इटाली जानुअघि पार्टी स्थायी कमिटिलाई प्रचण्डको सन्देशः जुनसुकै मूल्यमा पनि सुशासन – Janadesh Daily | ePaper

इटाली जानुअघि पार्टी स्थायी कमिटिलाई प्रचण्डको सन्देशः जुनसुकै मूल्यमा पनि सुशासन


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन्। इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री प्रचण्डलाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरू विमानस्थल पुगेका थिए। उनी कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्। लामो समयको अन्तरालमा दुई देशबीच उच्चस्तरीय भ्रमण हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डसँग उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी इटाली जाँदै छन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्ने बताइएको छ। यस क्रममा उनले खाद्य प्रणालीसहितका एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायत संयुक्त राष्ट्रसंघीय कार्यालयका उच्च व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ। प्रधानमन्त्री प्रचण्ड यही जुलाई २८ मा स्वदेश फर्किर्ने कार्यतालिका रहेको छ।

२०१४ पछिको पहिलो भ्रमण
सन् २०१४ पछि दुई देशबीच हुन लागेको यो पहिलो भ्रमण हो। सन् २०१४ मा इटालीका तत्कालीन विदेशमन्त्रो बेनेडेटो डेल्ला भेडोभा नेपाल भ्रमण गरेका थिए। त्यसयता इटाली र नेपालबीच कुनै पनि उच्चस्तरीय भ्रमण नभएको अवस्थामा प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

सन् १९५२ मा इटालोसँग नेपालले औपचारिक कूटनीतिक सम्बन्ध गाँसेको हो। विसं २००७ को प्रजातन्त्रपछि इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष विकास सहयोग गरिरहेको छ।

पार्टीलाई विशेष सन्देश

प्रचण्डले जुनसुकै मूल्य चुकाएर भएपनि सुशासन कायम राख्नुपर्ने बताएका छन्। शनिबार बिहान पार्टीका स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सय केजी सुन प्रकरणमा जोडिएका विषयलाई तार्किक निष्कर्षमा पुर्‍याउनेगरी अघि बढ्न निर्देश गरेका हुन्। आफू इटाली प्रस्थान गर्नुपूर्व स्थायी कमिटीका नेताहरूसँग छलफल गर्दै प्रचण्डले अनुसन्धान प्रभावित पार्नेगरी विभिन्न तत्वहरूले भूमिका खेलेको बताउँदै सजग रहन समेत आग्रह गरे।

‘अहिले ललिता निवास, सुन तस्करी र भुटानी शरणार्थी लगायतको अनुसन्धान प्रभावित पार्नेगरी विभिन्न खेलहरू भइरहेका छन्,’ प्रचण्डको भनाई उदृत गर्दै एक पदाधिकारीले भने, ‘कुनैपनि हिसाबको दबाब र प्रभावमा नपरी तार्किक निष्कर्षमा पुग्नेगरी भूमिका खेल्नू।’

त्यस्तै, अध्यक्ष प्रचण्डले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएका छन्। पार्टीका सचिव दिनानाथ शर्माका अनुसार आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न नेताहरूलाई जिम्मेवारी समेत दिएका छन्।

शनिबार साँझ इटाली प्रस्थान गरेका प्रचण्ड आगामी असार ११ गते नेपाल फर्कने कार्यक्रम छ। उनले आफू फर्कंदासम्ममा केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न कार्यबहाक अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्नि प्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव कृष्णबहादुर महरा, पम्फा भुसाल लगायतलाई जिम्मेवारी दिएका छन्। संगठन विस्तार, केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका कामहरूको जिम्मेवारी दिएर प्रचण्ड इटाली प्रस्थान गरेको सचिव शर्माले जानकारी दिए।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्