जनादेश वाच।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमा केन्द्रित भएको छ। बुधबारदेखि प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रचण्डले पार्टी बिग्रिएको भन्दै केन्द्रीय सदस्यको आलोचना गरे। प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरालगायतका शीर्ष नेता नै पहिला सुध्रिनुपर्ने मत केन्द्रीय सदस्यले राखेका छन्। बुधबार १८ जनाले बोलेका थिए भने बिहीबार ५६ जनाले आफ्नो धारणा राखेको माओवादी केन्द्रका प्रवक्ता महराले बताए। बोल्नेमध्ये अधिकांशले बोली अनुसारको व्यवहार पार्टीमा नभएको बताएका छन्।
‘अध्यक्षको प्रतिवेदन ठिक छ। मूलभूत रूपमा सबैले समर्थन गर्नुभयो। डकुमेन्ट अनुसारको व्यवहारमा उतार्नुपर्यो भन्ने छ,’ महराले भने। केन्द्रीय सदस्यलाई राजनीतिक प्रतिवेदन वितरण नगरेरै प्रचण्डले बुधबार बैठक सुरु गरेका थिए। बिहीबार पनि प्रतिवेदन वितरण गरिएको छैन। अधिकांशले सदस्यहरुले अहिलेकै अवस्थामा माओवादी पार्टी अघि बढ्न नसक्ने भन्दै नेतृत्व तहबाटै सुधारको खाँचो भएको बताएका थिए। केही केन्द्रीय सदस्यले भने प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न पहल चालेकाले जनतामा आशा जगाएको बताएका थिए।
पार्टी बिगारेको दोष प्रचण्डलाई
केन्द्रीय सदस्य दलजित श्रीपाइलीले पार्टी बिग्रिएको नभइ बिगारिएको भन्दै आक्रोश व्यक्त गरे। उनले समानुपातिक र समावेशीको मुद्दा पार्टीले छोड्दै गएको भन्दै प्रश्न गरे। सबै नेता कार्यकर्ताले पार्टी संकटमा पर्नुको जिम्मेवारी लिनुपर्ने भए पनि मुख्य जिम्मा प्रचण्डको भएको उनको भनाइ थियो। ‘पार्टी नेताहरूले बिगारेको हो। कति प्रतिशत जिम्मेवारी हो म पनि लिउँला। तर पदाधिकारी, थाइ कमिटी त्यो स्तरका मान्छेबाट पार्टी कमजोर भएको छ। व्यवहारमा सिद्धान्त लागू गर्नुपर्छ नि। त्यो भएको छैन,’ श्रीपाइलीले भने। उनले संसदमा पनि माओवादीमाथि आक्रमण हुँदा पार्टीका सांसद चुप लागेर बसेको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए।
‘सदनमा अध्यक्ष बोलिरहँदा सभामुखले रोकेर अरूलाई बोल्न दिन्छन्। हाम्रा साथी त्यसमा चुप लागेर बस्छन्। यस्तो किन भइरहेको छ,’ श्रीपाइलीले बैठकमा भनेका थिए। अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पनि पार्टी नेतृत्वको आलोचना गरेका थिए। उनले संसदीय राजनीतिमा माओवादी केन्द्रले कुनै स्थान नै नपाउने भन्दै संसदीय राजनीति नै गलत भएको धारणा बैठकमा राखे। ‘मूल कुरा अहिले पार्टी सुधार्ने भनेर गरिएका कमिटमेन्ट के पूरा भए। यसअघि पनि त केन्द्रीय कमिटीको आकार घटाउने भनेर पटकपटक भनेको होइन। खै त्यो अहिलेसम्म लागू भएको छैन। बरु थप्ने काम भइरहेको छ,’ न्यौपानेले भनेका थिए।
आइपी खरेल, झकबहादुर मल्ल, नरबहादुर विष्टलगायतले पनि प्रचण्डको आलोचना गरेका थिए। केन्द्रीय सदस्य हितबहादुर तामाङले अपेक्षा अनुसारको परिणाम पार्टीले नपाएकाले कमी कमजोरी नसुधारे पार्टी अझ संकटमा पर्ने बताएका थिए। ‘हामीले अपेक्षा राखेअनुसारको परिणाम आयो कि आएन? यदि आएको छैन भने के कति कारणले आएन। यसमा त हामी र हाम्रो नेतृत्वको मूल दोष छ। यसलाई सुधार्नै पर्छ नभए हामी माओवादी केन्द्रको केन्द्रीय सदस्य भनेर गर्व गर्न सक्दैनौं,’ तामाङले भने।
सुन प्रकरणमा महरा र श्रेष्ठले के भने?
