समाजवादी मोर्चाको पहिलो बैठकः विभाजित कम्युनिष्टलाई फेरि एकधारमा ल्याउने सूत्र – Janadesh Daily | ePaper

समाजवादी मोर्चाको पहिलो बैठकः विभाजित कम्युनिष्टलाई फेरि एकधारमा ल्याउने सूत्र


 

जनादेश वाच।
चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको पहिलो बैठक बस्ने भएको छ।

शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)को प्रथम बामती प्रदेश कमिटी भेला उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने बताए।

उनले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताएका छन्। मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरुलाई सँगसँगै लिएर अघि बढ्ने धारणा राखे। उनले समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको धारणा राखे।

अहिले मुलुकको परिवर्तन बिरुद्ध सल्वलाईरहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रीत हुने बताएका हुन्। उनले संविधानका बारेमा बिमति राख्नेहरुसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनहरुलाई बलियो बनाउने बताए। सत्तारुढ माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गरिएको थियो।

मोर्चामा सामेल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा सामेल छन् भने विप्लव नेतृत्वकाे नेकपाकाे संसदीय अवतरण भएकाे छ । यसअघि औपचारिक रूपमा निर्वाचनमा भाग नलिएकाे साे पार्टी माओवादी केन्द्रसँग एकता गर्ने याेजनासहित माेर्चामा सहभागी छ ।

सत्तारूढ दलहरूबीच आलोपालो सरकारकाे नेतृत्व गर्ने सहमति छ । तर, प्रचण्डले आफ्नो नेतृत्वमा बनाएको यो मोर्चासँग यस्तो संसदीय गणित बनेको छ, जसमा यस मोर्चालाई बाहिर राखेर अर्को सरकार बनाउन कठिन छ । त्यसैले सत्ता सहयात्री दल कांग्रेस सार्वजनिक रूपमा शान्त देखिए पनि भित्रभित्रै सशंकित बनेको छ । प्रतिनिधिसभामा मोर्चासम्बद्ध दलहरूका ५४ जना सांसद छन् । त्यस हिसाबले संसदमा मोर्चा बलियाे तेस्रो शक्तिका रूपमा देखिएकाे छ । समाजवादी मोर्चा बनेपछि संसदीय राजनीति तीन ठाउँमा केन्द्रित भएको छ । पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो समाजवादी मोर्चा । कांग्रेस र एमाले नै मिलेबाहेक अब समाजवादी मोर्चा बनेपछि सत्ता समीकरणमा तत्कालै फेरबदल हुन सक्ने खतरा टरेकाे छ । प्रधानमन्त्री प्रचण्ड एक प्रकारले ढुक्क बनेका छन्।

सत्ता साझेदार दलभित्रै अर्काे माेर्चा बनेपछि सबैभन्दा बढी दबाबमा सत्ता घटक कांग्रेस परेको छ । ८९ सिटसहित कांग्रेस संसदकाे सबैभन्दा ठूलो दल हो । ३२ सिटकाे माओवादी केन्द्रलाई सत्ता दिन नखाेज्दा चुनावलगत्तै गठबन्धन भत्किएकाे थियाे । प्रचण्ड एमालेलगायत दलकाे सहयाेगमा प्रधानमन्त्री नियुक्त भए । पूर्वसहमति कार्यान्वयन नगर्दा गुमाएकाे सत्ता कांग्रेसले अन्तत: राष्ट्रपति निवार्चनमा फर्कायाे । दुई वर्ष प्रचण्ड, एक वर्ष माधव नेपाल र अन्तिम दुई वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने गरी सत्तारुढ दलहरूबीच आलाेपालाे सहमति छ ।

सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । त्याे कांग्रेस र एमाले मिलेमा मात्र पुग्छ । तर, यी दुई ठूला दल नमिलेसम्म समाजवादी मोर्चा नै निर्णायक हुनेछ । मोर्चा टिक्न र यसलाई राजनीतीकरण गरेर अगाडि बढ्न सके राम्रो हुने राजनीतिक विश्लेषक झलक सुवेदी बताउँछन् । उनले भने, ‘यसलाई सत्ता टिकाउने अस्त्र मात्र बनाउनु हुन्न । यसलाई राजनीतिकरण गर्ने र अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने गरी जाने हो भने राम्रो हुन्छ । अन्यथा सत्ता टिकाउने मात्र मोर्चा बनाएको सन्देश जान्छ ।’

माेर्चाका नेताहरूले माेर्चा कसैको विरुद्ध नभएर परिवर्तनकारी शक्तिहरू एक हुने आधारको रूपमा अर्थ्याएका छन् । घाेषणासभामा प्रचण्डलगायत नेताहरूले सबैभन्दा ठूलाे वाम पार्टी एमालेमाथि कुनै टिकाटिप्पणी गरेनन् । विभाजित कम्युनिस्टहरूको यही मोर्चाबाट पुन: मिलन हुनसक्ने आधार पनि हुन सक्ने कतिपयकाे विश्लेषण छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्