जनादेश वाच।
देशको सबैभन्दा ठूलो, चुस्त र व्यवस्थित भनिएको दल नेकपा (एमाले) को संगठित सदस्य संख्या उल्लेखनीय ह्रास हुने देखिएको छ । पार्टीको आन्तरिक व्यवस्थापन नियमावली अनुसार वर्षको अन्तिम महिना चैत्रभित्र संगठित सदस्यता नवीकरण भइसक्नुपर्ने थियो । तर, २०७९ सालको नवीकरणको अन्तिम अभिलेख पार्टीले अझै अद्यावधिक गर्न सकेको छैन।
२०८० साल आषाढ मसान्तभित्र समेत उल्लेखनीय नवीकरण नभएपछि सचिवालयको बैठकले थप १५ दिन म्याद बढाएर श्रावण १५ गतेसम्म पुर्याएको छ । तर, एक एमाले केन्द्रीय सदस्यका अनुसार थपिएको १५ दिनभित्र पनि उल्लेखनीय नवीकरण हुने सम्भावना न्यून छ । उनी भन्छन्–‘मान्छेमा विश्वास र उत्साह नै छैन, म्याद थपेर मात्र के हुन्छ ?’
एमालेको १० औं महाधिवेशन २०७८ मंसिरमा चितवनको सौराहमा भएको थियो । महाधिवेशनको बेला पार्टी सदस्यता करिब ८ लाख पुगेको बताइएको थियो भने महाधिवेशन उद्घाटन समारोहमा निकै ठूलो भीड देखिएको थियो । तर, महाधिवेशन पछिका दिनमा भने एमाले ओरालो लागेको देखियो ।
चितवनमा त्यति ठूलो शक्ति प्रदर्शनका बाबजुद स्वयं चितवनका ३ वटै संघीय निर्वाचन क्षेत्रमा एमाले पराजित भयो । राष्ट्रिय राजनीतिमा एमालेको समानुपातिक मत अघिल्लो निर्वाचनको करिब ३३ प्रतिशतबाट घटेर २७ प्रतिशतमा आइपुग्यो । प्रत्यक्षतर्फ दोस्रो स्थानमा सीमित भयो । गत वर्षको मंसिर ४ को आम निर्वाचनबाट यस वर्ष वैशाख १० को उपनिर्वाचनसम्म आइपुग्दा पार्टीको भोट र सदस्यता दुवै घटेको छ ।
वैशाख १० गतेको उपनिर्वाचनमा चितवनमा एमाले उम्मेदवारले पाएको भोट पार्टी सदस्यको भन्दा कम थियो भने तनहुँमा झण्डै ५७ प्रतिशतले जनमत ह्रास भएको थियो । आषाढ मसान्तसम्म एमाले सदस्यता ३ लाखभन्दा केही बढी मात्र नवीकरण भएको छ । तर, बढाइएको श्रावण १५ को म्यादभित्र पनि ४ लाख भन्दा बढी नवीकरण हुने सम्भावना देखिँदैन । अर्थात् यो वर्ष एमालेको संगठित सदस्यतामा कम्तिमा पनि ५० प्रतिशतको ह्रास आउने छ ।
झट्ट हेर्दा यो निकै ठूलो ह्रास देखिए पनि अस्वाभाविक भने हैन । एमालेको मात्र हैन, यतिखेर सबै पुराना दलको सदस्यता संख्या घट्ने छ । एमालेको सदस्य संख्या घट्नुमा निम्न ५ मुख्य कारण छन् ।
१. कृत्रिम वृद्धि
एमालेले १० औं महाधिवेशन ताका पार्टी सदस्यताको कृत्रिम वृद्धि गरेको थियो । पार्टी विभाजनका बाबजुद पार्टी झनै बलियो भएको, पार्टी सदस्यता बढेको देखाउने केन्द्रको स्वार्थ थियो भने स्थानीय कमिटी र नेताहरूले महाधिवेशनमा प्रतिनिधित्व र प्रभाव बढाउन राजनीतिक रुचि कम भएका समर्थक, आफन्त र नातागोतालाई समेत आफैँ पैसा तिर्दिएर सदस्य बनाएका थिए । यो प्रवृत्तिले महाधिवेशनलाई भव्य बनाउन मद्दत त गर्यो तर पार्टी हचुवा, कमजोर र अव्यवस्थित पनि भयो । पार्टी विभाजन अघि एमालेका सदस्य करिब ५ लाख थिए, विभाजनपछि ४ लाख बढी हुन सम्भव थिएन । तर, कृत्रिम र हचुवा पारामा ८ लाख पुर्याएको हुँदा अहिले नवीकरणका बेला त्यो स्वाभाविक आकारमा फर्किएको पनि हो ।