प्रचण्ड नेतृत्वको सरकारले ललिता निवास र सय किलो सुन प्रकरणको छानबिन गरिरहेको भन्दै केही केन्द्रीय सदस्यले सरकारका राम्रा कामको पार्टीले प्रचार गर्नुपर्ने बताइरहेका छन्। सरकारका कामलाई थप सशक्त बनाउनुपर्ने कतिपय केन्द्रीय सदस्यले धारणा राखेका थिए। तर, केही केन्द्रीय सदस्यले भने आफ्नै पार्टीका नेता पनि उक्त प्रकरणहरूमा जोडिएकाले निष्पक्ष अनुसन्धान सरकारले गर्नुपर्ने बताएका थिए। माओवादीका उपमहासचिव वर्षमान पुन सय किलो सुन प्रकरणमा विवादमा परेका छन्। दावा छिरिङ सुन प्रकरणमा पक्राउ परेपछि उनको कनेक्सन पुनसँग पनि भएको भन्दै वर्षमानमाथि प्रश्न उठिरहेको छ। पुनले बुधवारको बैठकबाटै बाहिरिने क्रममा सुन प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफू सघाउन तयार भएको प्रतिक्रिया दिएका थिए। उच्चस्तरीय राजनीतिक समिति बनाउन सकिने र त्यसका लागि राजनीतिक तहमा वार्ता आवश्यक भएको पुनको भनाइ थियो।
‘यो त्यो भन्ने कुरा भएन। त्यो माओवादीको भए पनि अरूको भए पनि दोषी भए कारबाही हुनुपर्छ,’ पुनले भनेका थिए। बिहीबारको बैठकमा गृहमन्त्री श्रेष्ठ र उपाध्यक्ष महराले पनि ५/५ मिनेट बोलेका थिए। श्रेष्ठले ५ मिनेटमै आफ्नो धारणा सकेका थिए भने महराले ५ मिनेटभित्र धारणा नसकेपछि माइक काटिएको थियो। श्रेष्ठले प्रचण्डसँग सल्लाह गरेरै सुन प्रकरणमा आफू अघि बढेको केन्द्रीय सदस्यलाई बताएका थिए। सरकारले भ्रष्टाचारविरुद्धको अभियान नै चलाएको भए पनि राम्ररी प्रचार हुन नसकेको भन्दै असन्तुष्टि बैठकमा जनाएका थिए। ‘अध्यक्ष कमरेडसँग सल्लाह गरेरै काम अघि बढिरहेको छ। सरकारका राम्रा कामको राम्ररी प्रचार हुन सकेका छैनन्। सुन प्रकरण मात्रै होइन अरू भ्रष्टाचारमा पनि जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर नारायणकाजीले भन्नुभयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। सुन प्रकरणमा महराको संलग्नताको विषयमा समेत माओवादीको बैठकमा चर्चा हुने गरेको छ। तर महराले भने आफ्नो कुनै संलग्नता नभएको भन्दै पार्टीका नेताहरूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताएका छन्। ‘यो राजनीतिक पूर्वाग्रह हो। प्रमाण हुनुपर्यो नि। मैले यसबारेमा विज्ञप्ति पनि जारी गरिसकेको छु,’ महराले बैठकबाट बाहिरिने क्रममा भनेका थिए।
