माओवादीको विधान सम्मेलन मंसिरमा, केन्द्रीय कमिटी बैठक लाइभ गरिने – Janadesh Daily | ePaper

माओवादीको विधान सम्मेलन मंसिरमा, केन्द्रीय कमिटी बैठक लाइभ गरिने


जनादेश मिडिया वाच।

नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको हो । माओवादीभित्र विधान सम्मेलनबारे बहस हुँदै आएको थियो ।

महाधिवेशनअघि विधान सम्मेलन गर्ने माओवादी केन्द्रको विधानमा व्यवस्था छ । सचिव दीनानाथ शर्माले आगामी मंसिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिए । ‘मंसिरभित्र विधान सम्मेलन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा छलफल हुन्छ, त्यही बैठकले निर्णय गर्छ । तर, मिति केन्द्रीय कमिटी बैठकले नै टुंगो लगाउँछ,’ सचिव शर्माले भने ।

माओवादीले बुधबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजेबाट प्रज्ञा भवन कमलादीमा बैठक बस्नेछ । बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदन, व्यवस्थापकीय तयारीलगायतका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाएका थिए । बुधबार बिहान बस्ने स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिने प्रचण्डको तयारी छ ।

त्यस्तै, पदाधिकारी बैठकले अब बस्ने केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष (लाइभ) प्रसारण गर्ने निर्णयसमेत गरेको छ । बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई पदाधिकारी बैठकले सर्वसम्मत पारित गरेको हो । पछिल्लोपटक कांग्रेसले साताअघि बसेको केन्द्रीय कमिटी बैठकको प्रत्यक्ष प्रसारण गरेको थियो । सचिव डिलाराम आचार्यका अनुसार १७ साउनबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको उद्घाटन, छलफलदेखि समापनसम्म सबै प्रत्यक्ष (लाइभ) प्रसारण गरिनेछ ।

‘कम्युनिस्ट पार्टीले षड्यन्त्रको सिद्धान्त होइन, खुला र पारदर्शी सिद्धान्त अवलम्बन गर्छ, आजभोलि भित्र (बैठकमा) बोलेका कुरा बाहिर सामाजिक सञ्जालमा स्टाटस लेख्ने, बाहिर गएर मिडियालाई बताउने चलन छँदै छ,’ सचिव आचार्यले भने, ‘महाधिवेशनमा लाइभ नगरौँ भन्दाभन्दै कतिपय साथीहरूले बन्दसत्र पनि लाइभ गर्नुभएकै हो, त्यसैले अध्यक्षको प्रस्तावअनुसार बैठक लाइभ गर्ने प्रस्ताव पास भएको छ ।’

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको हितमा केन्द्रित रहेर छलफल हुने भएकाले बैठकलाई प्रत्यक्ष प्रसारण गर्नु नै उपयुक्त हुने भनाइ राखेका थिए । बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटी सदस्यले बोल्न चाहेमा न्यूनतम पाँच मिनेट समय उपलब्ध गराउने, तर त्यति समयभित्र विषयवस्तु राख्न नसकेको अवस्थामा लिखित सुझावसमेत दिन पाउने निर्णय गरेको पनि उनले जानकारी दिए । पदाधिकारी बैठकले सबै केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने प्रस्तावसमेत केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न भएको करिब दुई वर्ष बितिसक्दा पनि माओवादीमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन हुन सकेको थिएन । माओवादीमा पूर्ण र वैकल्पिकसहित पाँच सयको जम्बो केन्द्रीय कमिटी छ । तीमध्ये चार सय सातजना पूर्ण सदस्य छन् ।

बैठकमा राजनीतिक प्रतिवेदनमा समेटिएको मुख्य विषयवस्तु अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका थिए । केन्द्रीय कमिटी बैठकअघि माओवादी केन्द्रले बुधबारै बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ ।

बैठकमा उपमहासचिव वर्षमान पुनले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखेका थिए । आफूसहित पार्टीका नेताहरूको तस्बिर सामाजिक सञ्जालमा प्रचार गरेर अफवाह फैलाइएको भन्दै उनले त्यस विषयमा सबैले आ–आफ्नोतर्फबाट प्रस्ट पार्नुपर्ने धारणासमेत राखेका थिए । आठ वर्षअघि खिचिएको तस्बिरलाई दुरुपयोग गरेर अफवाह फैलाइएको र त्यसबारे सामाजिक सञ्जालमार्फत स्पष्ट पारिसकेको बैठकलाई जानकारी गराउँदै उनले निष्पक्ष छानबिनबाट पार्टीभित्रैका नेता या आफू दोषी देखिए पनि कारबाही भोग्न तयार हुनुपर्ने बताएका थिए ।

नयाँ पत्रिकाबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्