सर्वोच्चको अन्तरिम आदेश अगावै हतारमा जलहरी स्थापना गर्नुले तत्कालीन प्रधानमन्त्री ओलीलक्षित प्रश्नहरु उठ्न थालेका छन्।
पूर्वप्रधानमन्त्री ओलीले बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि।’ आफ्नै विशेष चासोमा हतार-हतार जलहरी राख्ने निर्णय गराएर जलहरी राख्न लगाएका ओली अहिले भने आफू संलग्न नभएको बताइरहेका छन्।
यद्यपि उनले यसमा घोटाला भएको हुन सक्ने संकेत भने गरेका छन्। उनले भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको। अलिक दिन त्यसले पनि मार्केट पायो। अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भयो। अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि। यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको?’
ओलीले उक्त जलहरीमा आफ्नो नाम समेत कुँदाएका छन्। भगवानको नाममा मन्दिरमा चढ्ने जलहरीमा समेत नाम कुँदाएपछि यसको पनि उनले बचाउ गरेका छन्। जलहरीमा भएको घोटालाबारे अनुसन्धानका क्रममा पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंग (गर्भगृह) मा राखिएको जलहरीको तौल मुचुल्का र परीक्षणमा फरक-फरक भएको पाइएको छ। करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ। पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो।
जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ भने जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन। महालेखा परीक्षकको कार्यालयले पनि जलहरी निर्माणका विषयमा प्रश्न उठाएको थियो। महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ।
अख्तियारले उजुरीमाथि प्रारम्भिक छानबिन गरेर कोषका पूर्व तथा बहालवाला पदाधिकारी/कर्मचारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र कालिगडसँग बयान लिएको थियो। त्यसपछि थप अनुसन्धान अघि बढेको थिएन। पछिल्लो समय जलहरीबारे तत्कालीन प्रधानमन्त्री ओलीको नाम छोडेर संसद्मा नै प्रश्न उठेपछि यसबारेको अनुसन्धान अघि बढाइएको हो।
पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यले जलहरी निर्माणमा हरेक कोणबाट अनियमितता देखिएको तर राजनीतिक दबाब र प्रभावमा आरोपितलाई अख्तियारबाट उन्मुक्ति दिलाउन दौडधुप भइरहेको बताएका छन्। उनले भने, ‘जलहरी राख्नुअघिको मुचुल्कामा एउटा परिमाण देखिन्छ, २ वर्षपछि अख्तियारले तौल लिँदा अर्कै। त्यसमा पनि आधा केजी कम छ। त्यति त जर्ती र दूधले नुहाएर कम भएको भन्ने जिकिर गर्न थालेका छन्। यो सरासर अनियमितता ढाकछोप गर्ने नियत हो।’
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नै शंकाको घेरामा रहेको बताएका छन्। उनले भनेका छन्, ‘मैले पशुपतिको जलहरीसँग सम्बन्धित विषयवस्तु तत्कालीन प्रधानमन्त्री ओलीले जलहरी लगाउने घोषणा गरेको समयमा नै उठाएको थिएँ। २ सय वर्षदेखि नियमित चाँदीको जलहरी लगाइरहेको ठाउँमा सुनको जलहरी लगाउनुपर्ने आफैँमा वस्तुगत निर्णय थिएन, मनोगत थियो। अनुसन्धान प्रक्रियामा निष्पक्षता कायम हुनुपर्छ। केपी ओलीले सुनको जलहरीमा आफ्नो, विद्या भण्डारीको, भानुभक्त ढकाललगायत धेरैको नाम लेखाउने रहर जाग्नुले पनि यसमाथि प्रश्न उठाएको छ।’