जनादेश वाच।
साउन २ बाट जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले जवाफ दिन बाँकी नै छ। सभापति देउवाको जवाफ र निर्णय आउन बाँकी छँदै केन्द्रीय समिति ब्रेक गरेर सदस्य डा शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् मंगलबार।
आइतबार नै सानेपामा चियापानको निम्तो बाँडिएको थियो। ‘आदरणीय साथीहरु नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पर्सि बिहान ९ गते बिहान ९ बजे चियापानको लागि निम्तो गर्नुभएको छ। स्थान लैनचौर ब्यांकेट,’ बैठक सकिनसाथ महामन्त्री विश्वप्रकाश शर्माले चियापानको निम्तो दिएका थिए।
लैनचौरस्थित लैनचौर ब्यांकेट बिहान १० बजे आयोजित चियापान आपसी सद्भाव र एकताका लागि भएको शशांकले बताएका छन्। आखिर शशांकको सरप्राइज किन? – केन्द्रीय समिति नै ‘ब्रेक’ गरेर आयोजित चियापानबारे धेरैले चासो राखेका छन्।
निम्ता दिने विश्वप्रकाश थिएनन् चियापानमा
बिहान ९ बजेका लागि बोलाइएको चियापान वर्षाका कारण प्रभावित बनेर हो कि १० बजेतिरमात्र सुरु भयो। चियापानमा सबैलाई स्वागत गर्दै डा. शशांकले कांग्रेसमा सबैजना मिलेर जानुपर्ने सन्देश दिए। त्यतिबेला मञ्चमा देउवाको दायाँबायाँ पूर्व उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र तारानाथ रानाभाट थिए। पछाडि महामन्त्री गगन थापादेखि डा मीनेन्द्र रिजालसम्म थिए। शशांकले सभापति देउवालाई सम्बोधन गर्न माइक दिए।
देउवा बोल्ने मुडमा देखिएनन्। तर कर गरेपछि माइक समातेर चियाको चुस्की लिँदै देउवाले शशांकमाथि व्यङ्ग्य गरे। ‘चियामात्र खुवाउनु भयो, अरु केही खुवाउनु भएन, त्यसका लागि शशांकजीलाई धन्यवाद’, देउवाले यसो भनेलगत्तै हलमा हाँसो गुञ्जियो। तुरुन्तै देउवा निस्किए। चियापानमा संस्थापनइतरका नेता डा शेखर कोइराला केही ढिला आइपुगे। उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियारसहित अधिकांश केन्द्रीय समितिका नेताहरु आइपुगेका चियापानमा देखिए। यद्यपि निम्ता दिने महामन्त्री विश्वप्रकाश भने चियापानमा देखिएनन्।
शशांकको चियापान किन?
पूर्व महामन्त्रीसमेत रहेका डा.शशांक पछिल्लोपटक देउवानिकट छन्। रामचन्द्र पौडेल समूहबाट १३ औं महाधिवेशनमा महामन्त्री जितेका डा शशांकले केन्द्रीय समितिमा देउवालाई साथ दिइरहे। १४ औं महाधिवेशनमा कुनै समूहमा नखुलेका शशांक अधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भए। बीपी पुत्र शशांक एकपटक जसरी पनि पार्टीको कमान्ड सम्हाल्ने मनसायसाथ देउवासँग नजिकिएको बताइन्छ।
आफूले चार पटक निर्वाचन जितेपनि कुनै पदमा लोभ नदेखाएको उनको दाबी छ। जारी केन्द्रीय समितिमा पनि शशांकले आफू आधार पेश गरे। संगठनमा भएका महिलाहरुको सहयोगका कारण आफूले चार चार पटक निर्वाचन जितेको उनको दाबी रह्यो।
‘महिलाहरूलाई प्रोत्साहन गर्नुपर्यो। केन्द्रीय समितिमा पनि धेरै जना हुनुहुन्न। हरेक ठाउँमा महिलाहरूलाई अगाडि बढाउनुपर्यो,’ शशांकले भनेका थिए, ‘मेरो क्षेत्रमा हेर्नुस् नेपालमा कति जनाले चार पटक जिते? मेरो विचारमा एक जना शेरबहादुर देउवा हो। अरू कोही छन्? दोस्रो म हो। लगातार जितेको भनेको। कारण महिलाहरूको सहयोग हो।’
डा शशांकले पछिल्लो केन्द्रीय समितिमा गरमागरम बहस भएकोले पार्टी एक ढिक्का छ भन्ने सन्देश दिन आफूले चियापान आयोजना गरेको तर्क गरे। ‘कांग्रेस एकढिक्का रहेको सन्देश दिनका लागि र रिफ्रेसमेन्टका लागि चियापान आयोजना गरेको हुँ,´ शशांकले भने, ‘चियापानमा केन्द्रीय सभापतिदेखि सबै साथीहरू। दूरदराजबाट समेत नेताकार्यकर्ता आउनुभयो। सबैलाई आभार व्यक्त गर्दछु।
