शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री – Janadesh Daily | ePaper

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताउनुभएको छ । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो । उहाँले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’

उहाँले दिवंगत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताउनुभयो । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्रीले भन्नुभयो, ‘शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ । यसका प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’

उहाँले अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँको जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्यौं, जनताको अवस्था बदल्न सकेनौं त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’

उहाँले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको बताउँदै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले बिरामी भएर अस्पतालमा मृत्युसँग जुधिराहेका बेला कोइरालाले आफूलाई एक्लै बोलाएर देशको जिम्मा लगाएको स्मरण पनि गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्