कूटनीतिक सन्तुलनमा माहिर प्रचण्डः यसरी राख्दैछन् दुई छिमेकीसँग सन्तुलनको सम्बन्ध – Janadesh Daily | ePaper

कूटनीतिक सन्तुलनमा माहिर प्रचण्डः यसरी राख्दैछन् दुई छिमेकीसँग सन्तुलनको सम्बन्ध


जनादेश वाच।

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको गृहकार्य थालेको छ। तेस्रो पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएपछि गत जेठमा पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री प्रचण्डले चीन यात्राको तयारी थालेका हुन्।

यसअघि चिनियाँ राजदूत छन सोङले फागुन १० मा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चैत १४–१७ मा हेनान प्रान्तमा भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन निम्ता गरेका थिए। तर प्रचण्ड त्यसमा सहभागी हुन गएनन्। उनी चीन भ्रमणको बेवास्ता गर्दै भारत भ्रमणमा गएपछि बेइजिङले सार्वजनिक रुपमा नबोले पनि आन्तरिक रुपमा असन्तुष्टि जनाएको थियो।

आफू भारत जाने क्रममा ‘असन्तुष्ट’ बनेको चीनलाई फकाउन पूर्वसभामुख अग्‍नि सापकोटा नेतृत्वको टोलीलाई चीन पठाएका थिए प्रचण्डले। भारतबाट फर्किएसँगै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको चाँजोपाँजो मिलाउन थालेका हुन्। यसै क्रममा आफ्नो चीन भ्रमणको वातावरण मिलाउन दाहालले हालै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन पठाएका थिए।

प्रधानमन्त्री प्रचण्डले चीनले आयोजना गर्ने १० औं बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनभन्दा अगाडि नै भ्रमण गर्न चाहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्री ही लिफङसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे पनि कुराकानी गरेको स्रोतको दाबी छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको भ्रमण छिट्टै हुने बताएका छन्। यसअघि परराष्ट्रमन्त्री एनपी साउदले सेप्टेम्बरभित्रै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण हुने बताएका थिए।

आफ्नो चीन भ्रमणको तयारी गरिरहँदा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोलीलाई भारत पठाउन लागेका छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा असार अन्तिममा माओवादी उपाध्यक्ष भुसाल नेतृत्वको टोली भारत जाने भएको हो। माओवादी नेताहरुको यो टोलीलाई भाजपा अध्यक्ष जेपी नड्डाले आफ्नो मुख्यालयमा स्वागत गर्ने बताइएको छ।

चीनले विगतमा नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतामा खुसी व्यक्त गरेको विषयलाई नोट गरेका प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणअघि वामपन्थी शक्तिहरु एक ठाउँमा आएको सन्देश दिन ‘समाजवादी मोर्चा’ समेत गठन गरेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको समाजवादी मोर्चा गठन गर्दै अन्य समाजवादी शक्तिलाई एक ठाउँमा ल्याउने अभियान सुरु भइसकेको प्रधानमन्त्री प्रचण्डले बताइरहेका छन्।

यसअघि माओवादी उपाध्यक्ष सापकोटाको चीन भ्रमणका क्रममा पनि चिनियाँ विदेश विभाग प्रमुख लिउ च्यान छाओले ‘कम्युनिस्ट मिल्दा खुसी हुने’ अभिव्यक्ति दिएका थिए। चीनले सकेसम्म ‘कम्युनिस्टबीच एकता हुनुपर्ने’ सुझाव दिएकोले पनि प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय ‘नेकपा एमालेसहितको कम्युनिस्ट एकता हुन सक्ने’ बताएका थिए।

प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ को अगस्टमा भारत भ्रमण नगरीकन बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुन चीन पुगेका थिए। उनले त्यस बेला तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग भेटवार्ता गरेका थिए। त्यतिबेला उनले भारत भ्रमणबाटै विदेश यात्रा सुरु गर्नुपर्ने परम्परा तोडेकाले निरन्तरताको क्रमभंग भएको घोषणा पनि गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्