जनादेश वाच।
पिएसपी’का कारण ६९ वर्षको उमेरमा बुधबार देहत्याग गरेकी सीताको राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल आफैं पार्टी र सरकारसँग प्रत्यक्ष जोडिइनन्। तर प्रचण्डले राजनीतिमा प्राप्त गरेको सफलताका लागि ठूलो जस सीतालाई जाने उक्त पार्टीका नेताहरु बताउँछन्। माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि पुगेका नेता-कार्यकर्ताहरु पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीता नै रहेको बताउँदै थिए। ‘
त्यअसघि श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय राखिएको थियो। पूर्व प्रधानमन्त्रीहरु, विभिन्न अन्य पार्टीका नेता, शुभेच्छुक, आफन्तका साथै पार्टीका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए।
श्रद्धाञ्जलीका लागि त्यहाँ पुग्नेहरुले नेकपा माओवादी, जनयुद्ध र शान्तिकालमा प्रचण्डले प्राप्त गरेका सफलतामा उनले खेलेको भूमिका स्मरण गरे।
अनुहार पढ्न सक्ने दख्खल
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका हरिबोल गजुरेलले सीता सामान्य महिला नभएर ऐतिहासिक जनआन्दोलनकी अग्रणी व्यक्तित्व रहेको बताए। प्रचण्डलाई भेट्न पुग्ने अनुहार पढ्न सक्ने विशेष क्षमता उनीमा रहेको उनले बताए। उनी स्मरण गर्दै थिए, ‘कुन मान्छे आएर भेट्दा कसरी कुरा गर्योत। भित्रैबाट कुरा गर्योै कि बनावटी कुरा गर्यो, उहाँले अनुहारबाट प्रष्ट छुट्याउनुहुन्थ्यो र सोही अनुसार सुझाव दिनुहुन्थ्यो।’
धेरै पटक अनुहारबाट मान्छे नियत पहिल्याएर प्रचण्डलाई सजक गराएको गजुरेल बताउँछन्। पार्टीको प्रत्यक्ष भूमिकामा नभए पनि संकट आउँदा त्यससँग जुध्न अघि सर्ने गरेको सम्झिए। ‘एकतावद्ध गर्नको निम्ति पनि उहाँले नेताहरुसँग पटक-पटक छलफल परामर्श समेत गराउनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको छ।’
पछिल्लो समय सल्लाहकारको भूमिकामा रहेकी उनी प्रचण्डकी श्रीमती नभएर साथी जस्तो रहेको उनले बताए। माओवादी नेतृ कल्पना धमलाले सीता दाहाल सिंगो पार्टीको अभिभावक भएको बताइन्। उनले भनिन्, ‘उहाँ हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार हो। र, उहाँ हाम्रो पार्टीको अभिभावक पनि हो। उहाँको निधले सिंगो पार्टी मर्माहत बनेको छ।’
पार्टी आन्दोलन र संगठन निर्माण, नेता-कार्यकर्ताको संरक्षणको क्रममा उनले गर्ने निर्णय अत्यन्तै न्यायिक रहेको उनको बुझाइ छ। आन्तरिक पार्टी जीवनमा उनको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै अन्तरसंघर्षको बेलामा उनको महत्व अझ धेरै हुने उल्लेख गरिन्।
माओवादी पार्टीकै आमा
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले माओवादी क्रान्ति र पार्टीकै ‘आमा’ भएको बताए। उनले भने, ‘माओवादी क्रान्ति र माओवादी पार्टीको आमा हो। एउटा क्रान्तिकारी अग्रणी नेता हो।’
आफूलाई पद र शक्ति भन्दा परै राखेर पार्टी र पार्टीले लिएका नीतिहरुका लागि सक्रिय भएको उल्लेख गरे। ‘कुनै प्रकारको स्वार्थलाई केन्द्रमा नराखी पार्टी र क्रान्तिको लागि निरन्तर लागेर लडेर संगठन निर्माण गरेर आएको व्यक्ति हो। मेरो बहिनी हो,’ उनले श्रद्धाञ्जली दिँदै भने। असल, इमानदार र क्रान्तिकारी ‘आमा’लाई गुमाउँदा आफूहरु मर्माहत रहेको बताए।
उनले सशस्त्र द्वनद्वका क्रममा वर्ग संघर्ष र अन्तर संघर्षलाई सन्तुलित तरिकाले अघि बढाएर लैजाने काम सीताले गरेको उनले स्मरण गरे।
प्रचण्ड निर्माणकर्ता
पूर्वमन्त्री एवं वामपन्थी नेतृ शशी श्रेष्ठले उनको कुसल व्यवस्थापकीय क्षमताको प्रशंसा गरिन्। पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि पुगेकी उनले भनिन्, ‘उहाँ कुशल व्यवस्थापक, घर परिवारलाई राम्रोसँग सम्हाल्ने सक्ने र हरेक दु:खलाई अंगिकार गर्न सक्ने साहसिक महिला हो।’
पार्टी, क्रान्ति, देश र जनताको लागि अध्यक्ष प्रचण्डलाई अघि बढाउने बल दिने साहसी महिलाका रुपमा आफूले स्मरण गरिरहेको श्रेष्ठले बताइन्।
उनीसँग आफ्नो लामो सहकार्य रहेको स्मरण गरिन्। २०४८ सालदेखि आफू निकट रहेको उल्लेख गरिन्। भूमिगतकालमा ओल्लो-पल्लो घरमा रहेर काम गरेको सम्झिइन्। प्रचण्ड सफल हुनुको पछाडि सीताले खेलेको भूमिका आफूले नजिकबाट नियालेको उल्लेख गरिन्। उनले थपिन्, ‘सम्मानीय प्रधानमन्त्री एवं पार्टी अध्यक्षज्यू ‘प्रचण्ड’ हुनुमा उहाँको महत्वपूर्ण भूमिका छ। उहाँले सबै घर-व्यवहार र परिवारका साथै उहाँ सँगसँगै नहिँडेको भए आज प्रचण्ड, प्रचण्ड हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो।’
उता, समाजवादी मोर्चा नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको निधनप्रति स्तब्ध रहेको जनाएको छ। बुधबार साँझ एक शोक वक्तव्य जारी गर्दै मोर्चाले उनीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
‘कमरेड सीता कम्युनिष्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो। उहाँ सधैं कर्तव्यनिष्ठ र वर्गपक्षधर रहनुभयो’, वक्तव्यमा भनिएको छ, ‘राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलितरूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो।’
दिवङ्गत सीताले नेपाली कम्युनिष्ट आन्दोलन मात्र नभई आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पुर्याएको स्मरण गर्दै मोर्चाले उनको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्यांकन गर्ने जनाएको छ।