किन विग्रियो प्रचण्ड-बाबुराम सम्बन्ध, यस्तो छ बाबुरामले सञ्जालबाट दिएको सन्देश – Janadesh Daily | ePaper

किन विग्रियो प्रचण्ड-बाबुराम सम्बन्ध, यस्तो छ बाबुरामले सञ्जालबाट दिएको सन्देश


जनादेश वाच।
जनयुद्धको प्रारम्भताका प्रचण्डभन्दा बाबुराम जनस्तरमा धेरै चिनिएका र लोकप्रिय थिए । कारण थियो, प्रचण्ड भूमिगत राजनीतिमा थिए भने बाबुराम खुल्ला । प्रचण्ड भूमिगत नेकपा (माओवादी) का महामन्त्री थिए भने बाबुराम त्यसको खुल्ला मोर्चा संयुक्त जनमोर्चा नेपालका अध्यक्ष ।

एउटै आन्दोलनमा भएर पनि यी दुई नेताबीच व्यक्तित्व, लोकप्रियता र वर्चश्वको संघर्ष थियो । यो संघर्ष कहिले प्रखर र कहिले सुषुप्त हुने गर्दथ्यो । अहिले फेरि प्रधानमन्त्री प्रचण्ड र डा. बाबुराम भट्टराईबीचको सम्बन्धमा खटपट आएको छ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीचको सम्बन्धमा खटपट उत्पन्न भएको हो ।

समाजवादी मोर्चाको अवधारणा ल्याएका डा. भट्टराईलाई नसमेटेरै प्रधानमन्त्री प्रचण्डले अन्तिममा मोर्चा घोषणा गरेका थिए । त्यही मोर्चा घोषणा भएपछि प्रचण्डसँग भट्टराई चिढिएका छन् । मोर्चा घोषणा भएको २० दिनपछि शनिबार (हिजो) नेकपा एसको कार्यालय आलोकनगरमा पहिलो बैठक बसेकै दिन शनिबार राति डा. भट्टराईले ट्‌विट गर्दै आफूसँग परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित् ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा भएको बताएका छन् ।

‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरुचि/अनिच्छा र खाली तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफलस्वरुप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित् ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो,’ ट्‌विट गर्दै भट्टराईले भनेका छन्, ‘नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाई गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन । किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो ।’

भट्टराईको यस्तो अभिव्यक्तिबाटै भट्टराई र प्रचण्डको सम्बन्धमा दरार उत्पन्न भएको प्रस्ट हुन्छ । प्रचण्ड र भट्टराईबीच समाजवादी मोर्चा बनाएर पार्टीको ध्रुवीकरण गरेर जाने सहमति भएको थियो । तर, त्यो सहमतिविपरीत प्रचण्डले भट्‌टराईलाई अन्तिममा मोर्चामा सहभागी गराएनन् । समाजवादी मोर्चा ४ असारमा घोषणा भएपछि प्रचण्ड र बाबुरामको सम्बन्ध बिग्रिएको नेसपाका केन्द्रीय सदस्य ईश्वर रिजालले बताए ।

त्यसपछि ३ असारमा समाजवादी मोर्चा घोषणाका लागि बालुवाटारमा चार दलको बैठक बस्यो । तर, उक्त बैठकमा भट्टराईलाई भने बोलाइएन । उक्त बैठकले नै समाजवादी मोर्चाको मोडालिटी, आगामी रणनीति र घोषणापत्रलाई अन्तिम रूप दिएको थियो । तर, मोर्चामा रहने अन्य तीन दलका नेताहरूसँग छलफल गरेर भन्छु भनेका प्रचण्डले भट्टराईलाई खबर नै गरेनन् र थाहा नै नदिएर मोर्चाको अवधारणापत्र, मोडालिटीका बारेमा निर्णय बैठकबाट गराए ।

प्रचण्डले सत्ताको अंकगणित मात्र हेरेर मोर्चा घोषणा गरेको नेसपाका नेताहरूको बुझाइ छ । तर, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भने मोर्चामा नेसपाबाहिर रहनुमा जसपा अध्यक्ष उपेन्द्र यादव र भट्टराईको बिग्रिँदो सम्बन्धले काम गरेको बताउँछन् ।

‘जसपाबाट छुट्टिएर बाबुरामजीले नेसपा गठन गर्नुभयो । उपेन्द्रजी र बाबुरामजीको सम्बन्धले गर्दा समाजवादी मोर्चामा सहभागी नेसपालाई अटाउन सकिएन,’ जनादेशलाई महराले भने, ‘हामीले बाबुरामसहितको समाजवादी मोर्चा बनाउने प्रयास गरेका थियौँ । तर, अन्तिममा सकेनौँ ।’

समाजवादी मोर्चा घोषणा हुँदाका दिन ४ असारको बिहान भट्टराईले प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्ल र स्वकीय सचिव गंगा दाहाललाई फोन गरेका थिए । तर, मल्ल र गंगा दुवैले प्रधानमन्त्री प्रचण्ड व्यस्त भएकाले पछि कुरा गराउँछु भन्दै टारेको नेसपाका एक नेता बताउँछन् । तर, पछि पनि प्रचण्डसँग भट्टराईको कुरा नभएको र त्यही दिन साँझ भट्टराईबिनाको समाजवादी मोर्चा घोषणा भएको थियो ।

समाजवादी मोर्चा घोषणा भएको भोलिपल्ट ५ असारमा प्रधानमन्त्री प्रचण्डले भट्टराईलाई फोन गरेका थिए । तर, फोनमा भट्टराई प्रचण्डसँग राम्रोसँग नबोलेको नेसपाका एक नेता बताउँछन् । ‘मोर्चा घोषणा भएको दोस्रो दिन प्रचण्डले डाक्टर सापलाई फोन गर्नुभएको थियो । फोनमा उपेन्द्रजीले तपाईंलाई मोर्चामा सहभागी गराउन मान्नुभएन । अब पार्टी एकता गरेर जाऊ भन्नुभएछ । तर, बाबुरामजी त्यो कुरा स्वीकार गर्नुभएन,’ ती नेताले भने ।

नेसपाका सांसद तथा सांसद महिन्द्रराय यादवले प्रचण्ड र भट्टराईलाई भेट गराउन चाहेका थिए । तर, भट्टराईले प्रचण्डसँग भेट्न नमानेको ती नेताले बताए । आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोडेर समाजवादी मोर्चा हुँदै पार्टी एकता गर्न सहमत भएका भट्टराईको प्रधानमन्त्री प्रचण्डसँग बोलचाल नभएको ती नेता बताउँछन् ।

एमाले, रास्वपा र राप्रपाको समर्थनमा प्रधानमन्त्री भए पनि पछि कांग्रेस, जसपा र एकीकृत समाजवादीसँग नयाँ सत्ता गठबन्धन बनाएका प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेका थिए । राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति भएदेखि नै प्रधानमन्त्री प्रचण्ड र बाबुरामबीचको सम्बन्धमा दरार आउन थालेको बाबुरामनिकट स्रोत बताउँछ ।

प्रचण्डसँगको सम्बन्धमा खटपट आएकै कारण भट्टराईले नयाँ शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् । शनिबार राति ट्वीट गर्दै बाबुरामले भनेका छन्, ‘नयाँ युग र देशको आवश्यकताअनुरुप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै बृहत् नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौँ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्