आजदेखि काठमाडौंमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध – Janadesh Daily | ePaper

आजदेखि काठमाडौंमा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध


जनादेश अपडेट।

काठमाडौ‌ महानगरपालिकाले आजदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ। कामपाले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

कामपाको प्रमुख बालेन्द्र साहले गत असार ६ गते चालु आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने नीति लिने बताएका थिए।

त्यसका लागि कामपाले प्रचारप्रसार गर्ने र नागरिकहरूलाई ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोग नगर्न आग्रहसमेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

आगामी आवका लागि जम्मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको कामपाले फोहरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित कार्यक्रमका लागि भने रु ८७ करोड ९३ लाख रकम विनियोजन गरेको छ।

सफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं उपकरण थप गर्नका लागि रु २७ करोड रकम छुट्याएको छ। त्यसैगरी कामपा क्षेत्रभित्रका नदीहरूको सरसफाइ र संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाका रूपमा सञ्चालन गर्न रु सात करोड विनियोजन गरेको छ।

कामपा क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषणलगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ। सवारी साधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्कासन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारी पनि कामपाले गरेको छ।

कामपा भित्रका नदीनालाहरूको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रुपमा सञ्चालन पनि कामपाले जनाएको छ।

यसका लागि आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनाका साथै वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने बताइएको छ।

यसै वर्षदेखि वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने कामपाले जनाएको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्