जनादेश वाच।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको चौथो दिनमा आइपुग्दा प्रभावशालि नेताद्वय वर्षमान पुन र जनार्दन शर्माले आ–आफ्नो धारणा राखेका छन् । शनिवार दिउँसोको खाजा समयअघि वर्षमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति नरमरुपमा प्रस्तुत भए । तर अर्का उपमहासचिव शर्मा प्रचण्डप्रति लचक बन्न सकेनन् । पुनले सिधैं प्रचण्डको प्रतिरक्षा गर्दैगर्दा शर्माले आलोचना गरे । तर समर्थन पनि गरे ।
वर्षमानले प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान छेडेको भन्दै सम्पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि बेथितिविरुद्ध आफूहरू बलिदानी दिन तयार रहेको बताए । ‘पार्टी अध्यक्षकै नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान थाल्दा जनतामा उत्साह पैदा भएको छ । अध्यक्ष कमरेडले अगाडि बढाउनुभएको अभियानमा मेरो दह्रो साथ छ’ पुनले भने, ‘यो अभियान कुनै पनि हालतमा रोकिँदैन र रोकिनु पनि हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’
पुनले सय केजी सुन तस्करी प्रकरणको नाम नलिई आफूमाथि उठेका प्रश्नमा पनि छानबिनको लागि तयार रहेको प्रस्ट्याए । ‘मैंमाथि प्रश्न उठेका छन् भने पनि म छानबिनका लागि तयार छु ।’ पुनले भने ।
चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्वीरका कारण सुनकाण्डमा पुनमाथि पनि प्रश्न उठेपछि उनले आफूले छानबिनलाई सघाउने प्रस्ट्याएका हुन् ।
गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्वीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका छन् ।
बैठकामा उनले यतिखेर अध्यक्ष प्रचण्डको विकल्प नभएको पनि प्रस्ट्याए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, पुनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’
पार्टीमा विचारमा समस्या नभए पनि विधिमा देखिएको समस्यालाई पार लगाउनुपर्ने बताए । यसका लागि पार्टीमा पाका, प्रौढ र युवाको नीति लागु गर्नुपर्ने बताए । केन्द्रीय कमिटीले तय गर्ने विधान सम्मेलनले पार्टीमा समस्या समाधान गर्ने उनको भनाइ थियो । राजनीतिक संघर्षको रूप फेरिएको भन्दै उनलेसरकार प्रमख मोर्चा भएको प्रस्ट्याए ।
पुनले अध्यक्ष प्रचण्डको प्रशंसै–प्रशंसा गर्दा अर्का उपमहासचिव शर्मा भने आलोचनात्मक समर्थनमा उत्रिए । वर्षमान र आफू दुईमध्ये एकजनालाई महासचिव बनाउन आग्रह गरे पनि अध्यक्षले अर्कै प्रस्ताव ल्याएको भन्दै उनले आलोचना गरे ।
‘समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौं । मान्छे हुनुको नाताले सबैको आ–आफ्नै अस्तित्व हुनु स्वाभाविकै छ । अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार ल्याइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ’ शर्माले भने, ‘अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गर्ने गरिएको छ । हामी तपाईँकै हौं, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’
प्रचण्डले वर्षमान र जनार्दनको मुख्य दाबीका बीच देव गुरुङलाई महासचिव बनाएका थिए । यसैले शर्माले अध्यक्षले गुटबन्दी छ भन्दै खेल्न खोज्नु उचित नभएको बताएका हुन् ।
पछिल्लो समय समाजवादी मोर्चामा विप्लवलाई पनि प्रचण्डले समेटेका छन् । विप्लवलाई ल्याएर महत्वपूर्ण जिम्मेवारी दिने डरले शर्मा र पुनले पछिल्लो समय आफूहरूबीच कुनै समस्या नरहेको सन्देश दिन खोजिरहेका छन् ।
आफूले हर तरहले अध्यक्षलाई सहयोग गर्दा आफ्नो मत नै थाती राखेकोसमेत शर्माले बताए ।
‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु’ शर्माले भने, ‘स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर तैंले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाती राखेर भए पनि त्यसको पालना गरेकै छु । परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै सङ्कट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु ।’
तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्दा असहयोग गरेको भन्दै आरोप लगाउनु उचित नभएको बताए ।
‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईँले मेरो साथ र समर्थन पाउनु भएन ?’ शर्माले भने, ‘तल कुन चाहीँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नुपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्यो होला ।’
भ्रष्टाचारविरोधी अभियानमा सरकारले चालेको कदमप्रति भने शर्माले पनि प्रशंसा गरे । ‘यसपटक सरकारले गरेका कामबारे म खुल्ला दिलले प्रशंसा गर्दछु । यत्रो ठूलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान् थालनी हो । सो कुरा संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रुपले पनि राखिएको छ’ मैले संसदको रोष्टमबाट २०४७ साल यताका सबै नेताहरूको सम्पत्ति छानबिन गरौं भनेर प्रस्ताव गरेको हुँ । कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्युरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनविना बालुवाटार प्रवेश सम्भव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ ।’
शर्माले माओवादी नेताको सम्पत्ति छानबिन गर्न पनि माग गरे । नेतृत्वको सीधा र घुमाउरो समर्थनबाहेक दुवै नेताले पार्टी संगठन र विधिबारे भने समान धारणा प्रस्तुत गरेका छन् । दुवैले अध्यक्षको प्रतिवेदनले पार्टीलाई नयाँ दिशा दिने बताएका छन् । प्रभावकारी रुपमा योग्य र सक्षमलाई जिम्मेवारी दिनुपर्ने र युवालाई अवसर दिनुपर्नेमा भने दुवै नेताका समान राय छन् ।
अध्यक्षले बैठकमा मौखिम रुपमा प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रस्ताव लेखनको जिम्मा शर्मा र पुनले नै पाएका थिए । तर बैठकको चौथो दिनसम्म पनि केन्द्रीय सदस्यहरूलाई प्रस्तावको प्रति उपलब्ध गराइएको छैन । अध्यक्ष प्रचण्डले राखेको मौखिक भनाइलाई आधार मान्दै सदस्यहरूले धारणा राखिरहेका छन् । धारणा राख्ने क्रम नसकिएकाले आजआइतवार पनि माओवादीको बैठक जारी रहनेछ ।