चियापानबारे अरु नेताहरुले पनि पार्टीमा भएको आरोपप्रत्यारोप बीच ब्रेकमा सम्बन्ध सौहार्द बनाउन चियापान भएको बताउँछन्। यद्यपि केही नेताले शनिबार मात्र बीपी स्मृति दिवस भएकोले यही मौकामा चियापान आयोजना गरेको बताए।निकट नेताहरुले भने पार्टीमा आफू पनि रहेको सन्देश दिन शशांकले चियापान आयोजना गरेको दाबी गरे। १४ औं महाधिवेशनमा सभापतिका आकंक्षी रहेका कोइरालाले १५ औं महाधिवेशनमा आफ्नो दाबी पेश गर्ने तयारी गरेका छन्। यही मेसोमा शशांकले आफ्नो माहोल बनाएको गरेको ती केन्द्रीय सदस्यले दाबी गरे। ‘पार्टीभित्र शशांक पनि छन् है भनेर चिया खुवाएका हुन्। उनको निम्तामा कांग्रेसका सबै नेताहरु एकै ठाउँमा भेला हुनु राम्रो विषय पनि हो,’ ती नेताले भने।
उता, डा. शेखर कोइराला पार्टीभित्र कम विवादमा पर्न चाहाने अभिव्यक्ति दिन थालेका छन् । उनको कामलाई केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका नेताहरूले समेत प्रशंसा गर्न थालेका छन् । पार्टीको केन्द्रीय समिति बैठकअघि इतर समूहको छुट्टै बैठक बस्ने गरे पनि साउन २ देखि जारी केन्द्रीय समिति बैठकअघि समूहको बैठक राखेनन् । बैठक बस्न नभ्याउने अवस्थामा केन्द्रीय कार्यालयको कार्यकक्षमा समेत छलफल हुने गर्थ्यो ।
उनले समूहको भेला गर्ने कार्य छाडेको सन्देश दिए । पार्टी रुपान्तरणको अभियानमा आफू पनि सहभागी छु भने । संस्थापन इतर समूहमा महामन्त्री गगन थापा र उनीबीच बेमेल नरहेको सन्देश दिन आफैँले कार्यकर्तालाई बुझाए ।
‘केन्द्रीय समिति बैठक नसकिँदै किन कार्यक्रम राखेको भनेर आयो । अन्यथा लिन हुन्न । गगनजी किन आउनुभएन भन्ने होला । गगन जी र म बसेर यो कार्यक्रम छलफल गरेको । तर, सभापतिले पदाधिकारीसँग बैठक राखेपछि नआएको हो । यसलाई अन्यथा नलिनुहोला,’ मंगलबार काठमाडौंमा पूर्वजिल्ला सभापतिहरूले गरेको वर्तमान राजनीति चुनोतिहरू र नेपाली कांग्रेसको दायित्व विषयक गोष्ठिमा उनले भने ।
बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा उनले कार्यकर्तालाई आश्वस्त पारिरहँदा महामन्त्री थापा भने केन्द्रीय समिति बैठकको निर्णय ड्राफ्ट बनाउन पार्टी कार्यालयमा व्यस्त थिए । महामन्त्री थापाले इतर समूहमा बेमेल भएको, सँगसँगै जान सकिने नसकिने बारेमा केही बोलेका छैनन् । कोइरालाले भने महामन्त्री थापा आफूसँगै रहेको सन्देश दिइरहेका छन् । ‘मधु आचार्यलगायत साथीहरूले यसरी पार्टी चल्दैन भन्नुभयो । मैले तपाईं देश घुम्नुस जनताले के भन्छ सुन्नुस भने पछि उहाँहरूले यसलाई रुपान्तरण अभियानको नाम दिनुभयो,’ उनले कांग्रेस रुपान्तरण अभियानबारे भने । यसले पार्टीलाई घाटा पुर्याएको छैन । यसले केही न केही हदमा पार्टीलाई फाइदा नै पुर्याएको छ भन्ने धारणा उनको छ ।
गठबन्धनले कांग्रेसलाई क्षति पुगेको उनले स्वीकार्दै आएका छन् । टिकट बाँड्दा न्याय भएन भनेर उनले दोहोर्याएर माफी मागे । ‘टिकट वितरण गर्दा मैले न्याय गर्न सकिनँ म क्षमा माग्न चाहान्छु । मैले वडातहदेखि केन्द्रसम्म न्याय गर्न सकिनँ होला टिकट बाड्ने बोर्डमा म भएकाले फेरि पनि माफी मागेँ,’ उनले भने ।
रुपान्तरण अभियान पार्टीलाई खुइल्याउने अभियान भएको संस्थापन पक्षका नेताहरूको बुझाइ छ । जसले पार्टीलाई घाटा छैन है भन्दे कोइरालाले प्रतिरक्षा गर्दै आएका छन् । रुपान्तरण अभियानको ‘क्रेडिटदेखि संस्थापन पक्षलाई विश्वासमा लिने र महामन्त्री थापा आफूसँगै रहेको छन् भन्ने सन्देश कोइरालाले दिइरहेका छन् ।