जनादेश वाच।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा मंगलबार बालुवाटारमा आयोजना गरिएको थियो । सधैँजसो भिडभाड हुने बालुवाटारमा मंगलबार श्रद्धाञ्जलीसभा आयोजना गरिएकाले सीताप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिन जानेहरूको बाक्लो उपस्थिति थियो । सत्ताको केन्द्र बालुवाटारमा प्रायः मानिसहरूको आवत-जावत हुन्छ नै ।
प्रायः बालुवाटारमा जानेहरूका विभिन्न माग हुन्छन् । तर, मंगलबार भने बालुवाटरमा माग्न होइन, प्रधानमन्त्रीपत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन मानिसहरू जम्मा भएका थिए । श्रद्धाञ्जलीसभा त्यसै पनि शान्त हुन्छ । समारोह जति ठूलो भए पनि श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने समारोह पहिलादेखि नै भावुक हुन्छ । वातावरण नै भावुक हुन्छ । मंगलबार भने सधैँजसो सत्ताको उछलकुद हुने बालुवाटार निकै शान्त थियो ।
प्रधानमन्त्री प्रचण्डपत्नी बिरामी सीतालाई सात दिनपहिले बिहान साढे ७ बजे उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, सीता पुनः फर्किएर बालुवाटार गइनन् । अस्पताल पुर्याएको करिब एक घण्टापछि चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरे । त्यसपछि सीतालाई फर्काएर बालुवाटार लगिएन । नर्भिक अस्पतालबाट माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा लगियो । अनि, त्यसपछि सिधै पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरियो ।
सीता दाहाललाई श्रद्धाञ्जली दिनेहरू २७ गतेबाट नै हरेक दिन बालुवाटार जान्थे । आज भने श्रद्धाञ्जली समारोहको आयोजना गरिएको थियो । बालुवाटारको ठूलो प्राङ्गणको दुई ठाउँमा टेन्ट लगाइएको थियो । एउटा टेन्टमा मञ्च बनाएको थियो । मञ्चमा सीता दाहालप्रति श्रद्धाञ्जली लेखेको ब्यानर टाँसिएको थियो ।
मञ्चमा प्रधानन्त्री प्रचण्डका दायाँबायाँ दुई छोरी रेनु दाहाल र गंगा दाहाल थिए । उनीहरू तीनै जनाले सेतो वस्त्र लगाएका थिए । अगाडिपट्टि प्रचण्ड परिवार, उनका ज्वाइँ, नातिनातिनी, आफन्त र बुहारी थिए । श्रद्धाञ्जलीसभामा विभिन्न पार्टीका शीर्ष नेता तथा कुटनीतिक नियोगका प्रतिनिधिहरू, व्यापारी, उद्योगपति नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको पारिवारिक जीवन २०७४ देखि सुखद रहेन । उसो त २०७० मै जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । त्यसको ४ वर्षपछि छोरा प्रकाश दाहालको निधन भयो । छोराको निधनको गहिरो शोकमा परेकी सीता २०७४ देखि बिमारी परिन् ।
बिस्तारै उनलाई रोगले च्याप्दै गयो । प्रचण्डले पत्नी सीताको उपचारमा कुनै कसर बाँकी राखेनन् । सीताको उपचारका लागि प्रचण्डले आयुर्वेददेखि अमेरिकासम्म पुर्याए । तातोपानी कुण्डमा पनि लिएर गए । अन्ततः २७ असारमा लामो समय थला परेकी सीताको निधन भयो । पति तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेको विषयमा पनि सीताले केही प्रतिक्रिया जनाउन सकेकी थिइनन् । यो प्रतिक्रिया सीताले सधैँका लागि आफूसँगै लिएर गएकी छन् ।
पत्नीवियोगमा मंगलबार प्रचण्डले भावुक सम्बोधन गरे । आफूलाई सीताको पीडादायी मृत्यु हुन्छ कि भन्ने चिन्ता रहे पनि उनले शान्त मृत्यु रोजेको बताए- प्रचण्डले । उनले सीताप्रति श्रद्धाञ्जली र आफूहरूप्रति समवेदना प्रकट गर्नेहरूलाई लिखित रूपमा तयार पारिएको सम्बोधनमार्फत धन्यवाद दिए ।
‘थला नै परेपछि अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो,’ प्रचण्डले भने, ‘आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको थियौं, साढे ८ मा हामी सबैबाट बिदा भइन् ।’
प्रचण्डले सम्बोधन गरिरहँदा समारोहस्थल भावुक भएको थियो । प्रचण्डको आँखा रसाएका थिए, यद्यपि उनले आँसु लुकाउने प्रयास भने गरिरहे । जसले माहौललाई नै स्तव्ध बनायो । श्रद्धाञ्जलीसभामा उपस्थित भएकामध्ये धेरै भावुक बनेका थिए । सम्बोधनका क्रममा प्रचण्डको गला अवरुद्ध भएको थियो । उनलाई आफ्नो लिखित सम्बोधन गर्न पनि अफ्ठेरो भइरहेको थियो ।
प्रचण्डले सम्बोधन गर्नुपूर्व सीता दाहालको जीवनी र आरोह-अवरोह समेटेर डकुमेन्ट्री बनाइएको थियो । उक्त डकुमेन्ट्रीले माहौललाई निकै भावुक बनाएको थियो । उक्त डकुमेन्ट्रीमा सीताले दिएका अन्तर्वार्ता तथा उनको जीवनका विभिन्न पाटोका केही क्लिपहरू थिए । उक्त डकुमेन्ट्रीले सीताले बिताएको जीवनबारे एकसरो बुझ्न सकिन्थ्यो । युद्धकालीन दिन, पार्टीमा भएको अन्तर्संघर्षका दिनको विषय पनि डकुमेन्ट्रीमा समेटिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको मञ्चमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल तथा डा. बाबुराम भट्टराई बसेका थिए । सीता पटक-पटक शक्तिकेन्द्रको नजिक रहिन् । तर, विवादबाट टाढै रहिन् । सत्ताको लालसा र शक्ति प्रदर्शनबाट उनी टाढै रहिन् ।
शोक समारोहमा प्रचण्डले गरेको सम्बोधन
मेरो जीवनसाथी एवम् सहयोद्धा कमरेड सीता दाहालको निधन भएकामा सबैको साथ र समवेदनाले यो पीडाबाट निस्किन हामीलाई मद्दत मिलेको छ । साथै, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौँ ।
पछिल्ला वर्षहरूमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्यौँ । शरीरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिइन् । बिरामी भएपछि राज्यबाट सुविधा नलिईकन उपलब्ध सबैखाले पद्धतिबाट उपचारको प्रयास गरिरह्यौँ ।
थला नै परेपछि अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता थियो । तर, बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि शान्त रोजिन् ।
साढे ७ बजे हामीले हस्पिटल लगेका थियौँ, साढे आठमा हामी सबैबाट बिदा भइन् ।
उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले म र मेरो परिवारलाई देश र जनताप्रति अझै ठूलो जिम्मेवारीबोध भएको छ । मैले बाँकी जीवनमा झनै सक्रिय र सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ । सबैको सहानुभूतिले हाम्रो पीडामा ठूलो मल्हम लगाउने काम गरेको महसुस भएको छ ।