जनादेश वाच।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमै फर्कने संकेत गरेकी छिन् । बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा फर्कने संकेत गरेकी हुन् ।
समाज रुपान्तरणको अभिभारा पूरा भइ नसकेको भन्दै उनले घुमाउरो पारामा राजनीतिमा फर्कने बताएकी हुन् ।
‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ’, उनले भनिन्, ‘जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । जनताका ती सपना हामीले पूरा गर्नुपर्छ ।’
कार्यक्रममा उनले आफ्ना पति मदन भण्डारीको स्मरण गरेकी थिइन् । राष्ट्रपति बन्नुभन्दा अघि उनी नेकपा एमालेकी उपाध्यक्ष थिइन् । सात वर्ष राष्ट्रपतिको भूमिका निर्वाह गरेर विद्यादेवी भण्डारी फागुन २९ गते निवृत्त भए पनि उनी अब निष्क्रिय भएर बस्नेछन् भन्ने धेरैलाई लागेको छैन । फेरि पनि पार्टी राजनीतिमै फर्किनेछन् र देशको कार्यकारी पदमा पुग्न हर प्रयास गर्नेछन् भन्नेमा राजनीतिमा चासो राख्ने उल्लेख्य पंक्तिले विश्वास गरिरहेको छ ।
यो विश्वास आधारहीन छैन । शीतलनिवासमा छँदा उनले प्रदर्शन गरेका व्यवहार र पार्टीभित्रको अवस्थालाई नजिकबाट नियालिरहेकाहरुले भण्डारीको कार्यकारी सक्रियता चाँडै नै देख्न पाइनेछ भनेर प्रस्ट आधारहरु देखेका छन् । भण्डारी पार्टी राजनीतिमा सक्रिय हुन सक्ने आधारहरू पर्याप्त छन्।
१. उत्तराधिकारीविहीन ओली
हत्पत्ति अरू कसैलाई विश्वास नगर्ने र अरुमाथि आफै हाबी हुन खोज्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उत्तराधिकारी तयार नै गरेका छैनन् । अहिले पदाधिकारीको पंक्तिमा रहेका कसैलाई पनि उनले भावी पार्टी प्रमुख देखिरहेका छैनन् । महासचिव शंकर पोखरेललाई उत्तराधिकारीका रुपमा अघि सार्न खोजेका हुन् कि भन्ने यदाकदा देखिए पनि आफ्नै क्षेत्रमा चुनाव जित्न नसक्ने भनेर भइरहने टीकाटिप्पणीले ओलीको आकांक्षालाई धक्का पुर्याइरहेको छ ।माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता बाहिरिसकेपछि एमालेको केन्द्रीय नेतृत्व तहमा ओली गुट मात्र बाँकी छ ।
पछिल्लो चुनावी पराजय र सरकारमा हुँदा विवादका शृंखलाका कारण ईश्वर पोखरेल लगभग उपयोगिताशून्य भइसकेका छन् । संगठनमा पनि विशेष पकड र आकर्षण नभएका नेतामा पर्छन् उनी ।भीम रावल एमालेमा हुनु र नहुनुको अर्थ हुन छाडिसक्यो । सुरेन्द्र पाण्डेको स्वतन्त्र व्यक्तित्व भए पनि ओली गुटले उनलाई पार्टी नै सुम्पने उदारता र हार्दिकता देखाउन मुस्किल छ । वामदेव गौतम पाखा लाग्नु काउसो पन्साउनुसरह भएको छ । योसँगै एमालेमा ओलीपछि नेतृत्वमा को आउला भन्ने प्रश्न झन् ताजा भएर आएको छ ।नेतृत्व संकटको यो अवस्थामा ओलीले भण्डारीलाई अघि सार्ने सम्भावना प्रबल देखिएको छ ।
२. शीतलनिवासको सक्रियता
राष्ट्रपति निर्वाचित भएर शीतल निवास प्रवेश गरेपछि भण्डारीले पार्टी सदस्यता त त्यागिन् तर पार्टी राजनीतिबाट आफूलाई अलग्याउन सकिनन् । उनले राजनीतिक अभीष्ट राखेर नै धेरै विवादित कदम पनि चालिन् । ओलीका हरेक सिफारिस तत्कालै सदर गर्नेदेखि नागरिकता तथा अन्य विधेयकहरु जारी नगरी रोकेर राख्ने उनको निर्णयका पछाडि जनमत विभाजित तुल्याउनु र भविष्यका निम्ति आफूलाई राजनीतिमा स्पेस बनाउनु नै थियो भन्दा अन्यथा हुँदैन ।