माओवादीको केन्द्रीय कमिटीको बैठक तरंगित भइरहेको अर्को विषय हो – नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव। विप्लवलाई पनि माओवादी केन्द्रमा ल्याउनुपर्नेमा जोड केन्द्रीय सदस्यले गरिरहेको भए शीर्ष नेतामा भने उकुसमुकुस देखिएको छ। बैठकमा कम्युनिस्ट एकताबारे नेताहरूले मुख खोलेरै बताउने गरेको भए पनि विप्लवलाई पनि माओवादीमा ल्याउनेबारे औपचारिक धारणा नेताहरूले नराखेको बैठकमा सहभागी केन्द्रीय सदस्यले बताएका छन्। तर, प्रचण्डले विशेष महाधिवेशन गरेर विप्लवलाई नेतृत्वमा ल्याउन लागेको भन्दै बैठकमा महाधिवेशनको पक्ष विपक्षमा धारणा व्यक्त भएको छ। ‘विशेष महाधिवेशनको पक्ष विपक्षमा मत आएका छन्। त्यसमा कति कमरेडले विशेष महाधिवेशनको आवश्यक छैन भन्नुभएको छ भने कतिले विधान सम्मेलन नगरेर विशेष महाधिवेशन गरौं भन्नुभएको छ,’ श्रीपाइलीले भने।
प्रचण्डले ३ महिनामा वडा तहसम्म सदस्यता नवीकरण गर्ने, त्यसको ३ महिनापछि विधान सम्मेलन र त्यसपछि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। केन्द्रीय सदस्य निर्मला जोशीले विप्लवलाई भित्र्याएर नेतृत्व तहमा लिने निर्णय भए पनि अन्यथा नहुने बताइन। ‘विशेष महाधिवेशन पार्टीको आवश्यकता हुन पनि सक्छ। विप्लवबारे पार्टीले निर्णय गर्न पनि सक्छ। त्यो पछि हुँदै जाने कुरा हो। त्यसो हुँदा पनि अन्यथा हुँदैन,’ जोशीले भनिन्।
बैठकमा बोल्ने अधिकांश सदस्यले यतिखेरको सबाल नै सुशासन भएकोमा जोड दिइरहेको केन्द्रीय सदस्य रामबहादुर भण्डारी बताउँछन् ।
‘माओवादी नेतृत्वको सरकारले यसपटक सुशासनको पक्षमा प्रभावकारी काम गरिरहेको छ । यतिखेरको सबाल नै सुशासन कायम गराउनु हो भन्ने धेरैको मत छ,’ भण्डारीले भने, ‘सुशासनका सबालमा पार्टीभित्रैका नेता छन् भने पनि कसैलाई छाड्नुहुँदैन भन्ने मत धेरैको छ ।’
अर्का उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी अध्यक्ष प्रचण्ड डाइनामिक भएको बताए । ‘अहिले मात्रै होइन, सिंगो पार्टीलाई अध्यक्ष प्रचण्डले डाइनामिक कमान्ड दिँदै आउनुभएकोमा दुईमत छैन,’ महराले भने, ‘फेरि पनि अध्यक्ष प्रचण्डकै प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयन गरेर जानुपर्छ ।’
आफूमाथि सुनकाण्डमा उठेको प्रश्नमा भने महराले बैठकमा बोल्न उचित ठानेनन् । बुधवार १८ जनाले मात्रै बोलेकोमा बिहीवारसम्म ७४ जनाले बोलेको केन्द्रीय सदस्य रामकुमार शर्माले जानकारी दिए ।
‘बहस एकदमै खुला छ । पार्टी बनाउने कुरामा केन्द्रित भएर विषयहरू आएका छन् । सरकारले गरेको काम ठीक छ, यसले पार्टीलाई गौरव महसूस भन्ने धारणा धेरैले राख्नुभएको छ । पार्टीमा परिवारवाद हावी भयो भन्ने कुरा पनि उठेको छ,’ शर्माले लोकान्तरसँग भने ।
बैठक शुक्रबार पनि जारी रहनेछ ।