जनादेश वाच।
सतारूढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा पार्टी बिग्रिएको भन्दै पुनर्निर्माण गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका छन् । अधिकांश नेताहरूले ‘गाउँ फर्कने कि पार्टी विघटन गर्ने’ अवस्थामा पुगेको टिप्पणी गरेका छन् । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा नेताहरूको जोड छ । त्यसो त बुधबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पार्टीजस्तो बन्न नसकेको टिप्पणी गरेका थिए । उनले बिहीबार सञ्चारकर्मीसँग पार्टीमा समस्या रहेको र पार्टीलाई नयाँँ ढंगबाट लैजानुपर्ने भएकाले त्यस्तो धारणा राखेको बताए ।
‘गाउँ फर्कने कि पार्टी विघटन गर्ने ?’
आजको बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीलाई वैचारिक रूपमा पुनर्गठन गर्नुपर्ने बताए । सुशासन, समृद्धि, स्वाधीनता, समाजवाद प्राप्तिका लागि क्रान्तिकारी र बलियो पार्टी बनाउनुपर्ने उनको जोड थियो । “वैचारिक रूपमा पुनर्गठन गर्नुपर्छ । यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ,” श्रेष्ठले भने ।
उनले अध्यक्ष प्रचण्डले बुधबारको बैठकमा पेस गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावको समर्थन गर्दै पार्टीलाई जनतामा जोड्नपर्नेमा जोड दिएको नेताहरू बताउँछन् । “अध्यक्षको मूल स्प्रिट ठिक छ । मूल कुरा, जनताबाट हामी जनताबाट टाढा भयौँ । जनताको बीचमा जानुपर्छ,” श्रेष्ठले बैठकमा भने । उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेको बताए । नेताहरू सहरमुखी भएकाले त्यस्तो अवस्था उत्पन्न भएको उनको टिप्पणी थियो । “पार्टी बनाउने वा विघटन गर्ने अवस्थामा पुगेका छौँ,” बैठकमा महराले भनेका छन्, “सहरमुखी भएकाले माओवादी बिग्रिएको हो ।”
उनले गाउँ फर्किन तयार भए पार्टी बन्ने समेत बताए । “गाउँ फर्किन तयार छौँ कि छैनौँ ? पार्टीको भविष्य त्यसैमा छ । गाउँ फर्किएर सच्चिनुपर्छ ।” अध्यक्ष प्रचण्डको प्रतिवेदनमा पार्टीमा अब तीन महिने अभियान चलाउने र केन्द्रीय सदस्यहरूलाई वडातहमै खटाइने उल्लेख छ । ‘माओवादी र संसद् एकै ठाउँमा हुँदैन’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले माओवादलाई संसदीय राजनीतिमा रहनै नसक्ने जिकिर गरेका छन् ।
“माओवाद सिद्धान्त र संसदीय राजनीतिक प्रणाली एकै ठाउँमा कहीँ पनि छैन । अहिले हामी माओवादलाई संसदीय राजनीतिमा प्रयोग गरिरहेका छौँ । माओवादी संसदीय हुन सक्दैन । यो संसद्मा टिक्न सक्दैन,” न्यौपानेले ठोकुवा गरे । विचार र व्यवहारबीच तादात्म्य नमिल्दा पार्टी ओरालो लागेको उनको टिप्पणी छ । “विचार र व्यवहारबीच साइकल नभएको कम्युनिस्ट हुन सक्दैन । माओवादीमा यो साइकल भताभुङ्ग लथालिङ्ग छ,” उनले बैठकमा भने, “विचारअनुसारको व्यवहारमा तादात्म्य नमिल्दा अन्योल भएको छ ।” उनले माओवादीको ओरालो यात्रा फेदमा नपुगेसम्म नरोकिने समेत बताए । “माओवादीको ओरालो यात्रा फेदमा नपुगुन्जेल रोकिँदैन । यसलाई रोक्ने वैचारिक निकास र व्यावहारिक कोसिस भएको छैन,” न्यौपानेले भनेका छन् ।
‘नेतृत्वका लागि चुनाव गरौँ’
केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका सांसद माधव सापकोटाले नेतृत्व कार्यकर्ताबाटै चुन्नपर्ने धारणा राखेका छन् । उनले वडातहबाटै निर्वाचित हुने व्यवस्था गरिए सुल्टोबाटोबाट अघि बढिने बताए । “पार्टी विधिमा लैजाऔँ, निर्वाचित हुने पद्धति वडाबाट निर्वाचित हुने प्रणाली अबलम्वन गरे सुल्टो दिशामा फर्कन्छ, यसले कार्यकर्ताप्रति जवाफदेही हुन्छ । नेताले तोक्दा नेतृत्वप्रति जवाफदेही बनाउँछ,” बैठकमा सापकोटाले भनेका छन् । सापकोटाले पटकपटक सांसद र मन्त्री र भएकाहरू मात्र नभएर स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिका समीक्षा र मूल्यांकनको पनि विषय बैठकमा उठेको जानकारी दिए ।
‘पार्टी पदाधिकारी र स्थायी कमिटीका नेताले बिगारे’
केन्द्रीय सदस्य दलजित श्रीपालीले पार्टी बिग्रेको नभएर पदाधिकारीहरूबाट बिगारिएको आरोप लगाए । उनले अध्यक्षले मात्रै नभएर मञ्चमा रहेका पदाधिकारी पार्टी बिगार्नमा बढी भागेदारी रहेको बताए । “पार्टी बिग्रिएको होइन । बिगारिएको हो । मञ्चमा अध्यक्षको वरिपरि बस्नेहरूले बिगारेको हो । म केन्द्रीय सदस्यले कति जिम्मेवारी लिनुपर्छ लिन्छु,” श्रीपालीले भनेका छन्, “सबैले आआफ्नो जिम्मेवारी लिनुपर्छ ।” गुटबन्दी र स्वार्थ समूहका कारण पार्टी कमजोर भएको उनको ठम्याइ छ । जनतालाई दोष देखाएर पार्टी नबन्ने उनको भनाइ छ ।
“पदाधिकारी स्थायी कमिटीबाटै पार्टी कमजोर भएको हो । पार्टीभित्र स्वार्थ समूह गुटबन्दी भयो । त्यसले पार्टी कमजोर बनेको हो । मुख्य दोष जनतालाई दिएर हुँदैन,” उनले बैठकमा राखेको धारणा सुनाए । उनले माओवादी जनयुद्धको लिगेसी बोकेकाहरू एकता हुनुपर्ने माग पनि गरेका छन् । उनले पार्टीका नेताहरूको सामाजिक र सांस्कृतिक विषयमा एकरूपता कायम गर्न पनि माग राखेको सुनाए । “जनयुद्ध कालमा अन्तरजातीय विवाह थियो । समाजिक, सांस्कृतिक रूपमा एकरूपतामा कसरी ल्याउने ? विवाहदेखि मृत्युसम्म कसरी जाने भन्नेमा ध्यान दिनुपर्यो,” उनले बैठकमा भनेका छन् ।
‘निर्मम समीक्षा गरौँ’
नेता हितबहादुर तामाङले पार्टीलाई नयाँ बनाउने र एकल प्रतिष्पर्धामा लैजाने अध्यक्षको प्रस्ताव सफल बनाउनका लागि विगतका कमजोरीहरूको निर्मम रूपमा समीक्षा गर्नुपर्ने औँल्याएका छन् । विगतमा सरकार र पार्टीले गरेको कामको निर्मम समीक्षा गर्नुपर्ने उनको भनाइ छ । “अध्यक्षले पार्टीलाई नयाँ बनाउने र एकल प्रतिस्पर्धा गर्न सक्ने र ठूलो पार्टीको रूपमा विकास गर्ने भन्ने कुरा राख्नुभएको छ । त्यसो गर्दा विगतको समग्र पाटा पक्षको निर्मम ढंगले समीक्षा गनुपर्छ,” उनले बैठकमा राखेको धारणा सुनाए, “पार्टीको काम वा सरकार सञ्चालनका सवालमा हिजो ठिक गर्यौँ कि बेठिक गर्यौँ । अपेक्षा राखे अनुसारको परिणाम दियो कि दिएन । दिएन भने कसको कमजोरीको कारणले दिएन । कुन कारणले त्रुटि भयो भन्ने समीक्षा गरेर चाहेको कुरा प्राप्त गर्न असम्भव हुँदैन ।”
सदनमा सांसद भएनन् !
नेताहरूले प्रतिनिधिसभामा सांसदहरूले भूमिका खेल्न नसकेको भन्दै आलोचना गरेका छन् । सदनबाट विपक्षीलाई जवाफ दिन सांसदहरू चुकेको आरोपसमेत लगाए । “सदनमा चौतर्फी आक्रमण भइरहेको हुन्छ । केहीअघि प्रधानमन्त्री बोल्दै नै रोकियो । त्यतिबेला सांसदहरूले नियमापत्ति गर्नुपर्थ्यो । बोल्नुपर्थ्यो । सांसहदहरूको भूमिका प्रभावकारी बन्न सकेन,” केन्द्रीय सदस्य श्रीपालीले बैठकमा भने । अरू नेताहरूले पनि सदनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।