३. एमालेभित्रको समीकरण
राष्ट्रपतिको भूमिकामा हुँदा भण्डारीको प्रभाव पार्टीमा पनि अविच्छिन्न रह्यो । उनकै निकटता र सक्रियताका आधारमा पार्टी र राजकीय जिम्मेवारी प्राप्त गर्ने प्रशस्तै नेता छन् । अहिले पनि उनकै चाहनाअनुसार सक्रिय राजनीतिमा फर्कनुपर्ने भन्दै निम्तो दिने पंक्ति बढ्दै गएको छ । ईश्वर पोखरेल, शंकर पोखरेल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, गुरु बराल, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्कीलगायत भण्डारीको खास मण्डलीमा छन् । भविष्यमा शंकर पोखरेललाई नेतृत्व सुम्पने र विष्णु पौडेललाई रोक्ने हो भने पनि ओलीपछि अर्को कोही वरिष्ठ र सर्वसम्मत नेता आउनुपर्नेछ । किनभने अहिले नै नेतृत्व हस्तान्तरण गर्नुपर्दा विष्णु पौडेलले दाबी गर्न सक्नेछन् । बीचको इन्टरबलको अवधिका लागि भण्डारीलाई अध्यक्ष बनाउने र त्यसपछि शंकर पोखरेललाई नेतृत्व सुम्पने सुगम बाटो ओलीपंक्तिले खोजेको बुझिन्छ ।
४. पर्याप्त सक्रिय उमेर
शीतलनिवास बसाइँको अवधिमा पूर्णतः स्वास्थ्य आरोग्यता प्राप्त भइसकेको र उमेर पनि तुलनात्मक रुपमा नढल्किसकेको कारण पनि भण्डारी निष्क्रिय बस्ने मनःस्थितिमा छैनन् । उनको खास उमेर ५५ देखि ६० को बीचमा छ । अझै ५ देखि १० वर्ष सक्रिय राजनीति गर्ने उनको आकांक्षा छ । उमेरका कारण पनि निष्क्रिय बस्न नहुने र पार्टीलाई योगदान गर्नुपर्ने भनेर उनकै सहयोगी एवं समर्थकहरु समेत उकासिरहेका छन् ।
५. शक्तिको भोक र मदनको विरासत
शक्ति यस्तो कुरा हो, जति भोग गर्यो, उति नै भोक जाग्दै जान्छ । मदन भण्डारीको प्रभाव र आकर्षण चुलीमा पुगेका बेला निधन भयो । त्यही खाली सिटका लागि भएको उपनिर्वाचनमा सेतो सारी पहिरिएरै उनी २०५० सालमा मत माग्न हिँडिन् । काठमाडौंका जनताले त्यतिखेर सहानुभूतिको मत दिए । त्यसपछि उनी लगातार चुनाव उठिन् । २०६४ को संविधानसभा निर्वाचनमा धेरै एमाले नेताहरुजस्तै उनले पनि पराजय बेहोरिन् । तर शक्तिमा उनको बढोत्तरीको ग्राफ कहिल्यै तल झरेन । यसको कारण थियो– मदनकै विरासत ।
रक्षामन्त्री भइसकेपछि माओवादीसँग बिच्किएको सेनाले उनको राम्रै खाँतिरदारी गर्यो । त्यसपछि उनको आर्थिक उन्नतिले पनि राम्रै पखेटा फिँजायो । उनको आर्थिक साम्राज्य र चामत्कारिक प्रगति हेर्न ज्वाइँ उमेश थापाको व्यापारिक साम्राज्य हेर्नुपर्छ । उनले पूर्वदरबारियाको त्रियोग स्कुल किन्दा ढुसी परेका नगदका बोरा बुझाएको प्रसंग अहिले पनि व्यापारिकवृत्तमा चर्चित छ । राष्ट्रपति नै भइसकेपछि त भण्डारी सेनाको परमाधिपति नै भइन् । शीतलनिवासको ठाँट र रवाफको जुन स्वाद उनले पाएकी छन्, त्यो भुल्न उनलाई निकै सकस पर्नेछ । यसकारण पनि उनी फेरि सक्रिय राजनीतिमा आएर कार्यकारी अभ्यास गर्नेछन् । उनकै समर्थक एवं सहयोगी नेताहरु यति कुरा खुलेर भन्न कत्ति पनि हिच्किचाएका छैनन् ।