अविश्वसनीय ओलः कोठाभित्र एउटा कुरा कोठा वाहिर अर्को, यसकारण भाँडियो सहमति – Janadesh Daily | ePaper

अविश्वसनीय ओलः कोठाभित्र एउटा कुरा कोठा वाहिर अर्को, यसकारण भाँडियो सहमति


जनादेश वाच।

प्रतिनिधिसभाको बैठक आइतबार पनि सञ्चालन भएन । सुरुमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । पछि बैठकको समय सारेर दिउँसो ३ बजेलाई तय गरिए पनि बस्न सकेन। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कारण बैठक बस्न नसकेको सत्तारुढ नेताहरूले बताएका छन् । प्रतिनिधिसभा बैठक गएको बुधबारदेखि सञ्चालन हुन सकेको छैन । आइतबार बैठकै नबसी सूचना टाँसेर सोमबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरियो ।

संसद् बैठक सञ्चालनका लागि आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गरिएको छलफलमा उनीहरूबीच समझदारी भएको बताइएको थियो । सहमतिमा पुग्न भन्दै दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक ३ बजेसम्मका लागि सार्न प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोनमार्फत आग्रह गरेका थिए ।

नेताहरूका अनुसार सिंहदरबारमा शीर्ष तीन नेता संसद् बैठक सञ्चालन गर्ने ‘समझदारी’सहित उठेका थिए । बैठकबाट बाहिरिने क्रममा ओलीलाई ‘छलफलको विषय के भयो ?’ भनेर सोधिएको प्रश्नमा ‘पछि हेर्नू’ भन्ने जवाफ दिएका थिए । उनीहरूबीच प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने, आफ्नो अभिव्यक्तिको विषयमा स्पष्ट पार्ने र बैठक सञ्चालनमा बाधा नगर्ने ‘सहमति’ भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको भनाइ छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले पनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने बताएका थिए । ‘एमाले आफ्नो अडानबाट पछि हटेको हो ?’ भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीको जवाफ सुन्ने र चित्तबुझ्दो नभए संसद् बैठक अघि बढ्न नदिने बताएका थिए । उनले प्रधानमन्त्री प्रचण्डले रोस्ट्रममा उभिएर गल्ती स्वीकार गरेर माफी मागे मात्र बैठक अघि बढ्ने प्रतिक्रिया दिएका थिए । “आज पनि हामी राजीनामा माग गरेरै सदनमा प्रस्तुत हुन्छौँ । प्रधानमन्त्रीले सदनमा आफ्नो विषय राख्नुहुन्छ, त्यो विचार स्वीकार्य हुन सके मात्र सदन अघि बढ्न हामी सहमत हुन्छौँ,” गिरीले भनेका थिए ।

त्यसपछि सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरे । संसद् भवन नयाँ बानेश्वरमा सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफलकै बीच सभामुख घिमिरेलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेका थिए । प्रधानमन्त्रीले बैठक भोलिसम्मलाई स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

अविश्वसनीय एमाले, अविश्वासनीय ओली
प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर सदन अवरोध गरिरहेको एमालेले समझदारीपछि पनि किन बैठक चल्न दिएन भन्ने प्रश्न चौतर्फी उठेको छ । कांग्रेसका प्रमुख सचेतक लेखक एमालेकै कारण समस्या सिर्जना भएको जिकिर गर्छन् । “पहिला एमालेले प्रधानमन्त्रीको जवाफ सुन्ने, हाउस सुचारु गर्ने भन्ने शीर्ष नेताहरूमा सहमति गरेर निस्कियो । पछि उहाँहरूले पहिला जवाफ सुनौँ, त्यसपछि उहाँको जवाफ चित्त बुझ्छ कि बुझ्दैन हेर्छौँ भन्नुभयो,” लेखकले भने, “उधारो सहमति गरेपछि त्यो कसरी लागु हुन्छ र ? त्यसकारण बैठक बस्न सकेन ।”

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे पनि ओलीकै कारण बैठक बस्न नसकेको जिकिर गर्छन् । “सहमति भयो भनेर हामी सदन पुगेका थियौँ । बैठकबाट निस्केपछि फेरि प्रधानमन्त्रीलाई फोन गरेर सहमति भएको छैन, हाम्रो तर्फबाट कुरा मिलेको छैन भनेर उहाँले प्रधानमन्त्रीलाई भन्नुभयो,” पाण्डेले भने, “सदन खुल्ने भनेपछि बैठक बस्न खोजिएको हो । तर, खुल्ने/चल्ने अवस्था नरहेपछि किन चलाउनु भनेर भोलिसम्म रोकियो ।”

सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादव पनि एमालेकै दोहोरो चरित्रका कारण बैठक चल्न नसकेको बताउँछन् । “सहमति गरेर जानुभयो, अनि फेरि चित्त बुझेन भनेर बैठक सार्न लगाउनुभयो,” यादवले भने ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य सिंहदरबारमा शीर्ष तीन नेताबीच सहमति भएको बताउँछन् । “तीन नेताबीच प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन चल्ने सहमति भएको हो । तर, बैठक किन चलेन त्योचाहिँ दलका नेताहरूलाई नै थाहा होला,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गरिरहेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको बताएका थिए । सो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको भन्दै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गरिरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्