२. पार्टीं विभाजन
एमालेबाट माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह विभाजित र बर्हिगमित भएको कारणले पनि सदस्य संख्या घट्नु स्वाभाविक हो । अहिले नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग के कति पार्टी सदस्य छन् वा वामदेव गौतम निकट रहेर दुवैतिरको सदस्यता नवीकरण नगराएका के कति छन् भन्ने प्रष्ट तथ्यांक नभए पनि यो विभाजन र विग्रहबाट एमालेलाई करिब १ लाख पार्टी सदस्य नोक्सान भएको हुनसक्ने अनुमान गरिन्छ ।
यी निकै पुराना र भरपर्दा पार्टी सदस्य थिए । एकीकृत समाजवादी पार्टीले उल्लेखनीय मत ल्याउन नसके पनि एमाले नेता, कार्यकर्ता र सदस्यको राम्रै पंक्तिलाई प्रभावित गरेको छ ।
३. नयाँ पार्टीहरूको उदय
यसबीच भएको नयाँ दलको उदयले पनि एमालेलगायत सबै पुराना दलको सदस्य संख्यालाई घटाउने नै भए । विशेषतः ३ नयाँ दल रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टी उदयको कारणले पुराना दलको सदस्य संख्या घट्नु स्वाभाविक छ । २ लाखभन्दा बढीले रास्वपाको सदस्यता लिइसकेका छन् । रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्– पार्टी सदस्यता लिनेमा ६० प्रतिशतभन्दा बढी नेपाली कांग्रेस निकट वा समर्थक छन् । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणका बेला त्यसको प्रभाव देखिन सक्दछ । रास्वपाको सदस्यता लिने मध्ये अनुमानित ३० प्रतिशत कम्युनिस्ट पृष्ठभूमिका छन् भने बाँकी १० प्रतिशत अन्य र नयाँ छन् । जनमत पार्टीले मधेस र नागरिक उन्मुक्ति पार्टीले थारू बहुल क्षेत्रमा एमालेलगायत पुराना पार्टीलाई निकै ठूलो घाटा लगाएको छ । विशेषतः पश्चिमका कैलाली, बर्दिया, दाङ र पूर्वका बारा, पर्सा, सिराहा र सप्तरीमा थारू समुदायका राजनीतिक कार्यकर्ताले उल्लेखनीय संख्यामा पुराना पार्टी परित्याग गरेका छन् ।
४. नयाँ पुस्तामा अनाकर्षण
पुराना दलप्रति नयाँ पुस्तामा अनाकर्षण देखिएको छ । पहिलो कुरा त– युवा पुस्ताको ठूलो संख्या विदेशमा छ । उनीहरू ठूला पुराना पार्टीसँग सन्तुष्ट पनि छैनन् । विदेशमा बस्ने मतदातालाई भोट हाल्ने अधिकार नदिएको, देशको अपेक्षित विकास गर्न नसकेको, देशभित्रै पर्याप्त रोजगारीको अवसर सिर्जना नगरेको कारणले ती पुराना दलप्रति रुचि राख्दैनन् ।
५. राजनीतिक वितृष्णा
राजनीतिमा आम निराशा छाएको कारणले दलहरूप्रतिको रुचि जनता र मतदातामा देखिँदैन । हिजो कुनै न कुनै दलको सदस्य नभइकन नहुने अवस्था थियो । आज मान्छेहरू दलको सदस्य भएर त्यसका नराम्रा कामको नैतिक भागिदार हुनुभन्दा स्वतन्त्र बस्न रुचाउन थालेका छन्।
गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेद्वारले समेत उल्लेखनीय विजय हासिल गरेको हुँदा समाजमा स्वतन्त्र बस्न रुचाउने मनोविज्ञान बढेको छ । स्वतन्त्र बसेर पनि लोकतन्त्र, समाज र देशका लागि योगदान गर्न सकिन्छ भन्ने भावना बढेको छ ।