जनादेश वाच।
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अर्थमन्त्रीले बजेटमा विभेद गरेको, पार्टीका भ्रातृ संस्थाहरुलाई भागबण्डा गर्ने थलो बनाएको र पार्टी रुपान्तरण कसरी गर्ने स्पष्ट खाका नभई अभियान सञ्चालन गरेको भन्दै प्रश्न गरेका छन्।
बिहीबार पार्टी मुख्यालय सानेपामा भएको भेलामा ६० जिल्लाका सभापतिहरु सहभागी भएको बताइएको छ। ४२ जिल्ला सभापति भौतिक रुपमा सहभागी भए भने १८ जिल्लाका सभापति जुममार्फत बैठकमा सहभागी भएका थिए।
पार्टीको १४ औं महाधिवेशनपछि र केन्द्रीय कार्यसमिति बैठकसमेत बस्न नसकेको एक वर्षपछि जिल्ला सभापतिहरुको भेलामा बोलाइएको हो। भेलामा सहभागी जिल्ला सभापतिहरुले सरकार र पार्टीबीचको तालमेलको विषय, केन्द्र र प्रदेश सरकारको बजेट बाँडफाँट, भ्रातृ संस्थाका तदर्थ समिति विस्तार र पार्टी रुपान्तरणका नाममा पार्टीभित्रै विभाजन सिर्जना हुने परिस्थितिबारे प्रश्न गरेका थिए।
भेलालाई सम्बोधन गर्दै रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले रुपान्तरण अभियान भन्दै केही मानिस जिल्ला-जिल्ला गइरहेको सुनिएकोले रुपान्तरण गर्नुपर्ने के हो? भन्दै प्रश्न गरेका थिए। उनले भने, ‘केही साथीहरु पार्टी रुपान्तरण भन्दै जिल्ला-जिल्ला गइरहेको देखिन्छ। पार्टीमा रुपान्तरण गर्नुपर्ने के हो? पार्टी रुपान्तरण गर्ने भए केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने होला नि!’
उनले तरूण दल विस्तारका विषयमा पनि प्रश्न गरेका छन्। जिल्ला सभापतिसँग समन्वय नै नगरी रूखमा भोट नहाल्नेलाई पनि तरूण दलमा सदस्य राखेको भन्दै उनले आपत्ति जनाएका छन्। उनले थपे, ‘चुनाव लड्ने बेला टिकटमा नेताहरूबीच भागबन्डा गर्ने, भ्रातृ संस्था विस्तार गर्दा भागबन्डा गर्ने? किन चाहियो भ्रातृ संस्थाहरू? किन नियमित अधिवेशन गरिएका छैनन्? यसरी पार्टी चल्छ? यो प्रवृत्तिले २०८४ को चुनावमा कांग्रेसलाई धेरै गाह्रो पर्छ।’
उनले पहुँच भएका व्यक्तिहरुले आ-आफ्नो जिल्लामा बजेट हालेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले थपे, ‘बजेट सबै जिल्लामा पठाउनुपर्छ। जो अर्थमन्त्री भयो उसैको क्षेत्रमा मात्रै केन्द्रित गर्ने होइन। बजेट विनियोजन गर्नुअघि नै संसद्मा छलफल हुनुपर्ने हो, बजेट विनियोजनपछि छलफलको अर्थ छैन, यो नीति नै सच्याउनुपर्छ।’
त्यसैगरी बाजुराका जिल्ला सभापति रामसिंह रावलले पनि बजेटको सन्तुलित वितरण नभएको भन्दै प्रश्न गरेका छन्। उनले भने, ‘बजेट केही ठाउँ केन्द्रित भयो भन्ने गुनासा छन्। दुर्गम क्षेत्रमा झन् प्राथमिकताका साथ सरकारले बजेट विनियोजन गर्नुपर्थ्यो तर त्यसो हुन सकेन।’
मोरङका सभापति तथा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले पनि संघ सरकार र प्रदेश सरकारहरूले ल्याएका बजेटले सबै क्षेत्र समेट्न नसकेको भन्दै आपत्ति जनाए। उनले भने, ‘गुट नमिलेका आधारमा अर्थमन्त्रीले बजेट दिनुभएन। संघ सरकार र प्रदेश सरकारका मन्त्रालयहरू र मन्त्रीहरू तथा कार्यक्रमबीच आपसी समन्वयको अभाव देखिन्छ।’
धादिङका सभापति रामनाथ अधिकारीले आफ्नै पार्टीको अर्थमन्त्री हुँदा पनि बजेट नपाएको गुनासो गरे। उनले भने, ‘हाम्रो पार्टी सरकारमा छ। हाम्रै नेता अर्थमन्त्री हुनुहुन्छ। तैपनि बजेटले धादिङलाई समेट्न सकेको छैन। म त जिल्ला जान सक्ने अवस्था छैन, जनताका गुनासै गुनासा छन्। ९० किलोमिटर दूरीको बाटोका लागि अर्थमन्त्रीले ५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिनुभएको छ, अनि कसरी जाने धादिङ?’
