जनमत पार्टीलाई सरकारमा भित्र्याउँदै प्रचण्डः जनार्दन र वर्षमान पनि सरकारमा जाँदै हो ! – Janadesh Daily | ePaper

जनमत पार्टीलाई सरकारमा भित्र्याउँदै प्रचण्डः जनार्दन र वर्षमान पनि सरकारमा जाँदै हो !


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी पुनः सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा जनमतले प्रतिनिधिसभा सदस्य अनिता देवीलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।

‘हामीलाई नाम पठाउनुस् भन्नुभएको थियो, आज अनिता देवीजीको नाम पठाएको छु, कुन मन्त्रालय भन्ने प्रधानमन्त्रीले मिलाउनु हुन्छ,’ जनमतका अध्यक्ष सीके राउतले भने ।

आज मंगलबार बिहान प्रधानमन्त्री र अध्यक्ष राउतबीच बालुवाटारमा भेटवार्ता भएको थियो । यसअघि जनमतले दाहाल सरकारमा अब्दुल खानलाई मन्त्री बनाएको थियो । पछि कुरा नमिल्दा जनमतले सरकार छाडेको थियो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार मन्त्री रेखा शर्माले जनमत पार्टी सरकारमा सहभागी हुने बताएकी थिइन् । पत्रकारसँग कुरा गर्दै उनले केही दिनमै जनमत सरकारमा जाने गरी सकारात्मक छलफल भएको बताएकी हुन् ।

जनमत पार्टी सरकारमा सहभागी हुने भएसँगै नेकपा माओवादी केन्द्रको एक मन्त्रालय घट्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले पर्यटन मन्त्री सुदन किराती वा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री धरापमा पर्ने संकेत देखिएको छ ।

यसका साथै प्रधानमन्त्री प्रचण्डले केही मन्त्रीसमेत हेरफेर गर्ने चर्चा छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरू केहीलाई फिर्ता बोलाएर नयाँलाई पठाउनेबारे समेत छलफल भइरहेको छ । पठाउँदा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई पठाउन सकिने स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्डनिकट स्रोत भन्छ, “पार्टीबाट बनेका केही मन्त्रीहरूले सन्तोषजनक काम नगरेको प्रधानमन्त्रीजीको गुनासो छ । सम्भवत: जिम्मेवारी हेरफेर हुनसक्छ ।”

यस्तो अवस्थामा को जान्छ सरकारमा ? भन्ने प्रश्नमा स्रोत भन्छ, “निर्णय होला पार्टीमा । तर, उपमहासचिवहरूबाट सरकारमा सहभागी गराउने काम हुनसक्छ ।” त्यसो त चुनावअघिको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जनार्दन शर्मा मन्त्री थिए । यसकारण पनि अहिले जिम्मेवारी हेरफेर हुँदा वर्षमान पुनको बढी सम्भावना रहेको बताइन्छ ।

हुन त प्रधानमन्त्री प्रचण्डले पुनलाई यसअघि नै मन्त्री बनाउन खोजेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी ‍(रास्वपा) का सभापति उपप्रधानमन्त्री हुने भएपछि उनी आफैँले मन्त्री नहुने बताएका थिए । तर, अहिले भने उनले सरकारमा सहभागी हुने आकांक्षा देखाइरहेको बताइन्छ ।

तर, पुनका स्वकीय सचिव सन्तोष पुन भने यो चर्चा मान्न तयार छैनन् । “त्यसबारे केही त्यस्तो आएको छैन,” उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनैपर्छ भनेको खण्डमा भने सोच्ने उनले बताएका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्