जनादेश वाच।
कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशीको ३४औं स्मृति दिवसमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ब्युँताउनुपर्ने बताए । माओवादी र एमालेबीच एकता भएर बनेको नेकपालाई जोगाइराख्न नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै उनले पुनः एकता गर्नुपर्नेमा जोड समेत दिए । विगतमा भएका कमीकमजोरीको समीक्षा गरेर फेरि पार्टी एकतातिर लाग्नुपर्ने उनको भनाइ थियो । उनले नेकपाको पुनर्निर्माणका लागि आफू मात्रै तयार भएको बताएनन्, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि समर्थन रहेको खुलाए ।
एमाले फुटाएर अहिले प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा सहभागी नेपालले पनि जनताको जीवनस्तर सुधारका लागि देशका कम्युनिस्ट एक हुनपर्ने बताए ।
प्रचण्ड मात्र होइन केपी ओलीले पनि आजभोलि नेकपाको कुरा गरिरहन्छन्। हालै उनले नेकपा एकता भाँडिनुको वास्तविक कारण खोज्नुपर्ने बताएका थिए। असार ४ देखि १७ गतेसम्मको अवधिमा यी दुई नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सम्झिएर समान दुई–दुई पटकसम्म अभिव्यक्ति दिनु संयोगमात्र हो वा यसको कुनै राजनीतिक उद्देश्य पनि छ भन्नेबारे चासो बढेको छ ।
२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ फागुन २३ मा विघटन भयो । सो पार्टी विघटन हुनुमा सर्वोच्च अदालतको एउटा फैसलालाई आधार बनाइयो जसमा प्रचलित कानुन बमोजिम निर्वाचन आयोगमा दर्ता भएको कुनै दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भन्दै नाम परिवर्तन गर्ने विकल्प दिइएको थियो ।
नेकपा नाम गरेको पार्टी आफ्नो नेतृत्वमा रहेको र निर्वाचन आयोगमा पहिलादेखि नै दर्ता रहेको भन्दै ऋषि कट्टेलले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाविरुद्ध सर्वोच्च अदालतमा दिएको मुद्दाबारे अदालतले फैसला गर्नुअघि तत्कालीन सत्तारुढ दल नेकपाभित्र गुटगत संघर्ष उत्कर्षमा पुगेको थियो । संसद विघटन, पार्टी र सरकार सञ्चालनमा स्वेच्छाचारिता लगायतका विषयलाई लिएर पार्टीभित्र नेताहरु विभाजित बनेका थिए । सोही संघर्षको परिणाम पार्टी विभाजनको अवस्थामा थियो भने सर्वोच्च अदालतले नाम परिवर्तन गरी पार्टी जोगाउन दिइको सुझावलाई तत्कालीन नेकपाका कुनै पनि पक्षले महत्त्व दिएनन् । बरु सोही फैसलामा टेकेर एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए ।
उतारचढावपूर्ण सम्बन्ध
दोस्रो जनआन्दोलनपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएपछि नै परम्परागत संसदीय शक्ति एमालेसँग उसको सहकार्य शुरू भयो । प्रत्यक्षका २४० मध्ये १२० सीट जितेर माओवादीले सनसनी मच्चाएको थियो । प्रत्यक्षमा झण्डै बहुमत ल्याए पनि समानुपातिकका कारण बहुमत नपुग्दा एमालेसँगको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बने । तर प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि सहकार्य टुट्यो ।
२०६६ जेठमा एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भए । पहिलो संविधानसभामा दुई–दुई ठाउँबाट पराजित भए पनि नेपाल अन्ततः प्रधानमन्त्री बन्न सफल भएका थिए । कांग्रेसको सहयोगमा नेपाल प्रधानमन्त्री चुनिएका थिए । निर्विरोध प्रधानमन्त्रीमा नेपाल चुनिँदा माओवादीले भने संसद् बैठक नै बहिष्कार गरेको थियो ।
तर फेरि २०६७ मा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा एमाले र माओवादी एक ठाउँमा उभिए । झलनाथपछि २०६८ भदौमा माओवादीकै डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । एमाले र माओवादी मिल्दा प्रधानमन्त्रीमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल पराजित भएका थिए । तर बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला संविधान दिन नसकी संविधानसभा विघटन भयो ।
त्यसपछि दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दोस्रो संविधानसभाको चुनाव गराउन २०६९ चैत १ मा मन्त्रिपरिषद्को अध्यक्ष बनाए । रेग्मीले समयमै चुनाव गराएपछि २०७० साल माघ २७ मा सुशील कोइराला प्रधानमन्त्री बने । सुशीललाई प्रधानमन्त्री बनाउँदा भने पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिले । माओवादी बाहिर पर्यो ।
कोइरालाको नेतृत्वमा २०७२ साल असोजमा दोस्रो संविधानसभाले संविधान बनायो । संविधान बनेपछि २०७२ असोजमा माओवादीकै समर्थनमा एमालेका केपी शर्मा ओली प्रधानमन्त्रीमा चुनिए । तर आफैंले प्रधानमन्त्री बनाएका ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगेर प्रचण्ड आफैं प्रधानमन्त्री बने ।
दोस्रोपटक प्रधानमन्त्री बन्दा प्रचण्डले २०७३ साउन २० मा कांग्रेसको साथ लिए । आलोपालोको सहमति अनुसार प्रचण्डले २०७४ जेठ २४ मा कांग्रेसका शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे । यसबीचमा एमाले र माओवादीको सम्बन्ध निकै चिसिएको थियो । सार्वजनिक मञ्चबाट एमाले र माओवादीका नेताबीच तल्लोस्तरको घोचपेच हुने गर्थ्यो ।
तर २०७४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादबीच अस्वाभाविक मिलन देखियो । एमालेसँग प्रचण्डले चुनावी गठबन्धन गरे । गठबन्धन बनाएर चुनाव लड्दा एमालेले १२१ सीट जित्दा माओवादी ५३ सीटमा पुग्यो । कांग्रेस भने ६३ सीटमा सीमित हुन पुग्यो । त्यसपछि झण्डै दुईतिहाइ मतसहित एमाले अध्यक्ष केपी ओली शक्तिशाली प्रधानमन्त्री बन्न पुगे । २०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भयो । पार्टी एकता भएपछि केन्द्र र ६ वटा प्रदेश सरकारमा एकल बहुमत पुग्यो । ओली पहिलो अध्यक्ष र प्रचण्ड दोस्रो अध्यक्ष भए ।
एमालेसँग पार्टी एकता भएपछि प्रचण्डले जनयुद्ध दिवस मनाउन समेत छाडे । माओवादी विचारधारालाई समेत लत्याइदिए । तर नेकपाको आन्तरिक संघर्षले संसद् विघटन, एमाले र माओवादी ब्युँतिने परिस्थिति, अनि कांग्रेस र माओवादीको समीकरण बन्नेसम्मको अवस्था आयो । त्यसपछिको झण्डै डेढ वर्ष यी दुई शक्ति दुई ध्रुवमा पुगे । नेताहरूबीच सार्वजनिक मञ्चबाटै घोचपेच भयो ।
पुस १० गते बालकोटस्थित ओली निवासको बार्दलीबाट ओली र प्रचण्डले संयुक्त अभिवादन गर्दै अर्को सहकार्य थालनी गरेका थिए तर त्यो टिकेन। माओवादीसँग सम्बन्ध विगार्दा एमाले सत्ता वाहिर परेको पर्यै छ। त्यसैकारण पनि ओलीले फेरि नेकपाको कुरा गरेका हुनसक्छन् ।