संखुवासभाका सभापति दीपक खड्काले बजेट सबै क्षेत्र समेटेर नपठाएकोमा गुनासो गरे। उनले कोशीका विभिन्न ठाउँमा बाढीपहिरोले जनता समस्यामा परेको समयमा सरकारले बाढीपीडितलाई राहत दिन नसकेको गुनासो गरे। उनले भने, ‘पार्टी र सरकारबीच नै समन्वय अभाव देखिएको छ। जसले सही परिणाम ल्याउँदैन।’
उनले रुपान्तरणका कुरा सुनिएको भए पनि गुट रुपान्तरण अभियानजस्तो देखिएको भन्दै प्रश्न गरे। उनले थपे, ‘केही समयदेखि रुपान्तरणका कुरा सुनिएका छन्। पार्टी रुपान्तरण हो कि गुट रुपान्तरणको कुरा भएको हो? यसमा महामन्त्रीहरूले पनि प्रष्ट पार्नुपर्छ।’
अर्घाखाँचीका सभापति केशव श्रेष्ठले मन्त्री भेट्नै समस्या भएको गुनासो गरे। उनले थपे, ‘हामीसँग जनताले गुनासा गरेका हुन्छन्, ती विषय मन्त्रीलाई भेटेर सम्बोधन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर भेट हुँदैन। मन्त्रीले भेट नै नदिने हो भने जनताका गुनासा कसरी सरकारसम्म पुर्याउने त?’
दोलखाका सभापति बर्मा लामाले पार्टीबाट टिकट लिएर निर्वाचित भएकाहरू पार्टीसँग निरन्तर सम्पर्कमा नभएको बताए। केन्द्रमा नेताहरूले गुटबन्दी गर्दा त्यसको असर जिल्लामा पनि पर्ने बताएका छन्। उनले थपे, ‘कांग्रेसमा आकर्षण घट्दो छ। गुट समातेर नेताहरू जिल्ला दौडिन भएन। चुनावमा अन्तर्घात गर्नेमाथि पार्टीले अनुशासन कारबाही नै गरेन। त्यसैकारण मैले अन्तर्घात गर्ने नेता/कार्यकर्ताको नाम केन्द्रलाई सिफारिस नै गरिनँ, दोलखामै माफी दिएँ।’
सुनसरीका सभापति केदार भण्डारीले पार्टी विधि, विधानअनुसार चल्न नसकेन गुनासो गरे। उनले थपे, ‘जनताले पनि कांग्रेस राम्रो भएको हेर्न चाहन्छन् तर त्यो मर्मअनुसार पार्टी अघि बढेको छैन। सामाजिक सञ्जालहरूमा कांग्रेसमाथि तीव्र आलोचना गरेको देखिन्छ। चुनावदेखि चुनावसम्म मात्रै हामीले ध्यान दिन छाडेर जनमुखी काम गर्नुपर्छ, जनताको सेवा गरेपछि कसैसँग कांग्रेस डराउनुपर्दैन।’
पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासँगको सल्लाहका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन्। भेलामा उठेका सबै प्रश्नहरुको महामन्त्रीद्वयले जवाफ दिने भएका छन्। पार्टीले अनलाइन माध्यमबाट साधारण सदस्यता र क्रियाशील सदस्यता वितरण गर्न लागेकोले यसबारे कसरी जाने भन्ने विषयमा पनि भेलामा छलफल हुने बताइएको छ। एक दिनका लागि बोलाइएको भेलामा जिल्ला सभापतिहरुको बोल्ने क्रम नसकिएका कारण शुक्रबार पनि जारी रहने भएको छ।